newskoseli.Com

कोरियाली राष्ट्रपति किम रेल चढेर बेइजिङ !

उत्तर कोरियाली राष्ट्रपति किम जोङ उन सोमबारदेखि अन्तर्राष्ट्रिय सञ्चार माध्यममा विशेष चर्चामा छन् ।

आणविक कार्यक्रम वा दक्षिण कोरियासँगको सम्बन्धका कारण यसपटक उनी समाचारमा छाएका होइनन्, उनी रेल चढेर चीनको राजधानी बेइजिङ आइपुगेको खबर धेरै सञ्चार माध्यमले महत्त्वका साथ प्रकाशन/प्रशारण गरेका हुन् ।

किम सोमबार विशेष रेल चढेर बेइजिङ आइपुगेको अमेरिकी सञ्चार माध्यम ब्लुम्बर्गले बताएको छ । नाम नबताउने तीन जना अधिकारीले यो भ्रमणको पुष्टि गरेको ब्लुम्बर्गले उल्लेख गरेको छ । जापानको क्योदो समाचार संस्थाले उत्तरपूर्वी सहर दानदोङ हुँदै विशेष रेल चीन आएको भिडियो फुटेज देखाउँदै त्यसमा किम हुन सक्ने बताएको छ ।

साउथ चाइना मर्निङ पोस्टले उच्चस्तरीय भ्रमणका लागि बेइजिङसँगै चीन र उत्तर कोरियाली सीमामा ठूलो मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको बताएको छ । सो समाचारपत्रले पनि भ्रमण किमकै हो भन्ने पुष्टि गरेको छैन । ‘यो तहको सुरक्षा व्यवस्था हेर्दा कोही महत्त्वपूर्ण मानिस नै आएका छन् भन्ने देखिन्छ’– पोस्टले लेखेको छ।

अमेरिका र दक्षिण कोरियाले भ्रमणका बारेमा मिडियामा समाचार आए पनि आफूले पुष्टि गर्न नसकेको बताएका छन् । दक्षिण कोरियाले यो अवस्थालाई नजिकबाट नियालिरहेको उल्लेख गरेको छ । यसअघि सन् २०११ मा किमका बुबा किम जोङ इल पनि रेल चढेर बेइजिङ आएका थिए । इल उत्तर कोरिया फर्किएपछि मात्र दुबै देशले भ्रमणबारे सार्वजनिक गरेका थिए ।

यदि उन चीन भ्रमणमा आएका हुन् भने सन् २०११ मा उत्तर कोरियाली शासक बनेपछि यो उनको पहिलो विदेश भ्रमण हो । वार्ता गर्ने किमको प्रस्तावमा गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहमति दिएका थिए ।

प्योङयाङ पुगेको दक्षिण कोरियाली प्रतिनिधिमण्डलसँग कुरा गर्दै किमले ट्रम्पसँग वार्ता गर्ने इच्छा व्यक्त गरेका थिए । किम र ट्रम्पबीच छिट्टै वार्ता हुने बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर