newskoseli.Com

भाँडिएकै हो त एमाले–माओवादी केन्द्रबीचको एकता ? (भिडियोसहित)

नेपाली राजनीति र सामाजिक जनजीवनमा सात महिना यता चर्चाको शिखरमा रहेको एमाले–माओवादी केन्द्रबीच एकता क्रमशः एकता टर्दै गएको आभाष हुँदैछ ।

नेपालका दुई प्रमुख ‘वाम’ शक्तिहरु– नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच ‘जुनसुकै हातमा’ पार्टी एकता हुनैपर्ने र भइछाड्ने तर्क दुवै पार्टीका एक–एक कित्ताले जबर्जस्त अघि सारिरहेका छन् । एकता त हुनुपर्ने तर त्यो ‘जुनसुकै हालत’ मा नभई ‘समानताका आधारमा’ र ‘सम्मानजनक ढंगमा’ मात्रै हुन सक्ने दुवै पार्टीको अर्को कित्ताले जिकिर गरिरहेको छ ।

विशेषतः माओवादी केन्द्रको दोस्रो पुस्ताको ‘वैचारिक’ कित्ता र ‘युवापंक्ति’ ले ‘समानतामा आधारित’ र ‘सम्मानजनक’ नभई माओवादी केन्द्र एमालेमा ‘बिलय’ भएजस्तो सन्देश जानेगरी हुने ‘एकता’ को नतिजा ‘राम्रो नहुने’ जिकिर लगातार दोहोर्‍याइरहेको छ । यद्यपि यो पंक्तिले पनि ‘सम्मानजनक’ वा ‘समानताको आधार’ विनै ‘एकता’ गरिए स्वीकार्न नसक्ने वा अस्वीकार गर्ने भन्दै मुख खोल्न चाहिँ सकिरहेको छैन ।

दुवै पार्टीका शीर्ष नेताले दुई पार्टीबीच छिट्टै एकता घोषणा हुने निरन्तर दोहोर्‍याइरहेकै छन् । तर, केही दिन यता सरकारभित्र देखापर्दै गएको कटुता, सरकारको ‘पर्फर्मेन्स’ र पार्टी एकता प्रयासमा दिनानुदिन बढ्दै गएको जटिलतालाई हेर्दा क्रमशः एकता टर्दै गएको आभाष हुँदैछ ।

यसै सन्दर्भमा नेकपा (माओवादी केन्द्र) भित्र दोस्रो पुस्ताका केही प्रभावशाली नेताहरुमध्येका एक मानिने सो पार्टीका केन्द्रीय सचिवालय सदस्य एवं ५ नं. प्रदेश इन्चार्ज मणि थापाले समेत दुई पार्टीबीचको एकता लगभग टर्ने स्थितिमा पुगेको संकेत गरेका छन् ।

‘जनता र कार्यकर्ताले चाहेको समय र सन्दर्भअनुसार एकता हुन सकेन,’ सगरमाथा टेलिभिजनबाट प्रशारित ‘एसटीभी च्याट’ कार्यक्रमका लागि जीवराम भण्डारीसँग कुरा गर्दै हालै नेता थापाले भने– ‘दुई अलगअलग इतिहास बोकेका दुई बेग्लाबेग्लै धारलाई रातारात मिलाउँछौं भनेर जसरी हामी बढी महत्त्वाकांक्षी भयौं, त्यसले पनि एकताका पक्षमा राम्रो गरिरहेको छैन र दुई पार्टीबीच एकताका निम्ति आम नेता–कार्यकर्ता, बुद्धिजीवी, शुभचिन्तक र जनतासम्म जुन लेभलको बहस–छलफलको आवश्यकता छ, त्यसो नभई दुवै पार्टीको अत्यन्त सानो दायराभित्र मात्रै त्यो केन्द्रित छ, हामी निकै ठूलो, वृहत् एकताको प्रयासमा छौं तर त्यसअनुरुप व्यवहार भइरहेको छैन ।’

‘हामीबीच कल्चरमा फरक छन्, चिन्तनमा फरक छन्, सोचमा फरक छन्, सोच्ने तरिका फरक छन्, केही कुरा आइडियोलोजीमै फरक छन्, इतिहास फरक छ तर जबर्जस्त पार्टी एकता बनाउनुपर्छ भन्ने जुन सोच बन्यो, त्यो सोचसँग यथार्थताको मिलन छैन भन्ने मेरो व्यक्तिगत सोच छ’, थापा भन्छन्– ‘एकताको आवश्यकता छ र एकता हुनुपर्छ तर त्यसका निम्ति आवश्यक वातावरण बनिरहेको छैन, एकता सम्मानजनक हुनुपर्छ भन्नेमा लडाइँ छ र कसैलाई म ठूलो हुँ भन्ने छ, कसैलाई सानो छु भन्ने छ, कसैलाई जो पाइरहेको र खाइरहेको छु, त्यो यथावतै रहोस् भन्ने छ, चिन्तनमा ‘चेन्ज’ आइरहेको छैन ।’

‘सँगै चुनाव लड्ने जो कुरा गर्‍यौं र चुनावका निम्ति विश्वासयोग्य वातावरण बनाउन पार्टी एकताको जो कुरा गर्‍यौं, त्यो ‘जनरल्ली’ ठीकै थियो… वाम जनमतको रक्षा गर्न त्यो ठीकै थियो र त्यसअनुरुप परिणाम पनि आयो’, मणि थापा अगाडि भन्छन्– ‘तर पार्टी एकतालाई पनि हतारमा गर्ने जो कोशिस हामीले गर्‍यौं, त्यहाँ चाहिँ हामीले केही ‘मिस्’ हरु गरेका छौं, …माओवादीका चार जना र एमालेका चार जना नेताहरु बस्ने वित्तिकै यी दुवै पार्टीका सबै ‘होलसेल’ ढंगबाट एकै ठाउँमा आउँछन् भन्ने खालको नोकरशाही चिन्तन जो यहाँ देखापर्‍यो, त्यसले जनता फेरि निराश हुनुपर्ने हो कि भन्ने आशंका छ ।’

‘दुई वटा नेता (केपी ओली र प्रचण्ड) का बीचमा थोरै पनि खटपट भयो भने, तिनको मनोविज्ञानमा कतै थोरै पनि असर गर्‍यो भने यो डुंगा चल्दैन किनकि पावरको सेन्ट्रलाइजेसन नै उहाँहरुमा भएको छ… त्यसैले उहाँहरुबीच सम्मानजनक ढंगले पावर सेयरिङ बराबर हुनुपर्छ’, नेता थापाको स्पष्टोक्ति छ– ‘एकतापछिको पहिलो महाधिवेशनले पनि पावर सेयरिङ नै गर्नुपर्छ, त्यो सहमतिका आधारमा भएन भने पार्टी फुट्छ । निराशावादी एकताको के अर्थ छ ? आशावादी एकता हुनुपर्‍यो ।’

‘केपी ओली र प्रचण्डले मिलाएर मात्र कुरा मिल्दैन, हाम्रो जेनरेसनमा पनि मिल्नुपर्‍यो र हामीभन्दा पछिल्लो पुस्ता समेत कन्भिन्स हुन सक्नुपर्‍यो,’ थापा अगाडि भन्छन्– ‘इतिहासमा सधैंभरि कोही अजम्मरी छैन, दुई नेताले मात्र हामी चक्रवर्ती छौं भने जसरी निर्णय गरेर हुँदैन, भावी पुस्तालाई समेत साक्षी राखेर निर्णय गर्नुपर्छ ।’

‘पार्टी एकता भएन भने केही पनि हुँदैन, नेपालको वामपन्थी आन्दोलन सकिँदैन, अलि बढी मेहनत गर्नुपर्ला, त्यत्ति हो’ समकालीन वाम नेताहरुको सोचाइ र अभिव्यक्तिभन्दा बेग्लै तर्कका साथ नेता थापा भन्छन्– ‘अहिलेको सरकारले जनअपेक्षाअनुरुप राम्रो काम गर्न सकेन भने पार्टी एकताका पक्षमा पनि राम्रो हुँदैन र वामपन्थी आन्दोलन पनि कमजोर हुन्छ ।’

(भिडियोमा हेर्नोस् थापाको अन्तर्वार्ताको पूर्ण पाठ)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर