विगत ६ महिनाबीच रामेछापबाट वैदेशिक रोजगारीमा गएका ९ जनाको शव नेपाल आएको छ । वैदेशिक रोजगारीबाट फर्केपछि आफू र परिवारमा सुख–शान्ति ल्याउने सपना बोकेर वैदेशिक रोजगारीमा गएकामध्ये ६ महिना यता मात्रै ९ को शब नेपाल फर्किएको हो ।
जिल्लाबाट वैदेशिक रोजगारीमा जान चाहने र विदेश पुगेर अलपत्र परी बसेका जिल्लावासीहरुका लागि सबै खालको सहयोग पुर्याउँदै आएको सुरक्षित आप्रवासन परियोजना (सामी) ले उक्त विवरण सार्वजनिक गरेपछि घटनाको पुष्ट्याइँ भएको हो ।
चेतना र अशिक्षाको अभावसँगै वैदेसिक रोजगारीमा गएर लाखौंलाख कमाउने सपनासहित वैदेशिक रोजागारीमा गएका सर्वसाधारण गाउँलेहरुले विदेशमा रहँदा अनेकौं अनेक दुःख समेत पाउने गरेका छन् । यसरी वैदेशिक रोजगारीमा जानै नहुने र जानै परे नेपाल सरकारको नीति, विधि र प्रक्रियालाई अवलम्वन गरेर जानुपर्ने सन्देशसहित परियोजना सञ्चालन गर्दै आएको सामीले जिल्लाबाट वैदेशिक रोजगारीमा गएर मृत्युवरण गर्ने र दुःख पाउनेहरुको विवरण हरेक ६–६ महिनामा सार्वजनिक गर्दै आएको छ ।
सोहीअनुरुप सामीले आ.व. २०७०/७१ देखि जिल्ला प्रशासन कार्यालयनजिकै कार्यालय सञ्चालन गरी वैदेशिक रोजगारीको सिलसिला र अन्य प्रयोजनका लागि सर्वसाधारणमा नियमित सल्लाह र अप्ठ्यारो परेका बेला गर्ने सहयोगको बारेमा समेत काम गर्दै आएको परियोजनाका कार्यक्रम संयोजक भोजराज सुनुवारले न्युजकोसेलीलाई जानकारी दिए ।
परियोजनाले चार वर्षको बीचमा वैदेशिक रोजगारीमा जान चाहने र गएका २ हजार ९ सय ४८ जना लाई सहयोग गरिसकेको छ । उसले जिल्लाबाट बाहिर जाने व्यक्तिहरुको सख्या बढी भएका गाउँहरुलाई लक्षित गरी आफ्ना कर्मचारीहरुमार्फत विद्यालयस्तर र समुदायस्तरमा जनचेतनासँगै सडकनाटक र गन्र्धवहरुमार्फत गीति कार्यक्रम समेत गरेको थियो ।
सोही प्रभावका आधारमा वैदेशिक रोजगारीमा जान चाहनेहरुमध्ये अधिकांशले परियोजनाको लक्ष्यअनुसार काम गरेका छन् भने कतिपयले चाहिँ त्यसको बेवास्ता गर्दै आफ्नै तरिकाले वैदेशिक रोजगारीमा जाने गरेका छन् । यसरी वैदेशिक रोजागारीमा जानेहरुले भने तुलनात्मक रुपमा अत्याधिक मात्रामा दुःख पाउनेदेखि मृत्युवरणसम्म गर्न पुगेको संयोजक सुनुवारले बताए ।
यसरी वैदेशिक रोजगारीमा गएकाहरुमध्ये पुरुषको तुलनामा महिलाहरु वढी प्रताडित हुने गरेका छन् । यसलाई न्यूनीकरण गर्ने काममा सामीले सक्रियताका साथ अभियान चलाइरहेको छ । त्यससँगै वैदेशिक रोजगारीबाट फर्किएर उनीहरुले विदेशमा रहँदा पाएको दुःख र अनुभवका आधारमा त्यता जान चाहने अरु नयाँहरुलाई अनुभव आदान–प्रदान गर्न सजिलो होस् भन्ने उद्देश्यका साथ सामीले त्यस्ता ‘रिटर्नी’ हरुलाई समेत परिचालन गरेको छ ।
यो प्रयासका कारण वैदेशिक रोजगारीसम्बन्धमा बुझ्न चाहने र आइन्दा विगतका गल्तीको कल्पना गर्न नचाहनेहरुका लागि निकै राहतको अनुभूति भएको सामीका सूचना अधिकृत सागरविक्रम बस्नेतले बताए । परियोजना निकट भविष्यमै बाहिरिन लागेकाले यसलाई पालिकास्तरमा सूचना केन्द्र खडा गरी निरन्तरता दिन सके जनचेतना र जानकारीविना वैदेशिक रोजगारीमा जान चाहने र विदेश पुगेर अलपत्र परेकाहरुका लागि ठूलै सहयोग पुग्ने उनले बताए ।