newskoseli.Com

ट्रम्प–किम शिखर वार्ता : २ करोड डलर खर्च…

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हुन लागेको शिखर वार्ताका क्रममा २ करोड अमेरिकी डलर खर्च हुने समाचार स्रोतहरुले जनाएका छन् ।

शिखर वार्तामा लाग्ने खर्चबारे जानकारी दिँदै आइतबार सिंगापुरका प्रधानमन्त्री ली हिसेन लुङले भने– ‘क्षेत्रीय राजनीतिक स्थिरताका लागि सिंगापुर यो खर्च व्यहोर्न इच्छुक छ ।’ शिखर वार्ताका क्रममा दुवै देशका प्रतिनिधिमण्डलको बसाइ, खानपिन र सञ्चार–व्यवस्थापनमा उक्त खर्च हुने अनुमान गरिएको हो ।

यसबाहेक सुरक्षामा मात्रै पनि झन्डै १ करोड डलर खर्च हुने सिंगापुरका प्रधानमन्त्रीले जनाएका छन् । अमेरिकी राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच यसै साता मंगलबार पहिलो पटक शिखर वार्ता हुँदैछ । यस वार्ताले कोरियाली प्रायद्विपको विकासलाई नयाँ गति दिने विश्वास सिंगापुरका प्रधानमन्त्रीले व्यक्त गरेका छन् ।

उनले अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग कुरा गर्दै यो वार्ता सिंगापुरको सान्टोसा टापुस्थित क्यापेला होटलमा हुने जानकारी दिए । वार्तामा भाग लिन उत्तर कोरियाली नेता आइतबार नै सिंगापुर आइपुगेका छन् । अमेरिका र उत्तर कोरियाबीच वार्ताका निम्ति ठाउँको टुंगो लगाउन सहज थिएन । दुवै पक्ष यस्तो देशमा वार्ता गर्न चाहन्थे, जुन ठाउँ राजनीतिक र कूटनीतिक रूपमा स्वीकार्य होओस् ।

‘जब दुवै पक्षबाट सिंगापुरमा वार्ता गर्ने प्रस्ताव आयो, हामीले नाइँ भन्नै सकेनौं,’ प्रधानमन्त्री लीले भने– ‘यो वार्ता सिंगापुरकै निम्ति पनि एक महत्त्वपूर्ण अवसर हो ।’ उनले भने– ‘हाम्रा निम्ति सबैभन्दा खुसीको कुरा त के छ भने यो वार्ता सिंगापुरमा गर्नुपर्‍यो भनेर हामीले प्रस्ताव गरेका होइनौं, दुवै पक्षले रोजेर हामीलाई प्रस्ताव गरेका हुन् । यसले अन्तर्राष्ट्रिय समुदायमा सिंगापुरलाई कसरी हेरिन्छ भन्ने छर्लंग पार्छ ।’

अमेरिका र उत्तर कोरिया दुवैसँग कूटनीतिक सम्बन्ध रहेको संसारकै कम मुलुकमध्ये सिंगापुर पर्छ । सिंगापुरको सूचना तथा सञ्चार मन्त्रालयले शिखर वार्ताका निम्ति मिडिया सेन्टर स्थापना र व्यवस्थापनमा मात्र करिव ५० लाख डलर खर्च हुने बताएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर