newskoseli.Com

आफैं सवारी हाँक्न पाउँदा अरबी महिला दङ्ग…

 

साउदी अरबका महिलाहरूले आफैं सवारी साधन हाँक्न पाउने भएपछि आइतबार खुशी मनाएका छन् । शनिबार मध्यरातमा शाही घोषणामार्फत् महिलाले पनि सवारी साधन चलाउन पाउने अधिकार दिइएको हो ।

यो घोषणापछि साउदी अरेबिया र उनीहरुसँगै विश्वभरकै महिलाहरुले खुशी व्यक्त गरेका हुन् । महिलाहरुलाई सवारी साधन चलाउन अहिलेसम्म बन्देज लगाउनेमा विश्वको एउटा मात्र मुलुक साउदी अरब बाँकी थियो ।

साउदी अरबमा पनि महिलाहरुलाई सवारी साधन लगाउन पाउने व्यवस्थालाई धेरैले एउटा महत्त्वपूर्ण घटनाका रूपमा लिएका छन् । साउदी अरबका युवराज मोहम्मद बिन सल्मानले यहाँका महिलाले सवारी चलाउन नपाउने कानुनलाई रुढीवादी संस्कार भन्दै आफ्नो मुलुकलाई पनि आधुनिकतातर्फ लान यस्तो कदम चालेको बताएका थिए ।

सवारी साधन चलाउने अनुमति पाएसँगै राजधानी रियादसहितका प्रमुख शहरहरुमा महिलाहरुले बिहानैदेखि सवारी साधन चलाएका थिए । ‘मलाई यो दिन आउँछ भन्ने पहिले नै थाहा थियो, तर सोचेभन्दा केही चाँडो आयो,’ कार्यक्रम सञ्चालक तथा लेखक समर अल्मोग्रेनले भनिन्– ‘मैले यो व्यवस्थासँगै आकाशमा उड्ने चराजस्तै निकै ठूलो स्वतन्त्रताको महशसस गरेकी छु ।’

झन्डै ३० लाख महिलाले नयाँ स्वतन्त्रताको उपभोग गर्ने अपेक्षा गरिएको छ । यहाँ यसै महिनाको शुरूमा पहिलो पटक महिलाको नाममा सवारी चालक अनुमतिपत्र जारी गरिएको थियो । महिलालाई सवारी चलाउन दिने घोषणा भने अघिल्लो सेप्टेम्बर महिनामा नै गरिएको थियो । त्यसपछि यहाँका महिलालाई सवारी अनुमतिपत्रका लागि तालिम दिने क्रम शुरु गरिएको थियो ।

महिलाहरूले सवारी साधन चलाउन पाउनुपर्ने मागसहित अधिकारवादीहरूले लामो समयदेखि साउदीमा अभियान चलाइरहेका थिए । अनुमति नभएको समयमा पनि महिलाले सवारी चलाएको भन्दै सन् १९९० मा साउदी अरेबियाको शहर रियादबाट दर्जनौं महिला पक्राउ परेका थिए।

साउदीको विद्यमान कानुन अनुसार यहाँ पुरुषले मात्र सवारी चालक अनुमतिपत्र पाउने गरेका थिए । सो कानुनमा संशोधन गरी युवराजले नै आदेश दिएपछि महिलाले यो अधिकार प्राप्त गरेका हुन् । नयाँ अधिकार पाएसँगै कयौं महिलाले सवारी साधन चलाउने तालिम लिएका र सवारी चालक अनुमतिपत्र लिएका छन् ।

संयुक्त राज्य अमेरिकालगायत विश्वका देशहरुले महिलालाई पनि गाडी चलाउन दिने साउदी राजाको आदेशको स्वागत गरेका छन् । उनीहरुले राजाको यो कदमले साउदी अरेबियाका महिलाले केही मात्रामा भए पनि अधिकार प्राप्त गरेका तर्क दिएका पनि विश्वका विभिन्न देशका महिला अधिकारकर्मी तथा संघ–संस्थाहरुले जनाएका छन् । –रासस/एएफपी

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर