newskoseli.Com

सामाजिक उत्तरदायित्वका कार्यक्रमसाथ ज्योति विकास बैंकको दसौं वार्षिकोत्सव

 

ज्योति विकास बैंक लि. ले बुधबार आफ्नो स्थापनाको दसौं वर्ष पूरा गरी एघारौं वर्षमा प्रवेश गरेको छ । ०६५ साउन ९ मा यस बैंकको स्थापना भएको हो ।

बैंकले आफ्नो दसौं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । वार्षिकोत्सवको उपलक्ष्यमा सदा झै यस वर्ष पनि बैंकको कमलादीस्थित प्रांगण तथा सिमरा शाखामा रक्तदान कार्यक्रम आयोजना गरियो । ज्योति विकास बैंक आफ्नो सामाजिक उत्तरदायित्वलाई मनन् गर्दै सामाजिक योगदानमा पनि संलग्न हुँदै आएको छ ।

यसै अन्तर्गत २८ असारमा एक राष्ट्रिय दैनिकको मुखपृष्ठमा प्रकाशित ‘विपन्नताले पुछिएको सिन्दुर’ शीर्षक समाचारअनुसार मुस्ताङमा भएको सवारी दुर्घटनामा श्रीमानसहित सबै परिवार गमाउन पुगेकी रोल्पाको थबाङ गाउँपालिका– ५, उवा निवासी २१ वर्षिया लिलासरी पुनमगर रोकासँग हाल वृद्धवृद्धा सासू–ससुरा र पाँचवर्षे छोरा मात्र रहेकाले उनलाई बैंकमा रोजगारी प्रदान गरी बच्चाको १२ कक्षासम्मको पढाइलेखाइ खर्च समेत बैंकको सामाजिक उत्तरदायित्व कोषबाटै व्यहोर्ने निर्णय गरिएको जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले दिएका छन् ।

त्यसैगरी, बैंकको विराटनगर शाखाबाट श्री जनचेतना आधारभुत विद्यालयका विद्यार्थीहरुलाई स्टेसनरी प्रदान गरिएको छ भने देवघाट शाखाबाट देवघाट समाज कल्याण केन्द्रका वृद्घवृद्घाहरुलाई फलफूल, खाजा तथा रुमाल वितरण गरिएको छ । त्यस्तै, बैंकको बर्दिवास शाखाबाट पनि धनुषामा अवस्थित लालगढ कुष्ठरोग अस्पताल तथा बाँकेको कोहलपुरमा रहेको कौशिल्या पोलिक्लिनिकका बिरामीहरुलाई फलफूल, खाजा आदि वितरण गरिएको छ ।

बैंकको अन्य शाखाहरुमार्फत पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन भएका छन् । बैंकले यसै उपलक्ष्यमा ज्योति रेमिट तथा ज्योति स्मार्ट मोबाइल बैंकिङको औपचारिक शुभारम्भ समेत गरेको छ । यस अवसरमा १०औं वार्षिकोत्सव स्मारिका प्रकाशन गरी त्यसलाई त्रैमासिक रुपमा प्रकाशनका निम्ति औपचारिक शुभारम्भ समेत गरिएको छ ।

ज्योति विकास बैंकले हाल मुलुकभर ६० वटा शाखा सञ्जाल तथा २० वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ । यसै आ.व. भित्र यस बैंकले आफ्ना शाखाहरु ९० वटा पुर्‍याउने लक्ष्यसहित कार्य गरिरहेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जनाएका छन् ।

यस बैंकको हालको चुक्ता पुँजी २ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ रहेको रहेको छ भने बैंकले हालसम्म २ लाखभन्दा बढी खाताबाट १९ अर्ब ५६ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणीमार्फत १६ अर्ब ९ करोड ऋण लगानी गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर