newskoseli.Com

अमेरिकामा भीषण आगलागी : ५ को मृत्यु, १७ बेपत्ता, ४० हजार विस्थापित

 

अमेरिकाको उत्तरी क्षेत्र क्यालिफोर्नियाको जंगलमा भएको भीषण आगलागीमा परी १ वृद्धा र २ बालबालिकासहित ५ जनाको मृत्यु भएको छ भने १७ जना हराइरहेका छन् ।

शक्तिशाली हावा–हुरीले डढेलो फैलिरहँदा त्यहाँबाट झन्डै ४० हजार मानिसलाई अन्यत्र सारिएको छ । ज्यान गुमाएका ५ मध्ये बालबालिका र उनीहरुकी जिजु हजूरआमा रहेको खबर छ । डढेलोमा बिहीबार २ जना अग्निनियन्त्रकहरुको समेत ज्यान गएको थियो ।

रेडिङमा बस्ने शेरी ब्लेडसोलाई उद्धृत गर्दै सार्वजनिक भएको रिपोर्टअनुसार उनकी सत्तरी वर्षीया हजूरआमा मेलोडी ब्लेडसोसहित ५ र ४ वर्षका एमिली रोबर्टस् र जेम्सको मृत्यु भएको हो । रेडिङस्थित घरमा आगो लागेलगत्तै उनका आफन्तले उनीहरुको खोजी गरिरहेका थिए ।

एनबीसीले शेरीलाई उद्धृत गर्दै तीनै जना घरबाट निस्कनै लाग्दा आगोले घेरिएको बताएको छ । मेलोडीका श्रीमान् एडले यसअघि आफू किनमेल गर्न गएका बेला श्रीमतीले डढेलो घरनजिकै आउन लागेको भनी छिट्टै फर्किन भनेकी बताएका थिए । उनी ‍फर्कंदा घर भत्किइसकेको थियो र त्यहाँ प्रहरीले टेपको घेरा लगाइसकेको थियो ।

नेसनल गार्डसहित हजारौं आपतकालीन कर्मचारी उक्त क्षेत्रमा आगो नियन्त्रणका लागि खटेका छन् । आगलागीका कारण ५ सयभन्दा बढी घरमा क्षति पुगेको छ । अलास्का र टेक्सासबीच उत्तर अमेरिकामा १ सयभन्दा बढी आगलागीका खबर सार्वजनिक भएका छन् ।

गत सोमबार एउटा कारमा आएको खराबीका कारण जंगलमा आगो लाग्न सुरु भएको हो । उक्त डढेलो अहिले १ सय ९४ वर्ग किलोमिटरमा फैलिएको छ, जुन सनफ्रान्सिस्को सहरभन्दा ठूलो क्षेत्रफल हो । क्यालिफोर्नियाको वन र आगो नियन्त्रण विभागका प्रमुख केन पिमलाटले पत्रकारहरूलाई भने– ‘यहाँ फैलिएको डढेलोलाई बबन्डरको संज्ञा दिन सकिन्छ ।’

शक्तिशाली हावा–हुरीका कारण आगो फैलिइरहेको जानकारी उनले दिएका छन् । ‘अहिले स्थिति निकै नाजुक छ, हामी सावधान हुनु आवश्यक छ, मानिसहरु बाहिर निस्किरहनुपर्छ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर