newskoseli.Com

२३ हजार निकारागुवाली शरणार्थी कोस्टारिकामा : राष्ट्रसङ्घ

 

आन्तरिक द्वन्द्वका कारण विस्थापित करिव २३ हजार निकारागुवाली नागरिक शरण खोज्दै छिमेकी मुलुक कोस्टारिका पुगेको शरणार्थी मामिला हेर्ने संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ ।

निकारागुवाका राष्ट्रपति डेनियल ओर्टेगाको शासनविरुद्ध तीन महिनादेखि आन्दोलन चलिरहेको छ । आन्दोलनमा सुरक्षाकर्मी तथा अर्धसैनिक समूहहरूको बर्बरतापूर्ण कारबाहीबाट आतङ्कित भएपछि उनीहरूको ठूलो सङ्ख्या छिमेकी मुलुक पुगेको हो ।

आन्दोलनका क्रममा सुरक्षाकर्मीको कारबाहीमा परेर करिव ३ सय नागरिकको ज्यान गइसकेको विभिन्न मानवअधिकारवादी समूहले जनाएका छन् । शरण खोज्दै राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय समन्वयकारी संघ–संगठनमा प्राप्त भएका निवेदन अत्यधिक भइसकेको र यसले उनीहरूको व्यवस्थापनमा चासो बढाइएको यूएनएचसीआरका प्रवक्ता विलियम स्पिन्डलरले जेनेभामा सञ्चारकर्मीसँगको कुराकानीमा बताए ।

कोस्टारिकाका अधिकारीले भने अप्रिलदेखि अहिलेसम्ममा दर्ता भएका शरणार्थीको सङ्ख्या ८ हजार पुगेको र आगामी दिनमा १५ हजार जनालाई शरण लिने प्रतिबद्धता जनाएका छन् । प्रक्रिया पुर्‍याएर शरण दिनुपर्ने भएकाले विस्थापित निकारागुवाली जनतालाई समस्या परेको उनीहरूले जनाएको स्पिन्डलरले बताए ।

यूएनएचसीआरले कोस्टारिकाको उत्तरी सीमा क्षेत्रमा आफ्नो उपस्थितिलाई मजबुत पारेको र हजारौं निकारागुवाली शरणार्थीको सहयोगका लागि काम गरिरहेको उनले बताए । निकारागुवामा देखिएको राजनीतिक अस्थिरताले संयुक्त राज्य अमेरिका, पानामा, मेक्सिकोलगायतका मुलुकहरूमा पनि शरणार्थी पुग्ने क्रम निकै बढेको यूएनएचसीआरले बताएको छ ।

शीतयुद्धको समयमा वामपन्थी सान्दिनिस्ता सरकारको नेतृत्व गरेका ७२ वर्षीय ओर्टेगा सन् २००७ पछि पुनः सत्तामा आएका थिए । आन्दोलनकारीले राष्ट्रपति र ओर्टेगाकी पत्नी समेत रहेकी उपराष्ट्रपति रोजारिल्लो मुरिल्लोको राजीनामाको माग गर्दै आन्दोलन चर्काइरहेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर