newskoseli.Com

सरकारको महत्त्वाकांक्षी योजना : ५ वर्षमा २५ लाख पर्यटक, थप १५ विमान र ‘लाइभ म्युजियम’…

 

सरकारले आगामी ५ वर्षभित्रमा २५ लाख बाह्य पर्यटक भित्र्याउने महत्त्वाकांक्षी योजना अघि सारेको छ । पर्यटनको माध्यमबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ उक्त योजना प्रस्तुत गरिएको हो ।

योजनाअनुसार आगामी ५ वर्षभित्रमा पर्यटकको संख्या वृद्धि गरी कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा पर्यटन क्षेत्रको १० प्रतिशत योगदान पुर्‍याउने लक्ष्य राखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार सार्वजनिक गरेको ‘पर्यटन क्षेत्रको विकासको पाँचवर्षीय कार्यदिशा’ मा पर्यटन क्षेत्रको नीतिगत, पूर्वाधार विस्तारलगायतका क्षेत्रमा व्यापक सुधारको समग्र पक्षलाई समावेश गरिएको छ ।

मन्त्रालयले सातवटै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको उपस्थितिमा पर्यटन क्षेत्रको विकासको आगामी पाँचवर्षे कार्ययोजना सार्वजनिक गरेको हो ।

निगमका थप पन्ध्र विमान

५ वर्षभित्र राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका ‘वाइडबडी’ र ‘न्यारोबडी’ गरी १० तथा आन्तरिक उडानका लागि १५ विमान पुर्‍याउने लक्ष्य राखिएको छ । निगमलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धी बनाई नेपालको अन्तर्राष्ट्रिय हवाई व्यापारमा ६० प्रतिशत बजारहिस्सा ओगट्ने कुरा समेत कार्यदिशामा समावेश छ ।

पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले ‘नेपालमा पर्यटन क्षेत्रको विकासको पाँच वर्षीय कार्यदिशा’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै अबको पाँच वर्षमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेको क्षमतालाई दोब्बर वृद्धि गर्ने, निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल एक वर्षभित्रै र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तीन वर्षभित्र सञ्चालनमा ल्याउने तथा पाँच वर्षभित्र दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम ५० प्रतिशत सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिए ।

भूकम्पबाट प्रभावित सबै सम्पदाको तीन वर्षभित्र पुनर्निर्माण सम्पन्न गरी पर्यटकीय ‘प्रोडक्ट’ को रुपमा प्रवद्धित हुनेछन् । पाँच वर्षभित्र लुम्बिनीको वर्तमान गुरुयोजनाको काम सम्पन्न गरी ग्रेटर लुम्बिनी गुरुयोजना कार्यान्वयन तथा पशुपति क्षेत्र, मुक्तिनाथ, जनकपुर, क्षेत्रको गुरुयोजना कार्यान्वयनमा ल्याउन सक्ने, रारा र खप्तड क्षेत्रको गुरुयोजना विकास गरी कार्यान्वयनमा लैजाने बताइको छ ।

काठमाडौंमा ‘लाइभ म्युजियम’…

कार्यदिशामा काठमाडौंमा जीवन्त संग्रहालय (लाइभ म्युजियम) स्थापना गरी पर्यटकीय उपजका रुपमा स्थापित गर्ने लक्ष्य राखिएको छ । प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी नेपालका कम्तिमा १ सय नयाँ पर्यटकीय गन्तव्यको विकास र प्रवर्द्धन गरिनेछ ।

पर्यटनमैत्री संरचना र पूर्वाधार विकासलाई जोड दिई सातवटै प्रदेशमा कम्तिमा एक अन्तर्राष्ट्रिय विमानस्थल, पाँच वर्षभित्र हरेक प्रदेशमा मौलिक संग्रहालय स्थापना गर्ने लक्ष्य राखिएको छ । पर्यटनलाई उद्योगका रुपमा विकास गरी लगानी अभिवृद्धि गर्ने र विदेशी लगानी भित्र्याउने समेत योजना छ ।

पर्यटन विकासका लागि नीतिगत सुधार, पूर्वाधार विस्तार तथा सम्पदाको सम्वद्र्धन र नयाँ गन्तव्यको प्रवर्द्धनजस्ता विषयलाई प्राथमिकता दिइएको पाँचवर्षे कार्यदिशामा ११ बुँदामा प्राथमिकता प्राप्त क्षेत्रको योजनाबद्ध कार्यक्रम अघि सारिएको छ । रणनीतिक महत्त्वका पूर्वाधार र राष्ट्रिय गौरवका आयोजना, पर्यटन पूर्वाधार निर्माण, विकास तथा स्तरोन्नति, नागरिक उड्डयन क्षेत्रको विकास, पुनर्निर्माण, पुनःस्थापना, पुनःरुत्थान, धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा विशिष्ट पहिचानयुक्त सम्पदाको संरक्षण, सम्वर्द्धन र उत्खनन समावेश छ ।

पर्यटन उद्योग, लगानी तथा प्रवर्द्धन (ब्राण्डिङ), मानव संशाधन विकास, सुशासन तथा संस्थागत सुदृढीकरण, अनुसन्धान तथा नवीनतम कार्यक्रम, नियमन तथा गुणस्तर मापदण्ड र नीति, नियम, कानून तथा अन्तर्राष्ट्रिय सम्झौता कार्यदिशामा समेटिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर