newskoseli.Com

अधिकांश ‘म्युचुअल फन्ड’ घाटामा : १ अर्ब ७ करोड ६७ लाख ४८ हजारको शेयर कारोबार

 

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका १३ वटा ‘म्युचुअल फन्ड’ मध्ये चार वटाको मात्रै अवस्था राम्रो रहेको पाइएको छ ।

धितोपत्र बजारमा कारोबार भइरहेका ती फन्ड पनि अन्य संस्था वा कम्पनीको जस्तै खराब अवस्थामा रहेका छन् । अधिकांश म्युचुअल फन्डको अवस्था आधारभूत मूल्यभन्दा तल रहेका कारण लगानीकर्ताले नाफा पाउने अवस्था समेत कमजोर बन्न पुगेको छ ।

स्टकको बिहीबारको विवरण हेर्ने हो भने कूल १३ वटामध्ये ४ वटा म्युचुअल फन्ड मात्रै आधारभूत मूल्यभन्दा माथि रहेका छन् । सामूहिक लगानीका लागि स्टकमा सूचीकृत ९ वटा त्यस्ता म्युचुअल फन्ड भने आधारभूत मूल्यभन्दा तल रहेका छन् ।

म्युचुअल फन्डको आधारभूत मूल्य प्रतिएकार्इ १० रुपैयाँ हुने गरेको छ । शेयर बजारमा यस्ता फन्डलाई मेरुदण्डका रुपमा समेत लिइन्छ । पछिल्लो पटक शेयर बजारमा निरन्तर गिरावट आइरहेको छ । त्यसको प्रभाव समेत यसमा परेको छ । लगानीकर्ताले क्रमशः आफ्नो लगानी गुमाइरहेका छन् ।

स्टकका अनुसार लक्ष्मी भ्यालु फन्डको प्रतिएकार्इ मूल्य १० रुपैयाँ ४० पैसा रहेको छ । यस योजनामा प्रतिएकार्इ ४० पैसा मात्रै फाइदा रहेको छ । यस्तै, एनआर्इबीएल समृद्धि फन्ड– १ योजनाको प्रतिएकार्इ मूल्य १० रुपैयाँ ५० पैसा रहेको छ । यसमा मात्रै ५० पैसा नाफा रहेको छ ।

आधारभूत मूल्यभन्दा माथि रहेको अर्को योजना हो एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड– १ । यसको बजार मूल्य १२ रुपैयाँ रहेको छ । यसमा प्रतिएकाइ २ रुपैयाँ फाइदा रहेको छ । यस्तै, सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमको मूल्य ११ रुपैयाँ ४४ पैसा रहेको छ । यस योजनामा लगानी गर्नेले १ रुपैयाँ ४४ पैसा मात्रै नाफा कमाएका छन् ।

शेयर बजार निरन्तर ओरालो लाग्दा त्यसको प्रभाव यस्ता सामूहिक लगानी कोषमा समेत परेको छ । स्टकका अनुसार सिटिजन म्युचुअल फन्डको आधारभूत मूल्यभन्दा बजार मूल्य तल रहेको छ । यस योजनामा लगानी गर्नेले प्रतिएकार्इ १ रुपैया ६ पैसा घाटा व्यहोरेका छन् ।

ग्लोबल आर्इएमर्इ समुन्नत स्किमको बजार मूल्य ८ रुपैयाँ ७० पैसा रहेको छ । आधारभूत मूल्यभन्दा तल रहेको यस योजनामा लगानी गर्नेले प्रतिएकार्इ १ रुपैयाँ ३० पैसा घाटा खाएका छन् । लक्ष्मी बैंकको प्रवर्द्धनमा रहेको लक्ष्मी इक्विटी फन्डमा लगानी गर्नेले समेत प्रतिएकार्इ १ रुपैयाँ ८४ पैसा घाटा व्यहोरेका छन् ।

उता, नबिल इक्विटी फन्डमा लगानी गर्नेले प्रतिएकार्इ १ रुपैयाँ घाटा खानुपरेको छ । नबिल प्रगति फन्डको अवस्था पनि उस्तै रहेको छ । आधारभूत मूल्यभन्दा १ रुपैयाँ ९४ पैसा लगानीकर्तालाई घाटा भएको छ ।

एनआर्इसी एसिया ग्रोथ फन्डमा लगानी गर्नेको हालत पनि उस्तै छ । आधाारभूत मूल्यभन्दा प्रतिएकार्इ ९३ पैसा घाटा भइरहेको छ । एनएमबी हाइब्रिड फन्डको अवस्था पनि उस्तै छ । स्टकका अनुसार सो योजनामा लगानी गर्नेले प्रतिएकार्इ ७४ पैसा घाटा खाइरहेका छन् ।

सानिमा बैंकको प्रवर्द्धनमा रहेको सानिमा इक्विटी फन्डमा लगानी गर्नेले प्रतिएकार्इ ८० पैसा घाटा खानुपर्दा सिद्धार्थ एक्विटी फन्डमा लगानी गर्नेले प्रतिएकार्इ ९० पैसा घाटा सहनु परेको छ । सामूहिक लगानीका लागि स्थापना भएका यस्ता योजनामा समेत लगातार गिरावट आएपछि लगानीकर्तामा समेत नकारात्मक प्रभाव परेको सहजै अनुमान गर्न सकिन्छ ।

सामूहिक लगानी कोष नियमावली अनुसार तोकिएको सीमाभन्दा बढी लगानी गरेको भन्दै केही योजनालाई साउन १० मा
नेपाल धितोपत्र बोर्डले स्पष्टीकरण सोधेको थियो । त्यस्ता योजनाले बोर्डमा पेस गरेको मासिक खुद सम्पत्ति विवरण अनुसार उक्त योजनाको लगानी गर्दा बैंक निक्षेपमा तोकिएको सीमाभन्दा बढी हुने गरी लगानी गरेको पाइएकाले बोर्डले स्पष्टीकरण सोधेको थियो ।

बोर्डका अनुसार स्थलगत निरीक्षणका क्रममा सीमाभन्दा बढी लगानी गरेको पाइएकाले सीबीआर्इएल क्यापिटल, एनएमबी म्युचुअल फन्ड, एनएमबी हाइब्रिड फन्ड– १ लगायतलाई स्पष्टीकरण सोधिएको हो ।

शेयर बजारमा अर्बभन्दा बढीको कारोबार

धितोपत्र बजारमा यो साता १ अर्ब ७ करोड ६७ लाख ४८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १ सय ८१ कम्पनीका ४० लाख ८४ हजार ५ सय २० कित्ता शेयर खरिदबिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा १.९४ प्रतिशत बढी हो । गत साता १ सय ७९ कम्पनीको १ अर्ब ५ करोड ६२ लाख ९१ हजार रुपैयाँका ३९ लाख ४५ हजार ७ सय ६० कित्ता शेयर खरिदबिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३.५१ अंकले घटेर अन्तिम दिन १ हजार १ सय ९१.३१ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ०.४० अंकले घटेर २ सय ५१.१५ अंकमा आइपुगेको छ ।

यो साता कारोबार रकमको आधारमा माछापुच्छ्रे बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको ६ करोड ८७ लाख १० हजार रूपैयाँको शेयर कारोबार भएको छ । त्यसैगरी, कारोबार भएको शेयर संख्याको आधारमा पनि सोही बैंक नै अग्रस्थानमा रहेको छ । सो बैंकको ३ लाख ३५ हजार कित्ता शेयर कारोबार भएको छ ।

यो साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि ५ दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर