newskoseli.Com

प्रधानमन्त्रीको ‘चुनौती’, ‘थचक्कै बसे’ डा. गोविन्द केसी !

 

समग्र स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न गठन गरिने ‘स्वास्थ्य शिक्षा अनुगमन संयन्त्र’ को नेतृत्व आफैं गर्न र ‘काम गरेर देखाउन’ प्रस्ताव गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले घुमाउरो तरिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीलाई ‘चुनौती’ दिएका छन् ।

स्वास्थ्य क्षेत्रको सुधारका लागि ‘मागको सीमामा मात्रै अल्झिनुपर्छ’ भन्ने पक्षमा आफू नभएको बताउँदै प्रधानमन्त्री ओलीले ‘नेतृत्व लिएर काम गर्न’ डा. केसीलाई ‘आग्रह’ गरेका छन् । आफ्ना माग पूरा गर्न पहलकदमी लिएकामा ‘धन्यवाद दिन’ भन्दै प्रधानमन्त्रीलाई भेट्न शनिबार बालुवाटार पुगेका डा. केसीलाई ओलीले भने– ‘म प्रधानमन्त्री भएका बेला तपाईं अनशन नै बस्नुपर्ने थिएन, माग पूरा गराउन अरु धेरै विकल्प थिए र छन् ।’

‘जनताको स्वास्थ्य सेवासँग गाँसिएका विषयमा तपाईंसँग सरकारको कुनै विमति थिएन, स्वास्थ्य शिक्षाको क्षेत्रमा सुधार गर्न र यसमा भएका विकृति अन्त्य गर्न एउटा बलियो संयन्त्र बनाऊँ’,’ प्रधानमन्त्री ओलीले डा. केसीसँग भने– ‘त्यसको कमान्ड तपाईं सम्हाल्नोस्, दुर्गमका जनतामा स्वास्थ्य सेवा पुर्‍याउन अवरोध गर्नेका विरुद्ध डन्डा चलाउने संयन्त्रको नेतृत्व तपाईं नै गर्नोस्, त्यो कामका लागि अब सरकारले तपाईंका पछाडि बसेर सहयोग गर्छ ।’

प्रधानमन्त्रीको ‘प्रस्ताव’ सकारात्मक भए पनि आफू त्यस्तो प्रशासनिक जिम्मेवारीमा नरहने जवाफ डा. केसीले दिए । त्यस कामका लागि कयौं योग्य चिकित्सक र प्रशासक रहेकाले उनीहरुलाई नै जिम्मा दिन तर आफूलाई त्यो जिम्मा नदिन डा. केसीले प्रधानमन्त्रीलाई भने । ‘म त्यस्तो संयन्त्रमा बस्दिनँ, बाहिरै बसेर काम गर्छु, अन्य योग्य व्यक्ति धेरै हुनुहुन्छ’– डा. केसीले भने ।

आफ्नो संकल्प देश बनाउने नै भएकाले जनताको स्वास्थ्य तथा शिक्षामाथि संकल्प र प्रतिबद्धता कमजोर नरहेको प्रधानमन्त्री ओलीले बताए । स्वास्थ्य क्षेत्रमा सुधार गर्न डा. केसीसँग भएका सम्झौतामा मात्रै सीमित रहनुपर्छ भन्ने आफूलाई नलागेको र त्यसबारे खुला भएर काम गर्न तयार रहेको प्रधानमन्त्रीले बताए ।

‘जनतालाई कसरी सुलभ स्वास्थ्य सेवा दिन सकिन्छ र कसरी सबैलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउन सकिन्छ भन्ने कुरामा तपाईंसँग भएका सम्झौताको सीमामा मात्रै बस्नुपर्छ भन्ने छैन,’ प्रधानमन्त्री ओलीले भने– ‘सरकार त्योभन्दा फराकिलो भएर जान चाहन्छ ।’

कुनै निजी मेडिकल कलेजसँग गाँसेर आफूलाई नहेर्न प्रधानमन्त्री ओलीले डा. केसीलाई चेतावनी दिए । ‘तपाईंहरुलाई के भ्रम नहोस् भने, फलानो कलेजलाई सम्बन्धन दिनु वा नदिनुसँग मेरो कुनै लिनुदिनु छैन’, प्रधानमन्त्रीले भने– ‘चिकित्सा शिक्षाको क्षेत्रमा सुधार गर्ने कुरामा म प्रतिबद्ध छु ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर