‘कमरेडहरु ! अब वार्ता भंग हुन गइरहेछ, दुस्मनहरुले आक्रमण गर्नुपूर्व हामीले फौजी ढंगले पहिलो आक्रमण गर्नु पर्दछ,’ कमान्डरले प्रशिक्षण दिए– ‘फौजी पहलकदमी हामीले लिन सकेनौं भने हामी रक्षात्मक हुनु पर्नेछ ।’
भयानक युद्धका लागि तयार रहन पार्टीको निर्देशन थियो । किसानहरु असारमा रोपेको मानो भित्र्याउने चटारोमा थिए । सीमाहरुले पनि यही मंसिरमा हजारौं सहिदहरुको सपना भित्र्याउनु थियो ।
‘एसल्ट’ मा ‘मुभ’ हुनका लागि यो अन्तिम ‘सेल्टर’ थियो । कसैलाई पनि थाहा थिएन, यो मोर्चापछि को–को भौतिक रुपमा जीवित रहनेछन्, को–को रहने छैनन् ।
आजको बास र खाना नै जीवनको अन्तिम बास र खाना हुन सक्दथ्यो । तर, त्यहाँ मृत्युको कुनै ‘भय’ थिएन । त्यहाँ त अज्ञात् उत्सव थियो । जनमुक्ति सेनाका सबै सदस्यहरु हाँसीहाँसी खाना खाइरहेका थिए । ‘एसल्ट’ कमान्डर पनि आफ्ना सदस्यहरुसँगै बसेर खाना खाइरहेका थिए ।
खाना खाँदै कमान्डरले सबै सदस्यहरुको अनुहार नियाले । शायद उनी सबैका अनुहारको भाव पढ्न चाहन्थे । खाना खाइरहँदा कमरेड रवि र कमरेड सीमा एक–अर्कालाई खूब नियालिरहेका थिए । चलाख कमान्डरको दिमागलाई यो दृश्यले ‘क्लिक’ गर्यो ।
खाना खाइसकेपछि ‘एच.क्यु.’ मा बोलाएर कमान्डरले सीमालाई सोधे– ‘कमरेड ! तपाईं र कमरेड रविबीच प्रेम सम्बन्ध छ कि क्या हो ?’
अनायास र अनेपेक्षित प्रश्नले सीमाको अनुहार रातो भयो । लज्जावती फूल झैं उनी लजाइन् । तर, केही बोलिनन् ।
जवाफ त दिनु नै थियो । केहीबेर गमेर उनले भनिन्– ‘दाइ ! त्यस्तो त केही हैन… तर… ’
‘तर’ पछिका शब्द उनका ओठमै कैद भए । ‘मेरो अभिभावक भनेको मेरो पार्टी र कमान्डर नै हो…’ केहीबेर गमेर, केही भूमिकासहित अलि–अलि डर, अलि–अलि लाजमिश्रित स्वरमा उनले फेरि भनिन्– ‘त्यस्तो त केही होइन, … तर, केही चैं हो ।’
सीमाको जवाफ सुनिसकेपछि कमान्डरले भने– ‘तपाईं बाहिर जानोस् र कमरेड रविलाई यहाँ पठाइदिनोस् ।’
उनी हतार–हतार बाहिर गइन् र रविलाई भनिन्– ‘तत्काल एच.क्यु. मा जानोस् रे !’
छलफलमा रविले पनि सीमाको भन्दा फरक कुरा भनेनन् ।
‘कोचिङ’ सकिइसकेकाले टोली ‘मुभ’ हुने तयारीमा थियो । कमिसार र कमान्डरको अन्तिम निर्देशन आयो– ‘वलिदानको जुनसुकै कोटा चुक्ता गरेर भए पनि ब्याटल जित्नुपर्छ ।’
अन्तिम निर्देशनपछि ‘एसल्ट’ हरुको विभाजन भयो । कमरेड सीमा एक नम्बर एसल्टमा परिन् आफ्नै कमान्डरको कमान्डमा । उता, कमरेड रवि भने चार नम्बर एसल्टमा परे ।
औंशीको निष्पट्ट अँध्यारो रात । सगरमाथाको काखमा रहेको सोलुको सल्लेरी मोर्चामा हान्निए उनीहरु, सुनौलो भविष्य खोज्न । योजना मुताविक सबै ‘एसल्ट’ हरु आ–आफ्नो ‘आर्क’ मा पुगेपछि ‘फायर’ खुल्यो ।
यो मोर्चा पूर्वी कमान्डका लागि शाही सेनासँगको पहिलो मोर्चा थियो । गोलीको वर्षासहित भीषण लडाइँ भयो । लडाइँका क्रममा दुवैतिर मानवीय क्षतिको संख्या बढिरहेको थियो । कमरेड सीमा रहेको ‘एसल्ट’ का पाँच जनामध्ये दुई जनाको शहादत भैसकेको थियो ।
कमरेड सीमा आफ्नो ‘एसल्ट’ का लागि ग्रिनेड लिएर आउँदै थिइन् । सीमाले बोकेको ग्रिनेटमाथि नै बज्रियो दुस्मनले हानेको गोली । उनको हातैमा ठूलो आवाजका साथ ग्रिनेड पड्कियो । त्यही विस्फोटले सीमाको छाती छिया–छिया भयो ।
नजिकै रहेर ‘फायर’ गरिरहेका कमान्डर ‘फायर’ रोकेर सीमालाई सहयोग गर्ने सुरमा उनी घाइते भएको ठाउँमा पुगे । कमान्डर पुग्दा सीमा जीवनको अन्तिम अवस्थामा छट्पटाइरहेकी थिइन् । आफ्ना अगाडि कमान्डरलाई देखेपछि सीमाका आँखाबाट बर्बर्ती आँशु झरे ।
‘नआत्तिनोस् सीमा कमरेड ! म मेडिकल टिमलाई बोलाउँछु’– कमान्डरले सान्त्वना दिन खोजे ।
कमान्डर मेडिकल टिमतिर जान लाग्दा उनका हात च्याप्प समातेर उनलाई रोकिन् सीमाले । उनले कमान्डरका हात यसरी समातिन् कि तत्काल उनलाई ‘काल’ ले पनि लान नसकोस् !
कमान्डरसँग उनले भनिन्– ‘दाइ ! अब म बाँच्दिनँ, भो अब दुःख नगर्नोस् ।’
अत्यन्तै कष्टका साथ निस्किइरहेका थिए उनका अन्तिम शब्दहरु । उनले बडो कष्टका साथ भनिन्– ‘दाइ ! बाँकी क्रान्ति पूरा गर्नुहोला… कमरेड रविलाई सुनाइदिनुहोला– म उसलाई माया गर्थें… ।’
कमरेड सीमाका अन्तिम शब्द बन्द भए । कमान्डरकै काखमा उनले शहादत प्राप्त गरिन् ।
लडाइँ सकियो । फौज ‘रिट्रिट’ भयो । कमरेड सीमाको सन्देश लिएर रविलाई भेट्न कमान्डर उनको कम्पनीतिर गए । त्यहाँ पुग्दा थाहा भयो– कमरेड रविकोे पनि शहादत भैसकेको रहेछ !
रविका कमान्डरले भने– ‘सीमालाई ठ्याक्कै यस्तै सन्देश थियो कमरेड रविको पनि… !’ दुःखको कुरा, दुवै कमान्डरले आ–आफ्ना सिपाहीलाई सन्देश सुनाउनै पाएनन् ।