newskoseli.Com

अब उपकरण (मेसिन) ले नाप्छ सडकको गुणस्तर !

 

गुणस्तर मापन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडकको आधुनिक उपकरण प्रयोगमा ल्याउने भएको छ । कालोपत्र भएको सडक छोटो समयमा नै उप्कन थालेपछि मन्त्रालयले चालू आर्थिक वर्षको अन्त्यसम्म गुणस्तर मापन गर्न उपकरण खरिद गरी प्रयोगमा ल्याउन लागेको हो ।

कस्तो किसिमको उपकरण र कहाँबाट ल्याउन लागिएको हो भन्नेबारे मन्त्रालयले केही पनि सार्वजनिक गरेको छैन । सडक विभाग अन्तर्गत हाल १४ हजार किलोमिटर सडक निर्माण भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सङ्घीय संसद्, विकास तथा प्रविधि समितिको बिहीबारको बैठकमा सो जानकारी दिँदै बनेका सडकमध्ये स्थानीय तह, प्रदेश तथा सङ्घ कुनबाट सञ्चालन, मर्मत गर्ने भन्ने छिट्टै निर्णय हुने बताए ।

काठमाडौं उपत्यका भित्रका सडकका खाल्डाखुल्डी कहिलेसम्म पुरिन्छन् भन्ने सांसदको जिज्ञासामा मन्त्री महासेठले भदौ १२ सम्म पुरिसक्ने जवाफ दिए । पाँच वर्षभित्रमा सबै पालिकालाई राष्ट्रिय सडक सञ्जालले जोड्ने लक्ष्य रहेको जानकारी दिँदै कलङ्की–नागढुङ्गा, चाबहिल–साँखु सडक उपलब्ध जमिनका आधारमा नै निर्माण अगाडि बढ्ने नीतिगत निर्णय भएको उनले बताए ।

‘सर्वोच्च अदालतबाट विशेष गरी ती दुई सडक विस्तारका क्रममा भएको आदेशलाई पुनरावलोन गर्न सरकारले महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिइसकेको छ’– मन्त्री महासेठले भने । असार १ देखि मसान्तसम्ममा सडक निर्माण गर्न रोकिएको जानकारी दिँदै अब ‘असारे सडक विकास’ रोकिने जानकारी मन्त्री महासेठले दिए ।

विस्तृत कार्ययोजना बनाएर मात्र सडक निर्माण कार्य सुरु गर्न सुझाव दिँदै पहुँचभन्दा आवश्यकताका आधारमा निर्माण गर्नुपर्ने सांसद बहादुरसिंह लामाले बताए । डोजर चालक नै इञ्जिनियर हुने र उपभोक्ता समितिका सदस्य निर्देशक भई ग्रामीण तहमा सडक खन्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने सांसद यज्ञराज सुुनुवारले बताए ।

सडक निर्माणमा दीर्घकालीन सोच र अवधारणा बनाउनु आवश्यक रहेको सांसद गणेश पहाडीले बताए । पहिरोका कारण दुई महिनाको अवधिमा १८ को मृत्यु भइसकेको हुँदा अवरुद्ध चैनपुर–खोर्पे सडक नियमित गर्न सांसद आशाकुमारी विकले माग गरिन् ।

रेलभन्दा मोटरबाटोको आवश्यकता रहेको चर्चा गर्दै सांसद रङ्गकुमारी शाहीले सिमकोट–हिल्सा सडकको ट्रयाक खोल्ने काम कहिलेसम्म सम्पन्न हुन्छ भन्ने प्रश्न गरिन् । केरुङ–काठमाडौं रेलमार्ग र रक्सौल–काठमाडौं रेलमार्गका लागि मन्त्रालयले विभिन्न काम अगाडि बढाएको जानकरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले दिए ।

सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले भदौको अन्त्यसम्ममा काठमाडौं उपत्यकाका सडकको स्वरुपमा परिवर्तन आउने दाबी गरे । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर