NewsKoseli.Com

कथा : सुनिता

‘आँखाका परेला काला हुन थालेछन्, अब गाह्रो छ ,’ कोही थप्छन्– ‘जिब्रो नै निकाल्न नसक्ने भैछन्, खै के भन्न सकिएला र !’

उखरमाउलो गर्मी– चुरेको फेदमा सुनितालाई शान्ति हुने कुरै थिएन । घरमा बा औषधि किन्न नसकेर सुस्केरा हाल्दै थिए, आमा इन्तु न चिन्तु थिइन् ।

परिवारकी जेठी छोरी सुनितालाई उखरमाउलो चुरेको गर्मीभन्दा मनमा पैदा भएको गर्मी चाहिँ ज्यादा उखारमाउलो लाग्दै थियो । आठ कक्षामा पढ्दै गरेकी उसलाई जीवनको भारीले असाध्यै थिचेको छ ।

स–साना चार जना भाइ–बहिनीको हेरचाह, बिरामी आमाको स्याहार–सुसार, विद्यालय, वस्तुभाउको स्याहार अनि अभाव र गरिबीले थिचेको बाउको नियति समेतको अंशियारी बोक्दा–बोक्दै ऊ थिचिएकी छ ।

पोहोर साल आमा बिरामी भएपछि उसले चिनेजानेका, भनौं– थाहा पाएसम्मका सबै देवी–देवताका नाममा ब्रत बसिसकेकी छ । सधैं ‘हे भगवान् ! मलाई पास गराइदिनोस्’ भनेर गुनगुनाउने सुनिताको ‘वर’ माग्ने बोली आजभोलि बदलिएको छ– ‘हे भगवान् ! मलाई पास गराइदिनु परेन, बरु फेल गर्दिए पनि हुन्छ तर मेरी आमालाई सञ्चो बनाइदिनोस् ।’

उसले कुनै देवताको पूजा गर्न छाडेकी छैन । आमा दिनदिनै झन्–झन् गल्दैछिन् । खै किन हो, उसको ‘भगवान्’ ले उनका कुनै कुरा सुनिरहेका छैनन् । गाउँले आइमाईहरु साँझ–बिहान घरमा आउँछन् र सोध्छन्– ‘सुनिताकी आमा ! कस्तो छ ?’ गहभरि आँशु पार्दै आमा ओठ टोक्छिन् तर बोल्न सक्दिनन् ।

बिहेलगत्तै उनको नाम थियो– ‘कालेकी जहान ।’ गाउँलेले उनको पतिलाई ‘काले’ भन्ने हुँदा उनलाई ‘कालेकी जहान’ भनेका हुन् । जब उनले सुनितालाई जन्माइन्, त्यसपछि ‘कालेकी जहान’ बाट उनको नाम पनि बदलियो– ‘सुनिताकी आमा ।’ योसहित उनको नाम तीन पटक राखिसकिएको थियो । घरमा बा–आमाले ‘सानी’ भन्थे, त्यही ‘सानी’ बिहेपछि ‘कालेकी जहान’ भइन् र ‘सुनिताकी आमा’ बनिन् । न कसैले  उनलाई सोधेर नाम राखे, न कसैले सोधेर नै नाम फेरे । उनी हिजो पनि उस्तै मौन थिइन्, जुन मौनता साँध्न आज रोगले बाध्य पारिरहेछ ।

मेलापात जाँदाका आमाका दौंतरी पनि आजभोलि घरमा नआइदिए हुन्थ्यो भन्ने लाग्छ सुनितालाई । ‘ए सुनिताकी आमा ! कस्तो छ तिमीलाई ?’ दौंतरीले यसरी सोध्दा आमाले पिलिक्क आँखा पल्टाएर बरर्र आँशुका ढिका झारेको र ओठ खोल्न नसकेको दृश्य हेर्न सुनितालाई औधी सकस पर्छ । सल्लाह नगरे पनि आमा–छोरीका आँशु एकै पटक झर्छन् ।

सुनिता दौडेर घरमा राखिएका देवताकहाँ पुग्छे र भन्छे– ‘हे भगवान् ! जुन आमाले मलाई बोल्न सिकाइन्, आज म तिनै आमासँग कुरा गर्न नसक्ने गरी कुन जुनीको सजाय दियौ ? बरु मलाई मार । मेरी आमालाई बिसेक बनाइदेऊ । मेरा कलिला भाइ–बहिनीका लागि भए पनि प्लिज भगवान्… ।’

तर, ‘भगवान्’ ले उसका कुरा सुने पो ! बरु सुन्न नचाहेका कुरा मात्र उसले सुन्नुपरेको छ । कोही आउँछन् र भन्छन्– ‘आँखाका परेला काला हुन थालेछन्, अब गाह्रो छ…. ,’ फेरि कोही थप्छन्– ‘जिब्रो नै निकाल्न नसक्ने भैछन्, खै के भन्न सकिएला र !’

सुनिताले भाइ–बहिनीलाई डबकोमा मकैको खोले पस्किदिई । सबैभन्दा कान्छो भाइ ‘खान्नँ’ भनेर निहुँ खोज्दै थियो– ‘आज पनि चामलको भात छैन ? म खान्नँ ।’ अरु त अलि बुझने थिए– खान थाले । तर, कान्छो धेरै सानो भएकाले होला, ऊ ‘चामलको भात ले…’ भन्दै कराउँदै थियो ।

बाले आमाको उपचार गर्न खेत बेचिसकेपछि विचरीले कहाँबाट ल्याइदेओस् चामलको भात ! अस्ति त बा ‘बारीका पाटा पनि बेचौं कि क्या हो छोरी ? आमाको औषधि किन्न र उपचार गर्न पैसा जोहो गर्नै सकिएन…’ भन्दै थिए । ‘त्यो पनि बेचेसी के खालास् मोरा ? भोलि म चामलकै भात पकाउँला, आज खा न मोरा…’– ऊ भाइलाई फकाउँदै थिई । तर, कान्छाले माने पो !

‘एकातिर आफ्नो पढाइ, अर्कोतिर भाइ–बहिनीको हेरचाह र फेरि अर्काेतिर आमाको त्यो अवस्था… कसरी धानोस् विचरीले ! उफ् धन्न गरिछे नानी…’– बाले भन्थे । विचरा बालाई पो कसले सम्झाउने ? एक डबको खोले पिउँदा पनि आमालाई हेर्दै एक डबकै आँशु झार्थे । चुँसम्म बोल्ने होइन, रातभरि आमाकै छेउमा बसेर बर्बरर्ती आँशु झार्‍यो, बस्यो । उज्यालो भएसी साहुले ऋण दिन्छन् कि भन्दै दगुर्‍यो, रित्तै घर फर्कियो । यस्तै रितले चल्दै थियो बाको जीवन ।

माथि डाँडामा स्कुल थियो । सुनिता कक्षामै थिई । पल्ला घरका काका आएर भने– ‘सुनिते ! तेरी आमालाई बेथाले च्याप्यो, घर हिँड… ।’ फालहाल्दै सुनिता घरतिर हान्निई ।

आँगनभरि मान्छे थिए । आमालाई ‘तुलसीको मठ’ मा सुताइएको थियो । ‘नारायण भन्, सुनिताकी आमा ! राम–राम भन्, स्वर्गमा पुगिन्छ…’ भन्दै थिए मान्छेहरु । आमा अझै हिरिक्–हिरिक् गर्दै थिइन् ।

सुनिता आमाको छेउमै पुगी र आमाका हात समाती । आमाले पिलिक्क एक पटक सुनितातिर हेरर आफ्ना आँखा सधैंका लागि बन्द गरिन् ।

‘विचरा ! जेठी छोरीको मुख हेर्न यत्रोबेर हिरिक्–हिरिक् गरेर बसेकी रैछन्,’ गाउँलेहरु भन्न थाले– ‘कठै ! बैकुण्ठमा बास् होस् ।’

‘छोरी ! तेरी आमा पापी रै’छ, हामीलाई यो अवस्थामा छाडेर गई, गरिबकी स्वास्नी हुनु नै पाप रैछ– विचरी अल्पायुमै गई,’ सुनिताका बा नै सुनितालाई काखमा च्यापेर डाँको छाड्दै रुन थाले– ‘हामी गरिबले कहिलेसम्म यसरी अकालमै मर्नुपर्ने हो ? भाइबहिनी र तेरो विजोग हुने भो ! आमै नभ’सि कसरी घर हुन्छ नानी !’

रोकिएन, सुनिताका बाउ–छोरीको आँशु ।

१० असार, २०७४, पेप्सीकोला, काठमाडौं

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर