newskoseli.Com

सीमापारि ग्राहकको भीड, सीमावारि ग्राहक कुर्दै हैरान !

नेपालगञ्ज– १३ की एक महिलाले बाँकेको सीमापारि भारतीय बजार रुपैडिहाबाट करिव ४ हजार रुपैयाँका विभिन्न सामान ल्याउँदा भन्सार तिर्नु परेन ।

शर्मिलाजस्ता सयौं उपभोक्ताले रुपैडिहा बजारबाट दैनिक घरायसी तथा व्यक्तिगत प्रयोजनका सामान भन्सार नतिरी ल्याउने गर्दा नेपालगञ्जका व्यापारीलाई भने पिरोल्ने गर्छ । भन्सार तिर्नु नपर्ने भएका कारण रुपैडिहा बजारका व्यापारीलाई नेपाली उपभोक्ताको भीड थेग्न मुस्किल हुन्छ भने नेपालगञ्जका व्यापारीलाई चाहिँ ग्राहक पर्खेर पसलमा कुरिरहनै पर्ने बाध्यता छ ।

नेपालगञ्जमा भन्दा रुपैडिहामा सामान सस्तो पाइन्छ भन्ने आम उपभोक्ताको बुझाइका कारण चाडपर्वका बेला रुपैडिहा बजारमै झन् बढी नेपाली उपभोक्ता आकर्षित हुन्छन् । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्य भन्छन्– ‘यो नै गलत बुझाइ हो, बहुर्राष्ट्रिय कम्पनीका सामान रुपैडिहामा भन्दा नेपालगञ्जमा सस्तो पाइन्छ, भारतीय उत्पादन पनि हामीले थोक मूल्यमा ल्याएर बिक्री गर्दा यहीं सस्तो पर्छ तर वर्षौंदेखि सीमापारि नै सस्तो पाइन्छ भन्ने आम उपभोक्ताको सोचमा परिवर्तन हुन सकेन ।’

केही महिनाअघि नेपालगञ्ज भन्सार कार्यालयले १ हजार रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्देश गरेपछि केही समय रुपैडिहा जानेको सङ्ख्यामा कमी आएको थियो । यो निर्णयले दीर्घकालीन रूप लिन नसक्दा अहिले फेरि रुपैडिहा जाने नेपाली उपभोक्ताको सङ्ख्या ह्वात्तै बढेको हो ।

‘चर्को घाम, समयको बर्बादी, रिक्सा, टाँगा तथा माइक्रोबसमा कोचिनुपर्ने बाध्यता र भन्सारका कर्मचारी तथा भारतीय सीमा सुरक्षा बलको हेपाइ सहेर किन नेपाली रुपैडिहामा सामान लिन जान्छन् ?’ अध्यक्ष वैश्य भन्छन्– ‘नेपालगञ्जमा भन्दा रुपैडिहामा न सामान सस्तो पाइन्छ न त कर नै तिर्नुपर्छ ।’

घरका करेसाबारी बाँझै राखेर खुर्सानी, लसुन र बेसारसम्म किन्न रुपैडिहा जानेको भीडले गर्दा भारतीय व्यापारी मालामाल भइरहेका छन् । रुपैडिहामा दैनिक कति नेपाली किनमेलमा जान्छन् भन्ने यकिन तथ्याङ्क नभए पनि त्यहाँ दैनिक ५ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने नेपाली व्यापारीको दाबी छ । अझ चाडपर्वका बेला त रुपैडिया जानेको सङ्ख्या र रकम दोब्बर हुने अनुमान गरिएको छ ।

नेपालगञ्ज बजार सुक्ने र रुपैडिहा चम्किने गतिविधि नयाँ भने होइन । मानिसको दिमागमा रुपैडिहामा सस्तो पाइन्छ भन्ने छाप बसेकाले पनि यस्तो भइरहेको र यो भ्रमलाई उद्योग व्यापार सङ्घ वा नेपाली व्यवसायीले चिर्न नसकेका कारण सीमापारि जानेको भीड कम हुन नसकेको समृद्ध क्षेत्रका जानकारको बुझाइ छ ।

भन्सार नियम अनुसार सय रुपैयाँभन्दा बढीको सामान ल्याउने जो–कोहीले पनि भन्सार तिर्नुपर्छ । तर, यो नियम कार्यान्वयन हुन सकेको छैन । नेपालगञ्जका व्यापारी भन्छन्– ‘नियमलाई कडाइका साथ पालन गर्नुपर्‍यो ।’ नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठ भन्छन्– ‘नियम कडाइका साथ पालना गराउने प्रयत्न हामीले गरिरहेका छौं तर कसै–कसैले मात्र झुक्याएर ल्याएका हुन सक्छन् ।’

नेपालञ्जका व्यापारी र भन्सार कार्यालयबीचको यो द्वन्द्व नयाँ होइन, दशकौंदेखि यही द्वन्द्व दुवै पक्षबीच चलिरहेको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले पनि यो विषय धेरै पटक सल्टाउन खोजे पनि नतिजा सुधार हुन सकेको छैन । ‘दिनहुँ हाम्रै आँखा अगाडि सयौं उपभोक्ता भन्सार नतिरेरै सामान ल्याउँछन् । भन्सार कार्यालयले शून्य सहनशीलतामा काम गर्नुपर्छ, यही कुरा हामीले बारम्बार भन्दै आएका छौं’– सङ्घका अध्यक्ष वैश्यको भनाइ छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर