newskoseli.Com

धर्मगुरुलाई मृत्युदण्ड दिन अदालतलाई सरकारी अधिकारीहरूको ‘सुझाव’ !

साउदी अरबका सरकारी कानुनी अधिकारीले त्यहाँ सन् २०१७ मा पक्राउ गरिएका मुसलमान धर्मगुरु शेख सलमान अल–अवदाविरुद्धको मुद्दामा मङ्गलबार सुनुवाई गर्दै उनलाई मृत्युदण्ड दिनुपर्ने बताएको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् ।

अवदाविरुद्ध विभिन्न ३७ आरोप दर्ता गरिएको सरकार पक्षधर ओकाज पत्रिकालगायतका सरकारनिकट अन्य सञ्चार माध्यमले विस्तृत विवरण नदिर्इकनै जनाएका छन् । अवदालगायतका २० जनालाई सन् २०१७ को सेप्टेम्बरमा कट्टरपन्थी अनुदारवादी राज्यमा फैलिएको विद्रोहमा दोषी भएको आरोपमा पक्राउ गरिएको थियो ।

यसबारे सरकारी अभियोजकको कार्यालयले कुनै प्रतिक्रिया जनाइसकेको छैन । मध्यपूर्वी मानवअधिकार अनुगमनबारे अनुसन्धान गरिरहेका आदम कुगलले ट्विटमार्फत् भनेका छन्– ‘साउदी अरबका सरकारी अभियोजकहरूले ख्यातिप्राप्त मुसलमान धर्मगुरु सलमान अल–अवदालाई मृत्युदण्ड दिन खोजेको भन्ने सूचनाहरू बाहिरिएका छन् । यसबारे विस्तृत विवरणहरू भने आइसकेका छैनन् ।’

उनले भनेका छन्– ‘यस किसिमका मुद्दामा मृत्युदण्ड दिनु भनेको विरोधी आवाज नियन्त्रणको दयनीय अवस्था हो ।’ अल–अवदा जेलमा बिरामी परेपछि पश्चिमी शहर जेदाहमा उपचाररत छन् । उनलाई जेलमा पाँच महिनासम्म एकान्तमा राखेको उनको पारिवारिक स्रोतलाई उद्धृत गरी एम्नेस्टी इन्टरनेसनलले जनाएको छ ।

उनलाई परिवारलगायतका कसैसँग भेट्ने अवसर नदिइएको मानवअधिकारवादी संघ–संस्थाहरूले जनाएका छन् । एम्नेष्टी इन्टरनेसनलका अनुसार साउदी अरब र कतारबीच सम्भावित पुनर्मिलनको सूचनालाई स्वागत गरी ट्विट गरेको केही घन्टामा अवदालाई पक्राउ गरिएको थियो ।

साउदी अरबलगायतका अन्य खाडी मुलुकले अतिवादी इस्लामिक समूहलाई सघाएको आरोपमा कतारसँगको कूटनीतिक तथा आर्थिक सम्बन्ध तोडेका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर