newskoseli.Com

वैद्यले बोले विद्रोह : ‘संसदीय समाजवाद मानिँदैन !’

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले आफ्नो पार्टी तथा नेपाली जनताका लागि ‘संसदीय समाजवाद’ अस्वीकार्य रहेको बताएका छन् ।

‘हिजो कांग्रेसले संसदीय समाजवादको वकालत गर्दै राजाकहाँ सत्ता बुझायो, देउवाले ज्ञानेन्द्रलाई सत्ता बुझाएपछि संसदवादीहरु बाध्य भएर हामीसँग एकता गर्न आए र मुख्यतः जनयुद्धको जगमा सफल भएको उन्नाईसदिने जनआन्दोलनमार्फत फेरि सत्तामा उक्लिए,’ महासचिव वैद्यले भने– ‘उनीहरु उल्टै अहिले जनयुद्धबाट केही भएन, उन्नाईसदिने जनआन्दोलनले नै गणतन्त्र ल्यायो भनेर बकवास गर्दैछन् ।’

‘जनताले ठूलो त्याग–तपस्या–वलिदान गरेर माओवादी पार्टीको नेतृत्वमा गठन गरेको महान् जनमुक्ति सेना सरकारलाई बुझाइदिएर प्रचण्ड अहिले आफ्नै पार्टी समेत एमालेमा बिलय गराइसकेपछि समाजवादको हावादारी कुरा गरिरहेका छन्,’ महासचिव वैद्यले अगाडि भने– ‘हामी सानो पंक्तिले नै भए पनि नयाँ जनवादी क्रान्ति पूरा गर्न कम्मर कसेर लागेका छौं, यो एक दिन अवश्य नै पूरा हुन्छ । केही साथीहरुको बुझाइ लोकतान्त्रिक गणतन्त्र नै क्रान्ति हो र यो पूरा भयो भन्ने छ, त्यो कुरा बिल्कुल साँचो होइन ।’

‘राष्ट्रियता,जनजीविका र जनतन्त्रका विषय पूरै ओझेलमा परिरहेका छन्, यो पूरा गर्न हाम्रो पार्टी निरन्तर संघर्षमा छ,’ महासचिव वैद्यले भने– ‘यो व्यवस्थाले न सीमा समस्यामा हेर्छ न बोल्छ, गाउँघरमा सँधियारले साँध मिचेको मिच्यै गरे झैं छिमेकी देशले सीमा मिचेका वीरगञ्ज र कालापानीका घटना ताजै छन् तर सरकार चुँसम्म आवाज निकाल्दैन ।’

प्राकृतिक एवम् मानवीय स्रोत–साधनको सदुपयोग गरेर वुद्धिजीवी, अर्थशास्त्री, प्राविधिक एवम् अन्य दक्ष जनशक्तिलाई नेपालमै राख्नु अहिलेको आवश्यकता भएकामा वैद्यले जोड दिए । जनशक्तिको सही व्यवस्थापन र राष्ट्रिय उत्पादनको वृद्धि नगरी समृद्ध मुलुक बनाउन नसकिनेमा उनले जोड दिए ।

‘विकास, समृद्धि र लोकतन्त्रका खोक्रो भाषणले के हुन्छ ?’ महासचिव वैद्यले प्रश्न गरे– ‘दसवर्षे जनयुद्धमा सयौं जनताले रगतको खोलो बगाए, पहिचानका मुद्दा उठाए, खै पहिचान ? खै विकास ? खै समानता ? युद्धमासँगै लडेका साथी मन्त्री भएर बसेका छन्, राष्ट्रका समस्या ज्युँकात्युँ छन् ।’

राजधानीमा बुधबार क्रान्तिकारी पत्रकार महासंघको भेलालाई सम्बोधन गर्दै महासचिव वैद्यले आफ्नो पार्टी तथा आम नेपाली जनताका लागि नाम मात्रैको ‘संसदीय समाजवाद’ कुनै हालतमा पनि स्वीकार्य नभएको उल्लेख गरेर निरन्तर क्रान्तिको बाटोमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

थप याे समाचार पनि पढ्नुहाेस्–
क्रान्तिकारी पत्रकार महासंघको राष्ट्रिय भेला : राउतको नेतृत्वमा आयोजक समिति

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर