newskoseli.Com

६.६ म्याग्निच्युडको भूकम्प : ८ को मृत्यु, सयौं बेपत्ता…

उत्तरी जापानको होक्काइदो द्विपमा बिहीबार ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

भूकम्पपछि भवनहरु भत्किएर र भूस्खलनमा परी ८ व्यक्तिको मृत्यु हुनुका साथै दर्जनौं बेपत्ता भएको प्रारम्भिक खबर प्राप्त भएको छ ।

गत साता पनि यही क्षेत्रमा आएको शक्तिशाली आँधीमा परेर जनधनको ठूलो क्षति भएको थियो । यस क्षेत्रमा विद्युत् सेवा उपलब्ध गराइआएको प्रमुख थर्मल प्लान्टमा भूकम्पबाट क्षति पुगेका कारण ३० लाख घरमा विद्युत् सेवा अवरुद्ध भएको छ । भूकम्पको केन्द्रविन्दु क्षेत्रीय राजधानी साप्पोरोबाट ६२ किलोमिटर टाढा रहेकाले सुनामीको चेतावनी भने दिइएको छैन ।

भूकम्पपछि दर्जनौं घरहरु ध्वस्त भएका छन् । भूकम्प प्रभावित इलाकामा रहेका आवासीय दर्जनौं व्यक्तिहरुलाई हेलिकप्टरको सहयोगबाट उद्धार गरिएको छ । प्रहरी अधिकारीहरुलगायत करिव २० हजार उद्धारकर्ताहरु परिचालित भएको जानकारी सरकारका प्रवक्ता योसिहिदे सुगाले दिएका छन् । उद्धारकार्यमा अरु करिव २० हजार सैनिक समेत परिचालन गर्ने तयारी भइरहेको छ ।

मन्त्रिपरिषदको आकस्मिक बैठकपछि बोल्दै जापानका प्रधानमन्त्री सिन्जो आबेले मानिसको ज्यान बचाउन हरसम्भव प्रयास गरिने बताएका छन् । सन् २०११ को मार्च ११ मा जापानमा आएको विनाशकारी ९.० रेक्टर स्केलको भूकम्प र त्यसपछिको सुनामीमा परी जनधनको ठूलो क्षति भएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर