NewsKoseli.Com

आदर्श विद्यार्थी, गुरु र अभिभावकको त्रिवेणी : भक्तबहादुर राई

शिक्षाको दीर्घकालीन जग : आधारभूत शिक्षा

१. परिचय

सिरहा जिल्लाको गोलबजार नगरकै प्रकाण्ड शैक्षिक व्यक्तित्व भनी चिनिएका भक्तबहादुर राई पिता जुगुतबहादुर राई र माता लक्ष्मीदेवी राईको ज्येष्ठ पुत्रका रूपमा वि.सं. २०१६ कात्तिक १५ गते शुक्रबार गोलबजार– २, सिरहामा जन्मेका हुन् । उनका पुर्खाहरू करिव डेढ शताब्दीपूर्व दिक्तेलको दिङलुङबाट लालपुर– ३, टोडके, सिरहा झरेका थिए । सुझबुझको कमीका कारण उनका हजुरबुबा र बुबाहरू गरिबीमै जन्मेर गरिबीमै बिदा भए । उनले भने मामाहरू लक्ष्मण राई र भरत राईको मद्धत र संरक्षणमा राम्रो संस्कार र शैक्षिक वातावरण पाए । फलस्वरूप गरिबीलाई घटाउँदै र हटाउँदै गए ।

वि.सं. २०२० मा सिरहाको जमदह विद्यालयबाट शिक्षारम्भ सुरुआत गरेका राईले त्यसपछि तितरिया स्कुलमा समेत पढी कक्षा ६ मा श्री जनता माध्यमिक विद्यालय, गोलबजार– ४, सिरहामा भर्ना भई कक्षा ७ सम्म अध्ययन गरेका थिए । त्यसमाथिको शिक्षाका लागि वकिल मामा लक्ष्मण राईको सल्लाह र भरोसामा उनी चन्द्र माध्यमिक विद्यालय, सिरहामा कक्षा ८ मा भर्ना भए ।

त्यहाँ उनले हुनसम्मको दुःख पाए । त्यसबेला विद्यालय र छात्रावास दुबैको शुल्क तिर्नुपर्थ्यो । सधैं घरैबाट खर्च धान्न सक्ने अवस्था थिएन । गाउँघरतिर पढाइ–लेखाइलाई अनुत्पादक काम ठानी निरुत्साहित गर्ने काम मात्र हुन्थ्यो । खर्च सकिएर टाट पल्टेको समयमा उनले पढाइलाई बिट मार्ने विचार पनि गरेका थिए तर मामा लक्ष्मणले तत्कालीन गर्जो टारिदिए र डटेर अध्ययनमा जुट्न खबरदारी गरिरहे ।

विगत सम्झँदै उनी भन्छन्– जमदहका प्रधानाध्यापक सुरेशलाल दास कर्णको मायालु र प्रेरणादायी क्रियाकलापले पढ्दा सबैको मनमा बस्न ठाउँ पाइँदो रहेछ भन्ने बुझें । उनले पढाउँदा कक्षा नै मन्त्रमुग्ध हुन्थ्यो । न हातमा छडी हुन्थ्यो न उनी हकारपकार नै गर्थें । आफू पनि सफासुग्धर र उच्च आचरणमा हुन्थे, हाम्रा कमजोरीलाई पनि केरकार गरी सुध्रने उपाय सुल्झाइदिन्थे ।

अगाडि उनी सम्झन्छन्– चन्द्र माविमा भने त्यस बेला जानकीरमणलाल दास कर्ण प्रधानाध्यापक थिए । उनी पनि आफ्नो व्यक्तित्व र आदर्श आचरणका कारण विद्यार्थी माझ लोकप्रिय थिए । एक दिन अङ्ग्रेजीमा ‘नेहरुको पत्र’ पढाउँदै थिए । कक्षा एकदमै शान्त थियो । उनको पढाउने तरिका नै यस्तो मनमोहक थियो कि हाम्रा आँखा नै आँसुले भरिए । उनको बोलीमा जादु थियो । उनले भनेपछि आशंका गरिन्नथ्यो ।

एक रात दुई बजेतिर उनी छात्रवास निरीक्षण गर्न आएछन् । डिबियाको पिलपले उज्यालोमा मलाई एकोहोरो चित्तले पढिरहेकोे देखेछन् । मेरो मेहनतबाट खुशी भएर उनले विद्यालय शुल्क माफ गरिदिए । मेरो लागि त्यो जीवनको सबैभन्दा ठूलो पुरस्कार थियो ।

ब्रिटिस सेनाबाट फर्केका माधव शर्मा अङ्ग्रेजी शिक्षक थिए । उनले अङ्ग्रेजी विषय पढाउँदा अति नै प्रभावित भएको र अङ्ग्रेजी विषयको शिक्षक बनी देश र जनताको सेवा गर्ने प्रेरणा लिएको अनुभव सुनाउँछन् । अर्का विज्ञान शिक्षक रामशरण महासेठ पनि कुशल र सहयोगी रहेको उनको बुझाइ छ । यिनै शिक्षकले छात्रावासको शुल्क तिरिदिएका थिए । उनको त्यो गुण सम्झँदै राई अगाडि भन्छन्– “सरले त्यत्ति नगर्दिएको भए म अल्लारे ठिटो कता बरालिने थिएँ, थाहै थिएन । सबैको साथ–सहयोग र मायाले नै म उठ्न सकेको हुँ ।”

उनले २०३१ सालमा एसएलसी गरे । उच्चशिक्षा हासिल गर्ने तरखर गर्दागर्दै २०३२ पिताको निधन भयो । परिवारको बोझ काँधमा बोकेर हिँड्नुपर्ने भयो । भाइहरू जगतकुमार र हेमबहादुर अनि एक मात्र बहिनी इरैन्ट राईको लालनपोषणमा जुटे ।

लेखक नन्दलाल आचार्य

त्यसबेला श्री जनता माध्यमिक विद्यालय, गोलबजार–४, सिरहामा धर्मविनोद उपाध्याय प्रधानाध्यापक थिए । उनी पनि नीतिले प्रशासन चल्नुपर्छ भन्ने पक्षमा थिए । त्यही स्कुलमा २०३४ सालमा राईलाई प्राथमिक तहको अस्थायी शिक्षक पदमा नियुक्त हुने सौभाग्य जुर्‍यो । त्यसपछि भने उनलाई परिवार पाल्न सहज हुन थाल्यो । गाउँ–समाजबाट सम्मान मिल्न थाल्यो । उनका काला दिन दिनानुदिन उज्याला हुँदै गए ।

त्यसबेला झापा विद्रोहको प्रभाव चारैतिर फैलिएको थियो । गोलबजारको लोकराजमार्ग उत्तरतिर बामहरूको पकड भएको स्थान मानिन्थ्यो । बुर्जुवा शिक्षा आर्जन गर्नु पुँजिपति वर्गलाई पृष्ठपोषण गर्नु हो भन्ने उनीहरूको मान्यता थियो । उनको घर लोकमार्ग उत्तरतिरै परेकाले बामआन्दोलनमा प्रत्यक्ष–परोक्ष उनी पनि मुछिए ।

पेशेवर मान्छेले पेशालाई असर पार्ने राजनीति गर्नैहुन्न भन्ने मान्यता लिएर चुप रहे पनि अरूको नजरमा पत्याउने कुरा थिएन । किनकि लोकमार्ग उत्तरतिर वामआन्दोलनको आँधीबेहरी नै आएको थियो । त्यसले त्यहीं रहनेलाई नछुने कुरै आउँदैनथ्यो ।

त्यही कारण अरू शिक्षक चाँडै स्थायी हुँदा उनी राजनैतिक प्रतिशोधका शिकार भएर स्थायी हुन सकेनन् । त्यसबेला सुन्दरमणि उपाध्याय सहायक प्रधानाध्यापक थिए । उनी माध्यमिक तहमा अङ्ग्रेजी पढाउँथे । राई गीत गाउन, कविता भन्न र साहित्यका कुरा गर्न माहिर थिए । र, उपाध्याय चाहिँ त्यस्ता कार्यमा संलग्न हुन रुचाउँथे । उनीहरू दुबैको रुची एकै भएका कारण मनसाय साटासाट हुन्थ्यो ।

उपाध्यायले आफ्नो घन्टी राईलाई दिन थाले । प्राथमिक तहको शिक्षक भए पनि उनले अङ्ग्रेजी पढाउन ९ र १० कक्षामा जाने सौभाग्य पाए । विद्यार्थी र अभिभावकलाई आफ्नो क्षमतावोध गराउने अवसर भेटे । उनको लोकप्रियता बढ्दै गयो । अङ्ग्रेजी शिक्षक बन्ने विद्यार्थी जीवनको सपना पूरा हुँदै गएको अनुभव गर्न पुगे ।

उपाध्याय सर काठमाडौं सरुवा भएर गएपछि उनले नै अङ्ग्रेजी पढाउने जिम्मा पाए । २०४४ सालमा आयोग खुल्यो र उनी माध्यमिक तहको स्थायी शिक्षक बनी कार्यरत विद्यालयमै पुनर्नियुक्त भए । उनलाई सपना देख्न सके पूरा हुने रहेछ भन्ने एकिन भयो ।

शिक्षण जीवनलाई निरन्तरता दिँदै उनले आई.एड., बी.एड. र एम.एड. सम्मको अध्ययन वीरगञ्ज, विराटनगर र काठमाडौंबाट प्राइभेट विद्यार्थीका रूपमा पूरा गरे । र, आफ्नो बौद्धिक हैसियत उच्च पारे ।

२. शैक्षिक दृष्टिकोण

उनी भन्छन्– “आधारभूत तहको शिक्षामा कसैले पनि हेलचेक्र्याइँ गर्नुहुन्न । नत्र शिक्षामा भद्रगोल देखापर्छ । अहिले हामी त्यही नियति भोगिरहेका छौं । कम्तिमा पनि विद्यार्थीलाई ४–५ वर्ष जग खन्न लगाउनुपर्छ । आधारभूत कुरा सिक्ने र सिकाउने वातावरण र मनस्थिति हुनुपर्छ । तर दुर्भाग्य ! हामी त्यस मनस्थितिमा छैनौं । कक्षा एकमा भर्ना भएका विद्यार्थीले बाह्रखरीसम्म नछिचोली दुईमा पठाइहाल्ने अवस्था छ । निरन्तर विद्यार्थी मूल्याङ्कनको नकारात्मक पाटो मात्र अपनाएर हामी पनि सरासर नयाँ कक्षा चढाउँछौं । कसैलाई रोक्न खोजे अभिभावकहरूको बोली सुनेर नाजवाफ हुन्छौं ।

विश्वासमा पर्ने खालको अभिभावकको बोली सुनिन्छ, “मैले काम नलगाईकन सधैं स्कुल पठाएको छु । यस पटक पास गराईदिनू । अर्को पटक आफैं पास हुन्छ । हामी घरमा रेखदेख पुर्‍याउँछौं । तपाईंहरू मात्र शिक्षक हैन, हामी पनि हाम्रा बच्चाका असली शिक्षक हौं । अगाडि बढ्न दिनु न ! यिनलाई रोकेर अपराधको भागिदार किन बन्नुहुन्छ ?”

राईको विश्लेषमा बोर्डिङ स्कुलको शिक्षा त्रिभुजजस्तो छ अर्थात् तल सुकेको माथि फुकेको छ । सरकारी स्कुलको शिक्षा चाहिँ उल्टो त्रिभुज अर्थात् तल सुकेको माथि फुकेको छ । बोर्डिङ स्कुलमा नर्सरी, एलकेजी, यूकेजी पार गरी कक्षा १ मा पुग्न ३–४ वर्ष लाग्छ । सरकारीमा स्कुल टेक्नासाथ कक्षा १ मा भर्ना हुन पाउँछन् । बालविकास कक्षाहरूको व्यवस्थापन पनि गुणात्मक छैन । बालुवामा पानी खन्याए सरह छ ।

विद्यार्थी भर्ना अभियानलाई सर्वत्र प्रचारात्मक रूपमा लगेझैं गरी गुणात्मक सिकाइलाई पनि अभियानकै रूपमा लानुपर्छ । शैक्षिक गतिविधिका कुराहरू तालिम, गोष्ठी र सेमिनारमा मात्र सीमित नगरी कक्षाकोठासम्म लैजानुपर्छ । विद्यार्थीको लय र भाकामा उसैको मस्तिष्कसम्म घुसाउनुपर्छ । राम्रो गर्ने विद्यार्थी र तिनका शिक्षक दुबै पुरस्कृत गरिनुपर्छ । विद्यार्थीका अभिभावकलाई सम्मान गर्नुपर्छ । राम्रो गर्न सक्नेलाई पृष्ठपोषण दिनुपर्छ, राम्रो गर्ने–गराउने वातावरण दिलाउनुपर्छ । विद्यालय प्रशासनले बेलाबेलामा खबरदारी गरिरहनुपर्छ । पुनर्ताजगी कार्यक्रम चलाइरहनुपर्छ ।

उनी अगाडि थप्छन्– अभिभावकको बच्चा सपार्नु परम दायित्व हो । आफूले राम्रो व्यवहार प्रदर्शित गरेमा मात्र बच्चा सप्रन्छन् । किनभने अरूले गरेको देखेर नै विद्यार्थीले सिक्छन् । यस सम्बन्धमा उनले अभिभावक नै बच्चाको सर्वेसर्वा होइन, बच्चामा पनि आफ्नो वजन हुन्छ भन्ने बारे सानो कथा पनि सुनाए–

एक परिवारमा दुई छोराको बुबा जाँड–रक्सीको लतमा फँसेको रहेछ । त्यही लतले चाँडै धरती पनि छाडेछ । जेठो छोरा बुबाकै बाटो समाएर नामी जड्याहा भएछ । ऊ धन र इज्जत दुबै सकेर कंगालपति भएछ । कान्छोचाहिँ त्यस इलाकाकै सज्जन र विद्वान् कहलिएको रहेछ ।

एक पत्रकारले अन्तर्वार्ता लिने क्रममा जेठो छोरालाई सोधेछ, “तपाईँलाई कुलतमा फँस्न कसले प्रेरणा दियो, कसरी र किन ?”

जेठाको जवाफ आएछ– “मेरा गुरु बुबा हुन् । उत्तिखेर ठूलाबडाले जे गर्छन्, त्यो निसंदेह ठीक हो भन्ने लाग्थ्यो । बुबाले खाँदा मैले पनि खाएँ, आनन्द आउँदै गयो । अहिले आएर विचार गर्छु– मैले रक्सी खाएको रहेनछु, रक्सीले मलाई खाँदो रहेछ । अब त प्राण छोड्न सकूँला तर बाल्यकालदेखि लागेको बानी छाड्न सक्तिनँ ।”

असल मान्छे कसरी बन्नुभयो भन्ने पत्रकारको प्रश्नको उत्तरमा कान्छोले चाहिँ भनेछ, “हो, मेरा पनि गुरु बुबा नै हुन् । त्यसबेला बुबाका हरेक पाइलाको प्रतिफल बारे मैले विश्लेषण गरेर त्यो सरासर जीवन बर्बादीको सरलमार्ग रहेछ भन्ने बुझें । बुबा रक्सीले टिल्ल मातेर नालामा सुत्नुहुन्थ्यो । रगत छादेरै मर्नुभयो । कहिलेकाँही गलतमार्ग मेरा खुट्टा गए, बुबाकै हविगतको सम्झना आउँथ्यो । र, म सतर्क भइहाल्थें । सही मार्गमा हिँड्ने कोसिसस्वरूप म यस ठाउँसम्म आइपुगेको हुँ ।”

माथिको कथाबाट नकारात्मकतामा सकारात्मकता खोज्ने भाइ सफल भएको र नकार र सकार चिन्ह नसक्ने दाजु जीवनमा असफल भएको बुझिन्छ । राईको मतानुसार संसार गलत होस् तर आफू गलत हुनुहुँदैन भन्ने थियो । ‘ढुङ्गाको काप फोरेर पनि पिपल उम्रन्छ’ भनेझैं गर्ने बच्चाले जस्तोसुकै परिस्थिति र वातावरणमा पनि गरेर देखाउँछन् । अभिभावकले बाटो विराएमा बच्चाले जान्ने–बुझ्ने भएपछि स्वयम् खबरदारी गर्नु आवश्यक छ ।

३. शैक्षिक सन्देश

गोलबजार लागि भक्तबहादुर राई एक विद्यार्थी, शिक्षक र अभिभावकको नाम हो । एक समय तोतेबोली नहट्दै गर्दा उनी लुरुलुरु विद्यालय आउँथे, घरपरिवारमा चञ्चले भए पनि विद्यालयमा चाहिँ भद्र विद्यार्थीका रूपमा गनिन्थे । वाल्यकालमा उनको बुझाइ थियो– शिक्षक सर्वज्ञानले सम्पन्न हुन्छन् । आवश्यक ठाउँमा ज्ञान छर्न र जथाभावी छरिएको ज्ञान समेट्न खटाइएका व्यक्ति हुन् । उनीहरूसँग विद्यार्थीको मनका कुरा जान्ने र बुझ्ने खुबी हुन्छ । अतः कसै गरे पनि शिक्षकको आँखा छल्न सकिन्न र छल्यो भने पनि मूर्ख भएर जीवन धान्नुपर्छ ।

बाल्यकालदेखि नै उनी अध्ययनमा अब्बल थिए, जिज्ञासु स्वभावका थिए । जमदह स्कुलमा छँदा आउँदा जाँदा साथीहरू आफ्नै सुरमा हुन्थे उनी भने झुम्राको भकुन्डोलाई तात्ताले खेलाउँदै स्कुल पुर्‍याउँथे र स्कुलबाट घरै ल्याइपुर्‍याउँथे । त्यसो गर्न पाएकोमा उनी आनन्दित हुन्थे । र, कसैले वाधा–व्यवधान पुर्‍याए चिढिन्थे । मानौं, उनी खेलप्रतिको आफ्नो अव्यक्त अनुराग प्रकट गरिरहेका हुन्थे ।

अर्कातिर भकुण्डो ओरालो झर्न पाए, जोडतोडले हानिने र उकालो जान परे गुड्नै नमान्ने स्थितिदेखि अवाक् हुन्थे । यस्तो किन भएको होला भन्ने लाग्थ्यो । पक्कै पनि यो विज्ञान सरलाई नै सोध्ने प्रश्न हो भनी सोध्न सोचिरहे तर हिम्मत जुटाउन सकिरहेका थिएनन् ।

गोलबजार स्कुलमा आएपछि भने एक दिन मौका मिल्यो र उनले सहास गर्दै भने, “सर ! पानी बगेतिर भकुन्डो छिटो गुड्ने र पानी चढ्न नसक्ने उकालोमा गुड्नै नमान्ने, गुडे पनि ढिलो गुड्ने कारण केले भएको हो ?”

शिक्षक मुस्कुराए अनि उल्टै प्रतिप्रश्न गर्दै भने– “भक्तबहादुर ! भन, त ! पानी रुख चढ्छ कि चढ्दैन ?”

त्यस प्रतिप्रश्नले उनी भयभित भए । शिक्षकले ऊर्जा दिइरहे अनि उनको मुख खुलेछ, “खै, सर ! पानी रुख चढेको मैले देखेको छैन । हाम्रो सातपत्रे खोलो त ओरालो बग्छ, उकालो उक्लिँदैन ।”

शिक्षक खुशी भए र भने– “आवश्यकता परे पानी रुख पनि चढ्छ तर स्वभावले हैन फोर्सले मात्रै चढ्छ । जस्तै– कलको पानी मोटरले तानेर छतको ट्याङ्कीमा उकालो हुत्याउँछ । त्यही पानी हाम्रो वाथरुममा आइपुग्छ । भकुन्डोको स्वभाव नै ओरालो झर्ने हो, फोर्स लगाएमा उकालो पनि जान्छ तर धिमा गतिमा । यो सबै पृथ्वीको गुरुत्वाकर्षणको कारणले हो ।”

आफूले पढेर छाडेको कक्षामा आधारभूत तह (कक्षा १–५) को फुच्चे शिक्षक बनेर पुग्न पाउँदा गौरवले छाती ढक्क फुल्थ्यो । आफ्नै छरछिमेकका नानीबाबुलाई बाह्रखरी खटाउँदा बेग्दै आनन्द आउँथ्यो । अझ, गाउँघरतिर ‘मास्टर बाबु’ भनेर पुकारिँदा गर्वले शिर सगरमाथा नै हुन्थ्यो ।

विद्यार्थी–शिक्षक, शिक्षक–विद्यार्थी कहिले यता कहिले उताको अनुभवले उनको जीवन खारिँदै गयो । प्रा.शि. हुँदै मा.शि. सम्म आइपुग्दा अनेकन उतारचढाव बहन गर्नुपर्‍यो । अर्कातिर साधारण शिक्षकबाट प्रधानाध्यापकसम्मको यात्रामा बेग्लै जिम्मेवारी बाेध भयो ।

एक प्रसङ्गमा शिक्षकहरूसँग भनेका थिए– म त बच्चामा विलक्षण दक्षता देख्छु । मलाई लाग्छ– बच्चालाई सपना देख्नबाट बञ्चित पार्नुजस्तो अर्को अपराध केही छैन । आफ्नो तर्फबाट विद्यार्थी समस्यामुक्त भए भने हरेक पटक नोबेल पुरस्कार जितेको सम्झन्छु । बच्चाको संगत पाए संसारको सबै खुशी भेटेको अनुभव हुन्छ । हामीले जहिल्यै पनि विद्यार्थीले जानेको भाषामा सिकाए उसले कुरा त बुझ्छ र त्यो मस्तिष्कसम्म पनि जान्छ तर उसकै मातृभाषामा सिकाए उसको दिलसम्म पुग्छ र ऊ कहिल्यै भुल्दैन । तसर्थ विद्यार्थीकै भाका र लयमा शिक्षकले आफूलाई ढाल्न सक्नुपर्छ ।

अर्कातिर बच्चालाई खेलौना नदिए क्षणभर रुन्छ तर संस्कार नदिए जीवनभर रुन्छ । तसर्थ हामीले बच्चालाई पहिले संस्कार दिनुपर्छ । त्यो हामीबाटै बच्चाले अनुकरण गर्ने गर्दछ । तसर्थ घरपरिवारमा अभिभावक र विद्यालयमा शिक्षक संस्कारयुक्त हुनु जरूरी छ । हामी किताबभन्दा बाहिर निक्लन हिच्किचाउँछौं । किताब त सिकाउने एक माध्यम हो, त्यो कहिल्यै पनि पर्याप्त हुँदैन । बाँड्ने कुरा सञ्चित गरेर आफूसँग मात्र राख्नु किमार्थ उचित होइन किनभने ज्ञान बाँडे बरू बढ्दै जान्छ तर कहिल्यै घट्दैन ।

विद्यार्थीहरूलाई होस्सहितका जोसिलो हुन प्रेरित गर्दै भन्थे– नानीबाबु हो ! म तिमीहरूकै साथमा हुन्छु, टाढा हुन्न । तिमीहरू अरूको खुशी लेख्ने पेन्सिल बन्न नसकौला तर दुःख मेट्ने इरेजर अवश्य बन्न सक्छौ । मान्छेले जीवनमा अनेकौं समस्या पनि भोग्नुपर्छ, त्यसलाई छिचोल्दा सफलता प्राप्त हुन्छ, सफलताले आनन्दै आनन्द अनुभूत गराउँछ । यसका लागि एउटै लक्ष्य, त्यसकै ज्ञान, त्यसमै मेहनत र त्यही प्राप्त गर्न दृढ सङ्कल्पित रह्यौ भने कहिल्यै असफल हुनुपर्दैन ।

सर्वप्रथम लेखपढमा दृढ सङ्कल्पित हुन्छु भन्ने अठोट राख । असल सुरुआतले नै आधा काम समाप्त हुन्छ । शिक्षा आर्जन चानचुने कुरा होइन किनभने यसको जरो तितो हुन्छ तर फल चाहिँ मीठो हुन्छ । हडबड गरिहाल्नु हुन्न । प्रतिफल हात परेन भनेर डराउनुहुन्न किनभने डर खराब कर्मले उत्पन्न हुने दर्द हो । डरलाई जित्ने व्यक्ति मात्र समस्याबाट मुक्त हुन्छ । डरलाई पालेर राख्नेले कहिल्यै प्रगति गर्दैन ।

अँध्यारो मुहार लगाएका विद्यार्थी भेटे उहाँको कथन हुन्थ्यो– तिम्रो अनुहारमा नाचिरहने मुस्कान जीवनको उपहार हो, त्यसलाई आँसुले पखाल्ने र क्रोधले मेट्ने काम बन्दै नगर । बरू मुस्कानलाई सधैं–सधैं अनुहारमै नाच्न देऊ किनभने त्यसको घर मान्छेको अनुहार नै हो । अर्कातिर हामी एक्लाएक्लै जन्म्यौं, एक्लाएक्लै मर्छौं पनि । तसर्थ, आफ्नो भाग्य पनि आफैं लेख्नुपर्छ, अरूलाई लेख्न दिनुहुन्न । निराश हुनु भनेको आफ्नो कर्ममा आफैंले अविश्वास गर्नु हो । विश्वासले मात्रै सफलताको स्वाद दिलाउँछ ।

उनी अगाडि थप्थे– मान्छेले कहिल्यै पनि अहङ्कारले शिर उच्च पार्ने धृष्टता गर्नुहुन्न, नोबेल पुरस्कार विजेता पनि शिर झुकाएरै सम्मानित हुन्छन् । नम्रता नै मानिसको पहिलो परिचय हो । हाम्रो बोलीले नै धेरै जसो समस्या जन्माउने र समाधान गर्ने गर्दछ । के भनेर भन्दा पनि कसरी भनेर समस्या पैदा भएको हो । नम्रतापूर्वक भनिएको कटु पनि गुलियो मानिन्छ । मान्छेको दिलमा सहजै बस्छ । त्यसलाई सम्मान गर्न जो पनि तत्पर रहन्छन् । राम्रो कुरा कटु पाराले भने संदेहजनक हुन्छ । सन्देहमा विश्वासको बास हुन्न । विनाविश्वास जगत् चल्दैन ।

बदला लिएर हैन आफूलाई बदलेर समस्याको समाधान हुन्छ । झैं–झगडाले सम्बन्ध टुटाउनुको साटो सम्बन्ध बढाएर झगडालुलाई जुटाउनु ठूलो कुरा हो । आफूसँगकै वस्तुमा सन्तोष गर्ने नै सबैभन्दा धनी हुन्छ । अरूको कमजोरीलाई हँसीमजाकमा बदल्नुहुन्न किनभने सबैसँग कमजोरी रहन्छ र अरूसँग पनि हँसिमजाक गर्ने सामर्थ्य हुन्छ । जीवन प्रतियोगिता नभई यात्रा हो, यसलाई आफ्नै लय र सूरमा हिँड्न दिनुपर्छ । नकारात्मक विचारले सकारात्मक जीवन जिउनै सकिन्न, अतः तुरुन्तै नकारलाई सकारमा परिणत गर्नु आवश्यक छ । क्रोधले क्रोध काबुमा आउँदैन विपत्ति मात्रै आउँछ ।

४. र, अन्त्यमा…

श्री जनता माध्यमिक विद्यालयमा भक्तबहादुर राई, चन्द्रनारायण साह र शिवनन्दन यादवको अवकासपश्चात् हाल साधारण धारतर्फ माध्यमिक तह (कक्षा ९ र १०) मा नवनियुक्त प्रधानाध्यापक सुरेन्द्र सिंह, सहायक प्रधानाध्यापक रामेश्वर कामती, प्राविधिक धार संयोजक वीरेन्द्र यादव, अतिरिक्त क्रियाकलाप संयोजक राजकुमार साह, नन्दलाल आचार्य, रामनारायण साह र आईटी अफिसर पदमा सरोज कुमार यादव कार्यरत रहेका छन् ।

त्यसैगरी आधारभूत तहको कक्षा आठसम्ममा चन्देश्वर साह, जनक साह, शिवचन्द्र सिंह, वलराम यादव, शशिकुमार साह, शुशीला श्रेष्ठ, तुलसा काफ्ले र नरेश पाल कार्यरत छन् । आधारभूत तहको कक्षा पाँचसम्ममा ज्योति सिंह, गौरी यादव, विमला झा, लोचन साह, सुमित्रा योञ्जन र बालकुमारी दाहालले शिक्षण गरिरहेका छन् । विद्यालय कर्मचारीमा रामेश्वर साह, सहदेव साह र हरिकिशोर कामती साथै बालविकास शिक्षकमा सम्झना यादव काम गरिरहेका छन् । सबै शिक्षकमा उच्च तहको ज्ञान छ र माथिल्ला कक्षामा पढाएको अनुभव छ ।

यी सबै प्रशासक, शिक्षक र कर्मचारीलाई सम्वोधनका क्रममा भक्तबहादुर राईले पटक पटक हात जोडेर भने– “सबैलाई विनम्रताका साथ भन्दछु, मैले शिक्षक र प्रशासकको हैसियतले विद्यालयका लागि राम्रो जे जति गरें, त्यसको प्रेरणास्रोत तपाईंहरू नै हुनुहुन्छ । तपाईंहरू सबैको साथ र सहयोगले मात्र संभव भएको हो । नराम्राका लागि मस्वयम् जिम्मेवार छु र कसैको मन दुख्ने काम भएको रहेछ भने क्षमा चाहन्छु ।”

उनले विगत कोट्यादै भने– एक पटक कक्षा ५ को विद्यार्थीले थर्सडेको स्पेलिङ गलत लेखेको ठानेर कान पक्रेर उठबस गर्न लगाएँ । उसले ठीक छ त सर भनेर किताब ल्याएर देखाउँदा लज्जित भएँ ।

अर्को घटना सुनाउन समेत भ्याए– २०३७ सालमा गणित कक्षा अवलोकनमा विद्यालय निरीक्षक पढाइरहेको कक्षामा प्रवेश गर्दा म आफैं नर्भस भएँछु । निरीक्षकको प्रश्नको उत्तर जानेर पनि भन्न सकिनँ । म अलमलमा परेको देखेर विद्यार्थीहरूले नै सरले त हामीलाई यसरी पढाउनुभएको छ भनेर जवाफ फर्काई दिए । निरीक्षक सन्तुष्ट भएर फर्किए ।

यी दुबै घटनाक्रमबाट उनले विद्यार्थीहरूलाई जान्दैनन् भनेर कम नआक्न आग्रह गरे । आफूले पढाएरै जीवन र जगत् हेर्न र बुझ्न सकेको अनुभव बाँडे । वास्तवमा हामी कक्षामा एउटा विषयमा पारंगत भएर पस्छौं तर विद्यार्थीहरू सबै विषयको जानकारी हासिल गरेर बस्छन् । उनीहरू समूहमा मिलेर जस्तोसुकै समस्या समाधानमा अग्रसर हुन सक्छन् । खोजयात्रामा निस्कनु उनीहरूको धर्म हुन जान्छ । शिक्षकको भने विद्यार्थीहरूलाई सिकाइको खोजयात्रामा निस्कन प्रेरित गर्ने, सहयोग पु¥याउने र आवश्यक परे पृष्ठपोषण दिने काम मात्र हुन्छ भन्दा अतिशयोक्ति गरेको नठहर्ला ।

(लेखक आचार्य श्री जनता माध्यमिक विद्यालय, गोलबजार– ४, सिरहामा शिक्षकका रूपमा कार्यरत छन्– सं.)

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर