NewsKoseli.Com

कथाः लैनो भैंसी

सौतेनी आमाले झर्किईहालिन्– ‘पर्दैन आउनु, आफ्नै आमाचैंले मिठो–मिठो खुवाउली नि त !

समय आफैंमा बलवान् हो कि उसको नियति कमजोर हो ! बुझ्नैै नसक्ने गरी जीवन नाटकीय रुपमा बदलियो । समय बदलियो या नियति, पत्तै नपाउने गरी रामको जिन्दगी बदलियो ।

सानैमा, नौ–दस वर्षको उमेरमा उनको जिन्दगीले खुशीलाई मैजारो गर्दै दुःखको अध्यायमा पलेंटी कस्यो । घरमा आमा र सौतेनी आमाबीच कंलह भैरहन्थ्यो । समाज नै खास्साको थियो उतिबेला । एउटी मात्रै श्रीमतीमा जीवन बिताउनेलाई त समाजले ‘पुरुष’ नै मान्दैनथ्यो । ‘पुरुष’ अर्थात् ‘मर्द’ हुनकै लागि दुई–चार वटी श्रीमती हुनुपर्दछ जस्तो थियो ।

समाज एकै मुखले भन्थ्यो– मर्दकी दुई–चार वटी श्रीमती हुन्छन् त ! ‘नामर्द’ नठहर्न पनि बहुविवाह गर्ने चलन नै थियो । रामका बा मात्र अपवाद हुने कुरै थिएन । उनका पनि दुईवटी पत्नी थिए ।

सौतेनी मम्मीले घरमा सधैं कच–कच गरिरहन्थिन्, स–साना निहुँमा पनि झगडा भैरहन्थ्यो । भनिन्थ्यो– आइमाई मानिसले गाँस बाँड्न सक्छन्, काख पनि बाँड्न सक्छन तर लोग्ने चाहिँ बाँड्न सक्दैनन् । तर, परिस्थितिले यहाँ लोग्ने बाँड्नुको विकल्प दिएको थिएन् । शायद, त्यही कारण पो थियो कि ! रामको घरमा सधैं एउटा स–सानो संघर्ष नै हुन्थ्यो ।

राणाकालले दीक्षित गरेको त्यो पुस्तामा अचम्मको दासता र सामन्ती प्रवृत्ति थियो । आफूभन्दा माथिकाका लागि हदै दर्जाको चाकडी र आफूभन्दा मुनिकाका लागि हदैसम्मको पेलाई । यी सब भोगेको रामलाई आफ्नो घरको यो दैनिकी स्वाभाविक नै लाग्दथ्यो ।

घरमा साँझको खाना खाइसकेपछि हुक्का तान्दै भोलि क–कसले, के–के काम गर्ने हो– अगेनाका छेउमा रहेको मटानबाट बाले अह्राउँथे । बाले भोलिको कार्यविभाजन नसुनाई कोही पनि सुत्न जाँदैनथे । बाको आदेशपछि हातमा एउटा दियालो लिँदै उनीहरु आ–आफ्नो ओछ्यानतर्फ लाग्थे । यो उनीहरुको एक प्रकारको शैली नै थियो ।

खाना खाइसकेपछि सधैं झैं रामका बा हुक्का तान्र्दै मटानमा बसेका थिए । भोलिको कार्यविभाजन सुन्न सबै प्रतीक्षारत थिए । आज कामको बाँडफाँड नितान्त भिन्नै भएकाले होला, रामका बा अलि गम्भीर मुद्रामा थिए ।

धेरैबेर गम खाएपछि रामका बाले मुख खोले– ‘भोलिदेखि जेठी र जेठीपट्टिका सन्तानले पल्लो घरमा छुट्टै पकाएर खाने । भएको खेत र बारी आधा–आधा गरिदिन्छु । लैनो भैंसी र गाई मसँग नै हुन्छ । हलगोरु जेठीपट्टी लानू, जेठाले जोत्दछ । गाई–वस्तु दुहुनो हुञ्जेल दिनकै एक माना दूध पठाइदिउँला । जेठाले दुबैतिरको खेत–बारी जोत्नू ।’

बाले बोलीसक्ने बित्तिकै रामकी आमाले भनिन्– ‘हिँड केटाकेटी हो पल्लो घरमा । तिमीहरुको बाउलाई हामी घाँडो भएछौं । उनकै कान्छी स्वास्नीसँग बसून् । चारवटा केटाकेटीसहित घर कसरी सम्हाल्दीरहिछे, हेरौं न त तमासा भनेर होला । म पनि त्यति कमजोर छैन, जति पाइँन् हेर्नुपर्ने हो, हेरे हुन्छ ।’

आमाले यसो भनीनसक्दै रामका आँखा रसाइसकेका थिए । ऊ सधैं बासँगै सुत्दथ्यो, बाको एक गाँस जुठो नखाईकन उसको पेट नै भरिँदैनथ्यो । शायद उसलाई धेरै कुराले भन्दा पनि उसको ओछ्यान र बाको जुठो चरेसको थालमा खान पाइँदैन कि भन्ने चिन्ता बढी थियो । ऊ सुँक्क–सुँक्क गर्दै रुन थाल्यो ।

बाले टाउको सुम्सुम्याउँदै भने– ‘नरो मोरा ! तेरी आमाहरु मिलेनन्, के गर्नु त मैले ? तँ सुत्न मसँगै आउनू, खाना खान पनि मैकहाँ आए पनि हुन्छ ।’

बाको बोली नसकिँदै रामकी सौतेनी आमाले झर्किईहालिन्– ‘पर्दैन आउनु । आफ्नै आमाचैंले मिठो–मिठो खुवाउली नि त ! हामीले खुवाएनौं भन्थी, हेरौं न कस्तो खुवाउँदी रैछ ?’

समयलाई के निष्ठुरी भन्नु ! आफ्नैहरु परायाजस्ता भएपछि । नौ वर्षको उमेरमा तीनवटा भाइ–बहिनी र एउटी आमाको ‘पुरुष–अभिभावक’ को फुली रामकै काँधमा आइपर्‍यो । फाटेको टोपीले आँशु पुछ्दै ऊ आफ्नो घरतिर हिँड्यो ।

उसले सबैभन्दा बढी माया गरेको मान्छे, उसका बा आज उसैलाई आफ्नै जन्मघरबाट निकाल्दै थिए । सबभन्दा नजिककका आफन्त एकाएक पराया भएका थिए । नौ वर्षको खाऊँ–खाऊँ, लाऊँ–लाऊँको बालउमेरमा एउटा ‘परिपक्व अभिभावक’ बन्नुपर्ने नियतिमा छ ऊ ।

रामको ‘नयाँ जीवन’ को पहिलो दिनको सुरुआत खासै नयाँ भएन । पुरानै दैनिकीमा बोझिलो उत्तरदायित्व । बाले दिएको खेत–बारीले पेटभरि खान पुग्दैनथ्यो । घरमा खाने मुख पाँच वटा थिए, तिनको पेट कसरी भर्ने भन्ने नयाँ चिन्तासहित अगाडि बढ्यो रामको ‘नयाँ जिन्दगी’ ।

धेरै दिन सोचेपछि एउटा लैनो भैंसी किन्ने र त्यसको दूधबाट खुवा बनाएर सहरमा बेच्न लैजाने निष्कर्ष रामले निकाल्यो । खुवाबाट आएको पैसाले खेत किन्ने र वर्षभरि सधैं भात खाने ‘उपाय’ उसले निकाल्यो ।

रामले आफ्नो योजना सबैभन्दा पहिले आमालाई सुनायो । आमाले समर्थन गर्दै प्रश्न गरिन्– ‘कुरो त ठीक छ । तर, भैंसी किन्ने पैसा चाहिँ कहाँबाट ल्याउछस् ?’

रामले भन्यो– ‘साहु काड्छु र भैंसी ल्याउँछु आमा । एक बेतको दूधले साहु तिर्छु, अर्को बेतको पैसाले खेत किन्छु ।’ छोराको योजना आमालाई मन पर्‍यो– ‘लौ ! गर्ने भए गर् न त, मैले त के भन्नु र बाबु !’

घर–सल्लाहपछि रामले सयकडा दुई प्रतिशतको ब्याजमा कागज गरेर साहुकहाँबाट दुई हजार रुपियाँ ऋण लियो । ऋण ल्याएपछि ऊ सिधै भैंसी किन्न हिँड्यो ।

पल्ला गाउँका लाहुरे बाको घरमा भर्खरै ब्याएको लैनो भैंसी छ भन्ने उसले थाहा पाएको थियो । लाहुरे बा फेरि मुग्लान हिँड्ने तर्खरमा भएकाले उनले दुई हजारमै भैंसी बेच्ने भए । लाहुरे बाले भने– ‘म मुग्लान नजाने भए मरे पनि यो भैंसी बेच्दैनथें । के गर्नु रामे, ल लैजा, राम्ररी पाल् ।’

‘हस्’ भन्दै रामले पनि मुन्टो हल्लायो । भैंसी घरको आँगनमा पुर्‍याएपछि उसले आँगनमै किलो ठोकेरी बाँध्यो । टोल र छरछिमेकी जम्मा भएर कुरा गर्न थाले । कसैले भैंसी राम्रो ल्याएछ भने । कसैले दूधालू रहेछ भने । कसैले सिङ समेत राम्रो रहेछ भने । सबैको मुखबाट भैंसीको प्रशंसा मात्र सुनिन्थ्यो ।

घरमा भैंसी ल्याएदेखि रामको दैनिक जीवन नै फेरियो । घाँस–पात गर्ने, भकारो सोहोर्ने, बिहान–बेलुका दूध दुहुने र खुवा बनाउने, हप्तामा एक पटक बजार गएर कुराउनी बेच्ने… । रामको दिनचर्या बदलियो, कामहरु थपिए ।

रामले अब मननै हिसाब निकाल्न थाल्यो– ‘एक वर्ष जतिमा साहुको ऋण तिर्छु । अर्को वर्षको कमाइले एउटा राम्रो धान आउने खेत किन्छु । त्यसपछिको साल ‘काली’ ले ‘पाडी’ पाइदिई भने त झन् राम्रो हुन्छ । त्यसको दुई वर्षपछि त दुई वटा लैना भैंसी हुन्छन् । साहुको ऋण तिरीसकेर एक वर्षमा खान पुग्ने खेत भयो भने त मलाई के चाहियो र ! त्यसपछि भाइ–बहिनी दुबैलाई पढ्न पठाउँछु ।’

रामले यस्तै–यस्तै खालका ‘सपना’ देख्न थाल्यो । परिश्रमी रामले देखेका यी सपनाहरु पनि जायज नै थिए । दुःख गरेसी त कसो सुख नपाइएला र ? राम आशावादी थियो– ‘अब हाम्रा पनि दुःखका दिन सकिनेछन् ।’

भैंसीले पनि राम्रै दूध दिँदै थियो । एक दिनको बाटो हिँडिसकेपछि ओहर–दोहर हुने बजार पुग्दा पनि राम बजारमा किनेर एक घुड्को पानी समेत खाँदैनथ्यो । उसको एउटै कुरा थियो– जसरी हुन्छ, पहिले साहुको ऋण तिरिदिने ।

रामको मेहनतले मात्र उसको दुःख सकिने रहेनछ । केही महिनापछि ‘काली’ ले राँगो खोजी । त्यसपछि क्रमशः दूध सुक्दै जानु स्वाभाविक नै भयो । अब ‘काली’ ब्याउँछे । हे भगवान् ! ‘काली’ ले पाडी पाओस् भनेर उसले बज्रबाराहीको ‘भाकल’ समेत गर्‍यो । ‘काली’ केवल ‘भैंसी’ मात्र थिइन, उसका निम्ति एउटा ‘मुक्तिदाता’ समेत थिई ।

रामले यतिबेला ‘काली’ भैंसीको सेवा आफ्ना सन्तातको जसरी नै गरेको थियो । ‘काली’ ब्याउने समय आयो । आजभोलि ऊ गोठमै ओछ्यान लगाएर सुत्न थालेको थियो; ‘काली’ को हेरचाह गर्न पनि सजिलो हुने अनि घरबाट ओहर–दोहर गर्नु पनि नपर्ने ।

पसिना बगाएर मात्र मुक्ति मिल्ने भए शायद सबै मजदुरहरु ‘मालिक’ भैसकेका हुन्थे । ‘काली’ ब्याउन सकिन । उसले पाडी फाल्नुपर्ने तर पाठेघर नै पो फाल्न थाली । भैंसीले पाठेघर नै फाल्न थालेपछि राम साह्रै आत्तिएर आमालाई बोलायो । गाउँमा पशु–चिकित्सक थिएनन् । आमाले आत्तिएर छरछिमेकी बोलाइन् । गाउँलेहरु आए । तर, गर्ने के ? पशु–चिकित्सक गाउँमा छैनन् ।

सबैले आ–आफूले जानेका कुरा गरे । कसैले देवी–देवताका ‘भाकल’ गरे, कसैले फुक्न थाले । कसैले भैंसी उठेपछि निको हुन्छ, भैसी उठाऊ भन्न थाले । रामले घाँस–कुँडो देखाएर ‘काली उठ्’ भन्यो । ‘काली’ ले रामको अनुहार हेरीरही तर उठ्न सकिन ।

गाउँलेहरुले भने– यो उठेन, यसलाई काठको गल् हालेर उठाऔं । गाउँलेले काठको गल् हालेर ‘काली’ लाई उठाए । तर, ‘काली’ उभिएर अडिन सकिन । केही बेरपछि बररर्र आँशु झार्दै ‘काली’ बसी । ‘काली’ बसी मात्र रहिन, अब सधैंका लागि नउठ्ने गरी बसी ।

‘काली’ सँगै रामको ‘सपना’ र ‘भविष्य’ समेत सँगै मर्‍यो । ‘पशुधन आफ्नो हुँदैन भन्थे, अब यो रामले कसरी ऋण तिर्ला ! अब नआत्ती मोरा, लेखेको हुन्छ– देखेको हुँदैन मोरा !’ गाउँलेले सम्झाउन खोेजे । राम डाँको छाडेर रुन थाल्यो, मानौं– उसकी जन्म दिने आमा बितिन् ।

अब के गर्ने ? रामको भविष्य त ‘काली’ सँगै सकियो । ‘काली’ मरेको महिनापछि घर–खेत साहुलाई छाडेर राम तराईतिर झर्‍यो । ‘बर्मा गए कर्मा सँगै’ भन्थे । तराई झरेको रामको कर्म फेरियो कि फेरिएन कुन्नि ?

प्रतिकृया दिनुहोस्

Google AdSense

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

Google AdSense

आजको विनिमय दर