newskoseli.Com

२ रूपैयाँको किताब किन्ने हो ? प्रज्ञा प्रतिष्ठान गैहाल्नोस् !

के तपाईं जम्मा २ रुपैयाँमा पुस्तक किनेर पढ्न चाहनुहुन्छ ? नेपाल प्रज्ञा प्रतिष्ठानले १ महिनादेखि आफ्नै परिसरमा आयोजना गरेको बृहत् पुस्तक प्रदर्शनीमा २ रूपैयाँ मूल्यमा ‘काव्यार्चना’ नामक कवितासङ्ग्रह बेचिरहेको देख्दा आश्चर्य नमान्नुहोला ।

प्रतिष्ठानले ४६ वर्ष अगाडि प्रकाशनमा ल्याएको उक्त सङ्ग्रहमा केदारमान व्यथीत, बालकृष्ण सम, माधवप्रसाद घिमिरे, भवानी भिक्षु, सूर्यविक्रम ज्ञवाली, लैनसिंह वाङ्देल, कृष्णचन्द्रसिंह प्रधान, चूडानाथ भट्टराय, धर्मराज थापा, पोषण पाण्डे, रत्नध्वज जोशी, विजय मल्ल र श्यामदास वैष्णवका कविता छन् । ती स्रष्टाले तत्कालीन राजसंस्थालगायतका विषय समेटेर काव्यात्मक शैलीमा रचना प्रस्तुत गरेको पाइन्छ ।

प्रतिष्ठानको ३३औं प्राज्ञसभाका अवसरमा भदौ १९ देखि सुरु भएर असोज १९ सम्म चल्ने प्रदर्शनीमा दर्शन, इतिहास, कथा, निबन्ध, कविता, ज्योतिष, गणित, धार्मिकलगायत विविध विधाका करिव ४ सय प्रकारका पुस्तक समावेश गरिएका छन् । प्रतिष्ठानले हालै प्रकाशनमा ल्याएको ‘प्रज्ञा अङ्ग्रेजी–नेपाली शब्दकोश’ १ हजार ४ सय रूपैयाँमा प्राप्त गर्न सकिन्छ । यो पुस्तक १ सय वटाभन्दा धेरै बिक्री भएको जानकारी प्रदर्शनीका संयोजक सुधीर ढुङ्गेलले दिए । बृहत् शब्दकोशमा रहेका शब्द र अर्थलाई अंग्रेजीमा अनुवाद गरिएको छ । २ रूपैयाँदेखि १ हजार ४ सय रूपैयाँसम्म मूल्यका पुस्तक प्रदर्शनीमा समावेश छन् ।

प्रतिष्ठानले ठूला साहित्यकारको स्मृति वा महत्त्वपूर्ण दिवस तथा समारोहको अवसर छोपेर पुस्तक प्रदर्शनी गर्ने गरेको छ । पुस्तकमा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था छ । विभिन्न पुस्तकमध्ये ‘सार्क मुलुकका महिला लेखिकाको कथा’, ‘षड्दर्शनसमुच्चय’, ‘प्रज्ञा नेपाली सन्दर्भ व्याकरण’, ‘सङ्क्षिप्त साहित्यिक शब्दकोश’, दर्शनावलीका भाग १ देखि ४ सम्मका पुस्तकका साथै महाकवि लक्ष्मीप्रसाद देवकोटाका विभिन्न कृति, राष्ट्रकवि माधवप्रसाद घिमिरेका कृति, बाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीका कृति आदि अधिकांश पाठकको रोजाइमा परेका पाइएको छ ।

पुराना कृतिको सङ्ग्रहलाई पाठकको मागअनुसार प्रदर्शनीमा राखिएको बताउँदै पठन संस्कृतिको विकास गर्न प्रदर्शनी महत्त्वपूर्ण हुने विचार लेखक विजयध्वज थापाले व्यक्त गरे । प्रतिष्ठानले लेखक तथा साहित्यकारका राम्रा कृतिलाई पछिल्लो समयमा अङ्ग्रेजीमा अनुवाद गरेर समेत बिक्रीका लागि राखेको छ । स्वदेशी तथा विदेशी ख्याति प्राप्त साहित्यकारका महत्त्वपूर्ण कृतिलाई अङ्ग्रेजी र नेपाली भाषामा अनुवाद गरेर देश–विदेशमा प्रवर्द्धन गर्ने नीति प्रतिष्ठानले लिएको छ ।

नेपाली, संस्कृत, अङ्ग्रेजी भाषाका पुराना र नयाँ पुस्तक प्रदर्शनीमा समावेश गरिएका कारण त्यसको अध्ययनमा अभिरुचि राख्ने विभिन्न उमेर समूहका पाठकले आफूलाई चाहिएको विषयवस्तुका पुस्तकबारे जानकारी लिने र खरिद गर्ने गरेको पाइएको छ । अहिलेसम्म करिव ६ लाख रूपैयाँको पुस्तक बिक्री भैसकेको प्रतिष्ठानले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर