
दसैंकै लागि भनेर नयाँ नोट छाप्न र साट्न कहिलेबाट थालियो होला ? यसको यकिन जवाफ सम्बन्धित निकाय नेपाल राष्ट्र बैंकसँग पनि छैन ।
राष्ट्र बैंक मात्रै होइन, अधिकांश समाजशास्त्री, संस्कृतिविद्, इतिहासविद् तथा सरोकारवाला पनि दसैंमा नयाँ नोट प्रयोग गर्ने प्रचलन कहिलेदेखि सुरु भएको हो भन्ने तिथिमिति भन्न सक्दैनन् । यद्यपि, नेपालमा नोटको प्रचलन सुरु भएदेखि नै दसैंमा नयाँ नोट प्रयोग गर्ने चलनचल्ती बसेको हुन सक्ने उनीहरू बताउँछन् ।
नेपालमा नोट छाप्न सुरु भएदेखि नै दसैंमा नयाँ नोट प्रयोग गर्ने प्रचलन सुरु भएको हुन सक्ने संस्कृतविद् सहप्राध्यापक डा. जगमान गुरुङ बताउँछन् । ‘त्यतिवबेला शासक तथा पहुँच भएकाहरूले नयाँ नोट प्रयोग गरे होलान्, त्यसपछि क्रमशः अरूले पनि प्रयोग गर्न थालेको हुन सक्छ,’ उनी भन्छन्– ‘अहिले दसैंमा नयाँ नोट साट्ने संस्कृति नै बनिसकेको छ ।’
दसैंमा नयाँ लुगा लगाउने, नयाँ खाने कुरा खाने, नयाँ वस्तुको खरिद तथा उपभोग गर्ने संस्कारसँगै नयाँ नोट प्रयोग गर्ने चलनको विकास भएको समाजशास्त्री टीकाराम गौतमले बताएको खबर शनिबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
नयाँ नोटमा छैन हस्ताक्षर र नम्बर !
नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर नभएको नोट बजारमा पुगेको छ । दसैंको बेलामा सामाखुशीको एक सहकारी संस्थाबाट लिइएका ५० रुपैयाँको नेटमा हस्ताक्षर र नम्बर नभएको फेला परेको हो ।
सहकारीका कर्जा अधिकृतले १ लाख २० हजार रुपैयाँ एक फाइनान्सबट निकलेका थिए, जसमध्ये ५० रुपैयाँको नोटमा नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर र नम्बर नभएको खबर शनिबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।