newskoseli.Com

दसैंका लागि म्याग्दीबाटै भित्र्याइए १७ हजार भेंडा–च्याङ्ग्रा

दसैंलाई लक्षित गरी म्याग्दीबाटै मात्र करिव १७ हजार भेंडा–च्याङ्ग्रा निकासी भएका छन् ।

मुस्ताङ, डोल्पा, मुगु, जुम्ला, जाजरकोट र तिब्बतबाट समेत महिनौं लगाएर ल्याइएका भेंडा–च्याङ्ग्रा म्याग्दी हुँदै निकासी गरिएका हुन् । दसैंलाई लक्षित गरी यस वर्ष १६ हजार ७ सय वटा भेंडा–च्याङ्ग्रा निकासी भएको जोमसोमस्थित भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र म्याग्दीका पशु चिकित्सक शिव भुसालले जानकारी दिए । उनका अनुसार, च्याङ्ग्रा १३ हजार ९ सय ८५ वटा र भेंडा २ हजार ७ सय १५ वटा निकासी भएका हुन् ।

म्याग्दी, बागलुङ, पर्वत, कास्की, चितवन, तनहुँ, स्याङ्जा, राजधानी काठमाडौंलगायतका ठाउँबाट जोमसोममै पुगेर व्यापारीले भेंडा–च्याङ्ग्रा खरिद गरेका छन् । खाद्य संस्थानले समेत ९ सय २५ वटा भेंडा–च्याङ्ग्रा खरिद गरी लगेको पशु चिकित्सक भुसालले बताए ।

उनका अनुसार, सबै भेंडा–च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी निरोगीताको प्रमाणपत्र जारी गरेर मात्रै निकासीका लागि अनुमति दिने गरिएको छ । मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायतका ठाउँका कृषकले समेत व्यावसायिक रुपमा भेंडा–च्याङ्ग्रा पालन गर्दै आएका छन् । मुस्ताङभित्र र अन्य जिल्लाबाट समेत ल्याइएका भेंडा–च्याङ्ग्रा निकासीबाट करिव ३५ करोड रूपैयाँ म्याग्दी भित्रिएको छ ।

जोमसोममा च्याङ्ग्रा प्रतिगोटा २० देखि २२ हजार र भेंडा प्रतिगोटा १७ देखि १९ हजार रूपैयाँसम्ममा खरिद–बिक्री भएका थिए । अघिल्ला वर्षको तुलनामा जोमसोममै भेंडा–च्याङ्ग्राको मूल्य महँगो भएका कारण बजारमा ल्याइएका भेंडा–च्याङ्ग्राको मूल्य बढेको व्यवसायी नरबहादुर थापाले बताए ।

हिमाली क्षेत्रको जडीबुटीयुक्त चरन क्षेत्रको घाँस खाएर हुर्किएका भेंडा–च्याङग्राको मासु स्वास्थ्यका लागि लाभदायी र खान समेत स्वादिलो हुने भएकाले दसैंमा लेकाली भेंडा–च्याङ्ग्राको माग अत्यधिक हुने गरेको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर