newskoseli.Com

रेणु दाहालको दावी : प्रचण्ड फेरि प्रधानमन्त्री !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की एक चर्चित युवानेतृ एवं भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अब फेरि तेस्रो पटक नेपालको प्रधानमन्त्री बन्ने दावी गरेकी छन् ।

बडादसैं– २०७५ को माहोलबीच बिहीबार (महानवमीका दिन) प्राइम टाइम्स टेलिभिजनद्वारा प्रशारित ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै मेयर दाहालले त्यस्तो दावी गरेकी हुन् ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सधैं प्रधानमन्त्री भैरहने नभएकाले अबको दुई वर्षपछि प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना प्रबल रहेको बताउँदै उनले भनिन्– ‘प्रधानमन्त्रीमा केपी शर्मा ओली अहिले न हुनुहुन्छ, भोलि, सधैं केपी शर्मा ओली नै प्रधानमन्त्री भैरहने भन्ने कहीं लेखिएको छैन नि ! त्यसपछि त प्रचण्ड प्रधानमन्त्री बन्न किन नसक्ने ?

‘आलोपालो प्रधानमन्त्रीबारे सहमति भएको हो ?’ ‘अबको दुई वर्षपछि प्रचण्ड प्रधानमन्त्री बन्ने हो ?’ धमलाका यी प्रश्नमा पनि मेयर रेणुले सकारात्मक नै जवाफ दिइन् ।’

‘प्रचण्ड प्रधानमन्त्री बन्न किन नसक्ने ?’ उनले प्रतिप्रश्न गरिन्– ‘प्रचण्ड प्रधानमन्त्री बन्ने पूरापूर सम्भावना छ, उहाँ गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री पनि हो, फेरि दोस्रो कार्यकाल पनि उहाँले प्रधानमन्त्रीका रुपमा चलाउनुभयो र उहाँ सफल प्रधानमन्त्री बन्नुभयो । छातीमा हात राखेर भनौं न प्रचण्डको नेपाली राजनीतिमा कत्तिको योगदान छ र भूमिका छ भनेर !’

मेयर दाहालले प्रधानमन्त्री ओली र उनी नेतृत्वको वर्तमान सरकार सफल भएको दाबी गरिन् । ‘उहाँ सफल हुनुहुन्छ र हुनैपर्छ,’ उनले भनिन्– ‘उहाँ (ओली) ले सक्नुहुन्छ, अहिल्यै सरकारको आलोचना गर्ने बेला भएको छैन, अझै केही समय धैर्य गरौं ।’

उनले भनिन्– ‘अहिले नै सरकार असफल भैसक्यो भन्ने बेला भएको छैन । जनताको धेरै ठूलो अपेक्षा छ, स्थिर सरकार बन्दै गर्दा सुरुआती अपेक्षाहरु धेरै छन् त्यसैले यति छिट्टै जनताको चाहनाअनुसार काम भएन भनेर मूल्यांकन गर्ने बेला भैसकेको छैन ।’

अझै पुगेन, अहिलेको जस्तो मौका फेरि–फेरि आइरहँदैन भन्ने बाहेक केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारप्रति अध्यक्ष प्रचण्डको खासै असन्तुष्टि नरहेको बताउँदै प्रचण्डपुत्री समेत रहेकी मेयर रेणुले भनिन्– ‘उहाँ (प्रचण्ड) पनि यो सरकारको एउटा अंग हुनुहुन्छ, यो सरकार सफल बनाउन र यसलाई अगाडि बढाउनका लागि उहाँको पनि केपी शर्मा ओली जत्तिकै भूमिका छ र हुनुपर्छ । यदि अहिलेको सरकार सफल भयो भने दुवै जनालार्इ जस जाने हो, यदि असफल भयो भने दुवै जना भागिदार हुनुपर्छ ।’

मेयर रेणु–ऋषि धमलाबीचको पूरा संवाद, हेर्नोस् भिडियोमा–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर