newskoseli.Com

बढ्यो सुनको भाऊ : ६ वर्ष यताकै उच्च…

दसैं आसपासदेखि सुनको मूल्य उकालो लागेको छ । निरन्तर बढिरहेको सुनको मूल्य स्थानीय बजारमा प्रतितोला ६० हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य ६ वर्षयताकै उच्च हो ।

यसअघि २०६९ भदौमा सुनको भाऊ ६३ हजार ३ सय रुपैयाँ पुगेको थियो । त्यसपश्चात मूल्य घटेर ४७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार २ वर्षअघि मूल्य बढेर ५८ हजार पुगे पनि पुनः ४८ हजार रुपैयाँमा झरेको थियो । त्यसपश्चात बढ्न थालेको सुनको भाऊ गत मंगलबार प्रतितोला ६० हजार रुपैयाँ पुगेको हो ।

‘केही दिनयता भाऊ निरन्तर बढिरहेको छ,’ उनले भने– ‘दसैंपश्चात सुनको भाऊ थप बढ्ने अनुमान छ ।’ शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा थप ४ डलरले सुनको भाऊ बढेको छ । ‘गत सोमबार प्रतिऔंस १२ सय २२.२० अमेरिकी डलरले कारोबार भएको सुनको भाऊ बढेर मंगलबार प्रतिऔंस १२ सय २६ डलर पुगेको छ,’ पूर्वअध्यक्ष शाक्यले भने– ‘सार्वजनिक बिदा भएकाले अब नयाँ मूल्य सोमबार मात्रै निर्धारण हुन्छ ।’

दसैंबीचमा प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । महासंघको तथ्याङ्कअनुसार एक महिनाको अवधिमा सुनको भाऊ प्रतितोला २ हजार रुपैयाँले बढेको छ । असोज १ मा सुन ५८ हजार रुपैयाँमा कारोबार भएकोमा अहिले ६० हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर