newskoseli.Com

यस्ता पनि अस्पताल : हृदयाघातको बिरामीलाई ग्यास्ट्रिकको औषधि !

दसैंको महाअष्टमीका दिन देब्रे छाती बेस्सरी दुखेपछि चाँगुनारायण नगरपालिका, बागिश्वरीका– ४४ वर्षीय रामकृष्ण गिरी उपचारका लागि भक्तपुर अस्पताल आइपुगे ।

बिदाका दिन ओपीडी सेवा बन्द हुने भएकाले आकस्मिक कक्षमा रहेका चिकित्सककहाँ उनले स्वास्थ्य परीक्षण गराए । स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकले ‘ग्यास्ट्रिकका कारणले देब्रे छाती दुखेको हो’ भन्दै ग्यास्ट्रिकको औषधि दिएर पठाइदिए । भोलिपल्टसम्म छाती दुख्न नछाडेपछि उनी मध्यपुर अस्पताल पुगे । ‘मुटुको सम्पूर्ण उपचार सेवा उपलब्ध छ’ भन्दै प्रचार गर्दै आएको यो अस्पतालले पनि र्इसीजी गरेर बिरामी बचाउनेतर्फ अत्यावश्यक उपचार नगरी सिधै गङ्गालाल अस्पतालमा रिफर गरिदियो । गङ्गालाल अस्पतालसम्म पुर्‍याइँदासम्म उनको निधन नै भइसक्यो ।

गिरीको निधन हृदयाघातकै कारण भएको पुष्टि गङ्गालाल अस्पतालले गर्‍यो । उपचारका लागि सुरुमा उनी पुगेको भक्तपुर अस्पतालका चिकित्सकको लापर्बाहीका कारण गिरीको ज्यानै गएको स्थानीय बासिन्दा बताउँछन् । पीडित परिवारले भने भक्तपुर अस्पतालले र्इसीजी गरेर गङ्गालाल अस्पताल लैजान सुझाव मात्रै दिएको भए पनि ज्यान बचाउन सकिनेमा चिकित्सकले बिरामीलाई गम्भीर रुपमा नलिँदा ज्यान गएको गुनासो गरेका छन् ।

हृदयाघातको लक्षण देखिँदादेखिँदै पनि अस्पतालमा भएको र्इसीजी सेवा उपलब्ध नगराई ग्यास्ट्रिक भनेर औषधि दिई पठाउनु चिकित्सकको चरम लापर्बाही भएको स्थानीयवासीको भनाइ छ । यस बारेमा अस्पतालका सुपरिटेन्डेन्ट डा. सुधार देवकोटासँग सम्पर्क गर्न खोज्दा उनी बिदामा भएको जानकारी अस्पतालका प्रशासन प्रमुख विश्व न्यौपानेले दिए ।

घटना गम्भीर र दुःखद भएको बताउँदै न्यौपानेले भने– ‘मेडिकल सुपरिटेन्डेन्ट बिदामा हुनुहन्छ, उहाँ आएपछि त्यस दिनको बिरामी कुन चिकित्सकले हेरेको हो, अस्पतालमा भएको र्इसीजी सेवा किन सञ्चालन नगरेको हो, छानबिन गरेर विभागीय कारबाही अगाडि बढाउँछौं ।’

सरकारबाट वार्षिक करोडौं बजेट आउने भक्तपुर अस्पताल र सरकारी तलब खाएर बस्ने यहाँका केही चिकित्सकको यस्तो लापर्बाहीको घटना यो नै पहिलो होइन । सरकारी अस्पतालका रुपमा रहेको भक्तपुर अस्पतालले विगतदेखि नै प्रसूतिदेखि विभिन्न रोगको उपचारमा लापर्बाही गर्दै आएपछि पछिल्लो समय यहाँ बिरामीको चाप समेत निकै घटेको छ ।

यस अस्पतालले आर्इसीयूबिना नै विभिन्न रोगको शल्यक्रिया गरेर अर्को लापर्बाही गर्दै आएको स्थानीयवासी बताउँछन् । आँखाअगाडि नै भक्तपुर अस्पताल रहे पनि यहाँका बासिन्दाले भने उपचार गराउन बिरामीलाई काठमाडौंका अस्पताल लैजाने गरेको दूधपाटीका रामप्रसाद श्रेष्ठले बताए ।

भक्तपुरका बासिन्दामा भक्तपुर अस्पतालको उपचार सेवाप्रति विश्वास टुट्दै गएकाले बिरामी सोझै काठमाडौं लैजाने गरेको श्रेष्ठले बताए । उनी भन्छन्– ‘भक्तपुर अस्पताल कहिल्यै नसुध्रिने भो, यहाँको लापर्बाही हेर्ने हो भने अनगिन्ती छन् ।’ ज्यान बचाउने अपेक्षा लिएर अस्पताल आउने बिरामीलाई बचाउन भक्तपुर अस्पताल गम्भीर नहुने गरेको स्थानीयवासीको गुनासो रहेको सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर