newskoseli.Com

सरकारसँग पैसाको छेलोखेलो !

गत आर्थिक वर्षको सुरुमा कर्जा उठाएर खर्च काम चलाएको सरकारसँग चालु आ.व. मा भने करिव ८० अर्ब रुपैयाँ बचत छ ।

उच्च दरको राजस्व असुली हुँदा तथा पुँजीगत खर्चमा आएको शिथिलताले सरकारको कोषमा ८० अर्ब रुपैयाँ बचत रहेको हो । गत आर्थिक वर्षको सुरुमा पैसा नहुँदा सरकारले साउनमै ७३ अर्ब ७८ करोड रुपैयाँ आन्तरिक ऋण उठाएर खर्च धानेको थियो ।

सुरुमै ऋण उठाएको सम्भवतः त्यो नै पहिलो पटक थियो । ‘राजस्व संकलन उच्च दरले भएको र अन्य माध्यमबाट पनि पैसा प्राप्त भएकाले अहिले सरकारसँग करिव ८० अर्ब रुपैयाँ बचत छ,’ अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगानाले भने– ‘तरलता पर्याप्त भएकाले अबका दिनमा खर्चमा जोड दिएर लक्ष्य अनुसारको आर्थिक वृद्धिदर हासिल गर्नु पर्नेछ ।’

सरकारले चालु आ.व. मा ८ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ । विभिन्न कोषको सहित अहिले सरकारी ढुकुटीमा करिव २ खर्ब २५ अर्ब रुपैयाँ भए पनि यो सबै रकम सरकारले खर्च गर्न पाउँदैन । यसमध्ये करिव ८० अर्ब रुपैयाँ सरकारले खर्च गर्न पाउँछ ।

चालु आर्थिक वर्षका तीन महिना (साउन–भदौ–असोज) मा सरकारको राजस्व असुली ४२ प्रतिशतभन्दा माथि छ । गत वर्षको सुरुका २ महिनामा यस्तो असुली १० प्रतिशत मात्र थियो ।

सरकारले राजस्वबाट मात्रै तीन महिनामा एक खर्ब ९८ अर्ब रुपैयाँ उठाएको छ । चालु बजेटले राखेको ३४ प्रतिशतको महत्त्वाकांक्षी लक्ष्यभन्दा पनि अहिले राजस्व बढी उठेको खबर बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर