लगातारको खडेरीले सुदूरपश्चिममा खाद्य सङ्कट हुने सङ्केत देखा परेको छ ।
धेरैजसो क्षेत्रमा किसानले हिउँदे बाली लगाउनै नपाएको र लगाएको ठाउँमा समेत यो वर्ष उत्पादनमा भारी गिरावट आएको क्षेत्रीय कृषि निर्देशनालय दिपायलले जनाएको छ ।
सुदूरपश्चिमका २१ नगरपालिका र ३२८ गाविसमध्ये २२३ गाविस बढी प्रभावित भएका क्षेत्रीय कृषि निर्देशनालयका कृषि प्रसारअधिकृत टेकबहादुर विष्टले जानकारी दिए ।
प्रभावित गाविसका एक लाख ३० हजार २०३ घरधुरी अत्यन्तै प्रभावित भएका छन् । ती परिवारको ५० हजार ७४ हेक्टर जमिनमा हिउँदेबालीको उत्पादन न्यून तथा रु एक अर्ब ४६ करोड बराबरको क्षति भएको छ ।
हिउँदेबाली अन्तर्गत गहुँ, मसुरो, तोरीलगायतका बालीमा क्षति भएको हो । यो वर्ष गहुँको उत्पादन सुदूरपश्चिमका पहाडी जिल्लामा निकै कम भएको कार्यालयले जनाएको छ ।
गत वर्ष तीन लाख १५ हजार ९८६ मेट्रिक टन गहुँ उत्पादन भएको थियो भने यस वर्ष दुई लाख ७१ हजार २१ मेट्रिक टन मात्रै गहुँ उत्पादन भएको कृषि प्रसारअधिकृत विष्टले बताए ।
“पहाडी क्षेत्रमा २४ देखि ५७ प्रतिशतले गहुँको उत्पादनमा कमी आएको छ” उहाँले भन्नुभयो । । हिउँदेबालीको उत्पादन कम भएसँगै पहाडी क्षेत्रमा यस वर्ष खाद्यान्न अभाव हुने बताइएको छ ।
लामो खडेरीका कारण हिउँदेबालीमा नोक्सानी हुँदा सुदूरपश्चिमका एक लाख ३० हजार बढी परिवार अर्थात २८ प्रतिशत प्रभावित भएका क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ ।
तीन लाख सात हजार १६५ हेक्टरमा खेती गरिएकोमा ५० हजार ७४ हेक्टरमा लगाइएको बालीमा नोक्सानी पुगेको बताइएको छ ।
निर्देशनालयका वरिष्ठ योजना अधिकृत पशुपति पोखरेलका अनुसार सुदूरपश्चिममा रु एक अर्ब ४६ करोड बराबरको खाद्यबालीमा क्षति पुगेको छ ।
सबैभन्दा बढी बैतडीमा १३ हजार २४१ हेक्टरमा लगाएको गहुँ तथा मुसुरोमा क्षति पुगेको छ । यस्तै डडेल्धुरमा सात हजार ४६० हेक्टरमा लगाइएको हिउँदेबालीमा क्षति पुगेको छ । पर्याप्त पानी नपर्दा कृषि उत्पादनमा कमी आएपछि सुदूरपश्चिमका पहाडी जिल्लामा खाद्य सङ्कट भएको हो ।
सुदूरपश्चिमको पहाडी सात वटा जिल्लामा ५४ प्रतिशतसम्म बालीमा नोक्सानी भएको छ । कैलाली र कञ्चनपुरबाहेक ती जिल्ला कृषिमा आत्मनिर्भर छैनन् ।
यस पटकको लामो खडेरीले रु दुई अर्ब बराबरको क्षति भएकाले पहाडी जिल्लामा चरम खाद्य सङ्कट निम्तिएको बताइएको छ ।