newskoseli.Com

१ अर्ब ८८ करोडको आर्इपीओले पाए बिक्री अनुमति

नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ८८ करोड रकम बराबरको साधारण शेयर (आर्इपीओ) बिक्रीका लागि अनुमति दिएको छ ।

बोर्डले आफ्नो पछिल्लो विवरण सार्वजनिक गर्दै ३ जलविद्युत् कम्पनी र १ लघुवित्त संस्थालाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको जनाएको हो । चालू आ.व. को हालसम्म २५ वटा सङ्गठित संस्थाले साधारण शेयर बिक्रीको अनुमतिका लागि बोर्डमा आवेदन दिएका छन् ।

साधारण शेयर बिक्रीको अनुमतिको प्रक्रियामा रहेकामध्ये १० सङ्गठित संस्थाको निवेदन प्रारम्भिक पुनरावलोकनको प्रक्रियामा रहेका छन् । २ संस्थालाई थप कागजात पेस गर्न सूचित गरिएको छ । प्रक्रियाका ४ लघुवित्त वित्तीय संस्थालाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को व्यवस्था बमोजिम हुने गरी साधारण शेयर निष्काशन गर्न सूचित गरिएको जानकारी बोर्डका प्रवक्ता नीरज गिरीले दिए ।

बोर्डका अनुसार १ संस्थाकोे विवरणपत्र अध्ययन गरी आवश्यक सुधार एवं संशोधन गर्न लेखेर पठाइएको छ भने यस अवधिमा ७ सङ्गठित संस्थाले बोर्डको राय–सुझाव बमोजिम विवरणपत्रमा आवश्यक संशोधन गरी जवाफ पेस गरेका छन् । त्यसरी प्राप्त जवाफको पुनरावलोकन गरी ३ संस्थालाई राय–सुझाव बमोजिम विवरणपत्रमा सुधार गरी पुनः पेस गर्न भनिएको बोर्डले जनाएको छ ।

आवेदन दिएकामध्ये साधारण शेयर बिक्रीका लागि आवेदन दिने गर्जाङ उपत्यका हाइड्रोपावर, लाफिङ बुद्ध पावर र युनिक हाइडेल कम्पनीलाई आवश्यक कागजात तथा प्रक्रिया पूरा गर्न बोर्डले भने पनि लामो समयसम्म ती संस्थाले कुनै प्रतिक्रिया दिएका छैनन् । चालू आ.व. को पहिलो त्रैमासमा ११ सङ्गठित संस्थाले साधारण शेयर बिक्री गर्न भन्दै निवेदन दिएका छन् ।

गत आ.व. को सोही अवधिमा १९ सङ्गठित संस्थाका निवेदन अनुमतिको प्रक्रियामा रहेका थिए । सोही अवधिमा २ सङ्गठित संस्थाले हकप्रद शेयर निष्काशन गर्न निवेदन दिएका थिए । गत आ.व. को सोही अवधिसम्ममा जम्मा ३१ सङ्गठित संस्थाको हकप्रद शेयर निष्काशन अनुमतिसम्बन्धी निवेदन प्रक्रियामा थिए । अधिकांश बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्‍याइसकेको देखिएकाले हकप्रद शेयर निष्काशनमा कमी आएको छ ।

प्रक्रियामा रहेकामध्ये यस अवधिमा ३ लघुवित्त वित्तीय संस्थालाई १६ करोड ९० लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्न अनुमति दिइएको बोर्डको भनाइ छ । हकप्रद शेयर बिक्री गर्न अनुमति माग गरेका ६ संस्थाको हकप्रद शेयर निष्काशनसम्बन्धी व्यवस्था तथा विवरण अध्ययन गरी आवश्यक सुधार गर्न पत्राचार गरिएको छ ।

हकप्रद निष्काशनको प्रक्रियामा रहेकामध्ये अपि पावर कम्पनीले हालसम्म अद्यावधिक विवरण पेस नगरेको बोर्डको भनाइ छ । गत आ.व. मा सोही अवधिमा जम्मा १४ कम्पनीलाई ५ अर्ब ९८ करोड रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्न बोर्डले अनुमति दिएको थियो । बोर्डले चालू आ.व. को ३ महिनामा २ सङ्गठित संस्थालाई ३ अर्ब ८३ करोड रूपैयाँ बराबरको ऋणपत्र सार्वजनिक निष्काशन गर्न अनुमति दिएको छ । गत आ.व. को सोही अवधिमा ऋणपत्र निष्काशन गर्न कुनै पनि सङ्गठित संस्थाले निवेदन पेस गरेका थिएनन् ।

त्यसैगरी, बोर्डले १७ सङ्गठित संस्थालाई ५ अर्ब ७६ करोड रुपैयाँ बराबरको बोनस शेयर दर्ता गर्न स्वीकृति दिएको छ । सार्वजनिक निष्काशन प्रक्रियालाई अनुमति दिने प्रक्रियालाई छिटोछरितो सम्पन्न गर्न बोर्डले ‘धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३’ तथा ‘धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४’ ले तोकेका विवरण तथा कागजात प्राप्त भएको मितिले ७ दिनभित्र निवेदन दिन र सो निवेदन प्राप्त भएको ५ दिनभित्र अनुमति दिने गरेको जानकारी प्रवक्ता गिरीले दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर