newskoseli.Com

१३ करोडको चिनी ४ महिनादेखि किन अड्कियो गोदाममै ?

चिनी आयातमा सङ्घीय सरकारले परिमाणात्मक बन्देज (कोटा सिस्टम) लगाइदिएपछि सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याएको करिव १३ करोड रूपैयाँ मूल्यको २ हजार ५ सय मेट्रिक टन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको ४ महिना भइसकेको छ ।

नेपालीहरूको महान् चाड दसैं–तिहार तथा छठ पर्वलाई लक्षित गरी कर्पोरेसनले पश्चिम बङ्गाल (भारत) को हल्दियास्थित रेणुका सुगर मिलबाट उक्त परिमाणको चिनी आयात गरेको थियो । तर, ढिलो गरी आएकाले सो चिनी ‘भन्सार पास’ हुन नसक्दा गोदाममै थन्किन पुगेको हो ।

‘भदौ ३१ सम्म भन्सार क्षेत्रमा आइपुगेको चिनी छाड्ने भनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पत्र पठाएको हो,’ सुख्खा बन्दरगाह भन्सार कार्यालयका अधिकृत धनबहादुर बरुवालले भने– ‘तर कर्पोरेसनको चिनी ढिलो गरी असोज ६ मा मात्रै आएकाले हालसम्म गोदममै थन्किएर रहेको छ ।’

३१ भदौ, २०७५ को मन्त्रिपरिषदको निर्णयलाई आधार मानी वाणिज्य विभागले चिनीको ‘जाँचपास’ नगर्न पत्राचार गरेकाले यस्तो स्थिति आएको सुख्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ । सुख्खा बन्दरगाहको गोदाममा राखिएको सो चिनी छाड्नेबारे विभागबाट हालसम्म कुनै पनि निर्देशन नआएकाले चिनी गोदाममै थन्किएको भन्सार अधिकृत बरुवालले बताए ।

यता कर्पोरेसनले भने सो चिनी आयात गर्न एलसी (प्रतीतपत्र) खोलेको थियो । आपूर्तिकर्ता रेणुका सुगर मिलले चिनी नेपाल पठाउन रेल्वे बुक गरेको भए पनि बुक गरेको रेल्वे जाम र चापका कारण १५ दिन ढिलो गरी सो चिनी सुख्खा बन्दरगाहमा आइपुगेकाले हालसम्म गोदाममै थन्किएको दावी गरेको छ । कर्पोरेसनका पर्सा प्रमुख अमोज लामिछानेले भने– ‘चिनी छुटाउने सम्बन्धमा केन्द्रीय कार्यालयसँग पत्राचार भइरहेको छ ।’ चिनी लामो समयसम्म बन्दरगाहको गोदाममै रहेकाले दैनिक करिव २ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने अवस्था सिर्जना भएको उनले बताए ।

चार महिनादेखि सो चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको हो । चिनी आयात गर्दा साविकमा १५ प्रतिशत भन्सार शुल्क रहेकामा सङ्घीय सरकारले त्यसलाई बढाएर ३० प्रतिशत पुर्‍याएको छ । सरकारले चिनीमा भन्सार बढाउँदा समेत भारतबाट चिनी आउने क्रम नरोकिएपछि सङ्घीय सरकारले भदौ ३१ देखि कोटा प्रणाली लगाएका कारण असोज १ देखि कुनै पनि भन्सार नाकाबाट चिनी नेपाल आएको छैन ।

चिनी आयातमा सरकारले रोक लगाएपछि यहाँका उपभोक्ताहरु प्रतिकेजी ७० रुपैयाँमा भारतीय चिनी किन्न बाध्य छन् । सुख्खा बन्दरगाहमा रोकिएको चिनी हालसम्म बजारमा आउन नसक्दा तस्करहरुले भारतबाट तस्करी गरी ल्याएको भारतीय चिनी महँगो दरमा खरिद गरी उपभोक्ताहरुले चाडपर्व मनाए ।

अघिल्लो आर्थिक वर्षमा सो नाकाबाट ६६ करोड ११ लाख रुपैयाँ भन्सार महसुल बुझाएर ३ अर्ब ६८ करोड रुपैयाँको ५ करोड ६१ लाख किलोग्राम चिनी आयात भएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर