
नबिल बैंक लिमिटेडले आफ्ना खतावालाहरुलाई विभिन्न १३ रोगको उपचारमा ३ लाख रुपैयाँ बराबरको बीमा सुविधा उपलब्ध गराउने भएको छ ।
यो सुविधा आइतबारैदेखि लागू भएको राजधानीमा आयोजित कार्यक्रममा जानकारी दिइयो । बैंकका तर्फबाट नायब महाप्रबन्धक रमेशप्रसाद लोहनी र मेटलाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख अधिकृत रामकुमार यादवले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यस योजनालाई बैंकले ‘नबिल केयर’ नाम दिएको छ ।
बैंकले २५ हजार रुपैयाँसम्मका व्यक्तिगत बचत खातावालालाई अर्बुद, हृदयाघात, मिर्गौला खराबी, कोमा, स्ट्रोक, मुटुको भल्भ सर्जरी, हेपाटाइसिस, एप्लास्टिक एनिमिया, गम्भीर कोरोनरी धमनी रोग, उच्च रक्तचाप, प्रमुख अङ्ग एवं बोनम्यारो प्रत्यारोपणजस्ता घातक रोगको उपचारार्थ ३ लाख रूपैयाँ बराबरको बीमा गरेको हो ।
ती रोगमध्ये कुनै पनि एक घातक रोग लागेका ग्राहकको निवेदनउपर निदान सहितको आवश्यक प्रमाण पूरा भएको अवस्थामा बीमा रकम तुरुन्त भुक्तानी हुनेछ । अन्य कारणले बचतकर्ताको निधन भएमा ७५ हजार रूपैयाँको बीमाङ्क रकम समेत सो योजनाले सुरक्षित गरेको छ ।
घातक रोग लागेर निधन भएमा ३ लाख ७५ हजार रूपैयाँ बरारको सुरक्षण हुनेछ । बैंकले सो आयोजना अन्तर्गत शनिबारसम्म २५ हजार रूपैयाँ वा सोभन्दा बढी मौज्दात रहेका आफ्ना सम्पूर्ण व्यक्तिगत बचत खातामा आबद्ध भएकाको बीमा गरिसकेको जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले दिएका छन् ।
व्यक्तिगत बचत खातावालाले नेपाली क्यालेन्डर बमोजिम आफ्नो खातामा कुनै पनि महिनाको पहिलो कार्यदिनबाट सो महिनाको मसमान्तसम्म तोकिएको मौज्दात कायम राखी योजनामा सामेल हुन सक्नेछन् । ती ग्राहकको हकमा घातक रोग बीमा र मृत्यु बीमा योजनामा सामेल भएको मितिबाट लागू हुने शाहको भनाइ छ ।
उक्त योजनामा १६ वर्षदेखि ६४ वर्षसम्मका नागरिक सहभागी हुन सक्छन् । पछिल्लो दिनमा अर्बुद, कलेजो, हृदयाघातजस्ता घातक रोग दिन–प्रतिदिन बढ्दो क्रममा रहेको र उपचार अत्यन्त महँगो रहेका कारण केही सहजताका लागि यस्तो योजना ल्याइएको प्रमुख कार्यकारी अधिकृत शाहले बताए ।
नबिल बैंकका हाल ५ लाख खातावाला छन्, तीमध्ये १६ देखि ६४ वर्षको उमेरसमूहका ग्राहकको सङ्ख्या ३ लाखभन्दा बढी छ । ती सबै खातावाला स्वास्थ्य बीमाको उक्त कार्यक्रममा समेटिएका छन् । बीमाका लागि आवश्यक पर्ने प्रिमियम बैंकले तिर्ने गरी व्यवस्था मिलाइएको छ । बैंकका ७४ शाखा सञ्जाल, १ सय १८ वटा एटीएम र १ हजार ५ सयभन्दा बढी नबिल रेमिट एजेन्टका साथ देशव्यापी सञ्जाल छ ।
स्वास्थ्य बीमालाई थप सहज बनाउने लक्ष्यका साथ उक्त योजना अगाडि सारिएको मेटलाइफका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले बताए । बीमा व्यवसायमा १ सय ५० वर्षको इतिहास रहेको मेटलाइफले नेपालमा कारोबार सुरु गरेको १७ वर्ष भएको जानकारी दिँदै दक्षिण एशियाभर नै स्वास्थ्य बीमालाई केन्द्रमा राखेर कार्यक्रम लागू गरिएको उनले उल्लेख गरे ।