newskoseli.Com

२० प्रतिशत घट्यो पेट्रोलियम पदार्थको बिक्री

विगतको तुलनामा पेट्रोलियम पदार्थको बिक्रीमा २० प्रतिशतले कमी आएको छ ।

लोडसेडिङ हटेको, उद्योगले पेट्रोलियम पदार्थ खरिद नगरेको र सीमा क्षेत्रबाट हुने पेट्रोलियम पदार्थको तस्करीमा कमी आएको हुँदा पेट्रोलियम पदार्थको बिक्रीमा कमी आएको नेपाल आयल निगम शाखा कार्यालय वीरगञ्जका प्रमुख जगदीशचन्द्र यादवले बताए ।

नेपाल र भारतमा पेट्रोलियम पदार्थको बिक्री मूल्यमा एकरुपता आएका कारण तस्करी नियन्त्रण भएको र नियमित विद्युत् आपूर्ति भएकाले पेट्रोलियम पदार्थको बिक्रीमा कमी आएको हो । भारतको बिहार र रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ लिन नेपाललाई आग्रह भैरहेको तर बिक्रीको कमीले आयातमा कमी आएको प्रमुख यादव बताउँछन् ।

डिजेल र पेट्रोलमा मात्र होइन, मट्टितेलको बिक्रीमा समेत कमी आएको छ । सो शाखाअन्तर्गत बारा, पर्सा र रौतहटका गरी १ सय १४ पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने पम्प छन् । हाल दैनिक पेट्रोल ६० हजार लिटर, डिजेल २ लाख ५० हजार लिटर र मट्टितेल १२ हजार लिटर हप्तामा रक्सौलबाट आयात गरी व्यवसायीलाई वितरण भइरहेको छ ।

एक महिना अघि ८६ हजार लिटरदेखि ९६ हजार लिटर पेट्रोल तथा ३ लाख ५० हजार लिटर डिजेल दैनिक आयात भइरहेको थियो । सो शाखामा भण्डारण गर्ने ट्याङ्की नभएकाले जसरी आयात गरिन्छ, त्यसरी नै पम्प र उद्योगीलाई वितरण गरिन्छ । पम्प व्यवसायीलाई पटक–पटक आग्रह गर्दा पनि बिक्री वितरण नभएको भन्दै कम मात्रामा डिजेल र पेट्रोल लिने गरेको उनले बताए ।

अहिले बिक्री नभएका कारण कारोबारमा कमी आएको बारा, सिमराका पम्प व्यवसायी राम दास बताउँछन् । उद्योगी–व्यवसायीले डिजेल खरिद कम गरेकाले पेट्रोलियम पदार्थको बिक्रीमा कमी आएको नेपाल आयल निगम, अमलेखगञ्ज डिपोका प्रमुख प्रदीप यादव बताउँछन् । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर