newskoseli.Com

पर्यटक बसमाथि बम आक्रमण : प्रहरीद्वारा मारिए ४० विद्रोही

शुक्रबार साँझ पर्यटक बसमाथि बम आक्रमण गर्ने शंकास्पद ४० जना विद्रोही इजिप्ट प्रहरीको कारबाहीमा शनिबार मारिएका छन् ।

बम आक्रमणमा ३ जना भियतनामी पर्यटक र १ जना इजिप्टका पथप्रदर्शकको ज्यान गएको थियो । बसमा यात्रारत अरु ११ जना भियतनामी पर्यटक र बसका चालक घाइते भएको प्रहरीले जनाएको छ ।

शंकास्पद स्थानहरुमा प्रहरीले छापा मारेको थियो । इजिप्टका पिरामिडहरु रहेको गीजा सहर पर्यटकहरुका लागि आकर्षक भ्रमणस्थल हो । गीजामा भएको प्रहरी कारबाहीमा ३० जना र उत्तरी सिनाईमा १० जना आतङ्ककारी मारिएको इजिप्टको गृह मन्त्रालयले जनाएको छ ।

आतङ्ककारीहरुले सरकारी निकायहरु, पर्यटकीय संस्थाहरु र चर्चमा आक्रमण गर्ने योजना बनाएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । ‘राष्ट्रिय सुरक्षा निकायहरुले आतङ्कवादी हमला हुने सूचना पाएका थिए, उनीहरुको मुख्य निशानामा पर्यटन, सशस्त्र बल, प्रहरी र इसाई समुदायका प्रार्थनास्थलहरु थिए’– विज्ञप्तिमा भनिएको छ ।

सुरक्षा स्रोतका अनुसार प्रहरीले शनिबार बिहानै छापा मारेको थियो । यद्यपि, बम आक्रमणको कसैले जिम्मेवारी लिएको छैन । पर्यटकमाथि लक्षित यो आक्रमण सन् २०१७ पछिको पहिलो ठूलो आक्रमण हो । पर्यटन व्यवसायी साइगोन टुरिस्टका अनुसार भियतनामी पर्यटकहरु साँझको खानाका लागि होटलतर्फ फर्कंदै गर्दा आक्रमणमा परेका थिए ।

जुलाई, २०१७ मा शंकास्पद जिहादीहरुले हुर्घादा भन्ने स्थानमा छुरा प्रहार गरी २ जना जर्मन पर्यटकको हत्या गरेका थिए । त्यस्तै, अक्टोबर, २०१५ मा पनि इस्लामिक स्टेट समूहसँग आबद्ध स्थानीय लडाकुको आक्रमणबाट सिनाई प्रायद्विपमा २ सय २४ यात्रुको ज्यान गएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर