newskoseli.Com

विद्रोही समूहबीच झडप, कम्तिमा १९ को मृत्यु, ३५ घाइते

उत्तरी सिरियामा दुई विद्रोही समूहबीच परस्परमा भएको झडपका क्रममा कम्तिमा १९ जनाको मृत्यु भएको सिरियामा जारी द्वन्द्वलाई निरीक्षण गरिरहेका मानवअधिकारीवादी संस्थाहरूले जनाएका छन् ।

सिरियाको पश्चिमी प्रान्त अलेप्पोको पश्चिमी भागमा अल कायदा आबद्ध हयात ताहरिर अल–शाम (एचटीएस) र सिरियाली विद्रोही समूह नुरेद्दिन अल–जिन्कीबीच झडप भएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ ।

सो झडपका क्रममा आफ्ना ५ लडाकु मारिएको एचटीएसले सोमबार पुष्टि गरेको छ । त्यसैगरी, सिरियाको उत्तरपश्चिम प्रान्त इदलिवमा विद्रोहीको अखडालक्षित भीषण आक्रमण सुरु गरिसकेको पनि एचटीएसले बताएको छ । बेलायतसँग आबद्ध अब्जरभेटरीका प्रमुख रमी अब्देल रहमानका अनुसार १२ जना एचटीएस र ५ जिन्की समूहका सदस्य मारिएका छन् । यस झडपमा परी २ जना सर्वसाधारण समेत मारिएको अब्जरभेटरीका प्रमुख रहमानले बताएका छन् । झडपमा ३५ जना घाइते भएको समेत उनले बताए ।

नुरेद्दिन अल–जिन्की विद्रोही समूह नेसनल लिबरेसन फ्रन्ट (एनएलएफ) को मुख्य खेलाडीका रुपमा रहेको छ । एनएलएफ टर्की आबद्ध विद्रोहीको संयुक्त गठबन्धन हो । एचटीएस र अन्य जिहादी समूहले इदलिब प्रान्तको आधाभन्दा बढी इलाकामा प्रभुत्व जमाएका छन् ।
सिरियाका राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै मार्च, २०११ मा सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो ।

सो युद्धमा हजारौं जिहादी र विदेशी शक्तिको सहभागिता रहँदै गयो । सन् २०११ देखि हालसम्म जारी यस युद्धमा ३ लाख ६० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । यस आन्दोलनका क्रममा सिरियाभित्रै र छिमेकी देशमा दसौं लाख व्यक्ति शरणार्थी बन्न बाध्य भएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर