लेखन भावनात्मक उदवेग मात्र होइन; सामाजिक, आर्थिक, राजनीतिक यथार्थता समेत हो । मार्क्सवादको मुख्य सार नै चेतनाको निर्धारण भौतिक उपस्थितिले गर्दछ भन्ने हो । जे–जति विश्वप्रशिद्ध रचनाहरु लेखिएका छन्, सबका सब नै आ–आफ्नै परिवेशसँग सम्बन्धित भएर नै लेखिएका हुन्छन् । आजको पुस्ताले संस्मरण लेख्दा हाम्रो भोगाइ लेख्दैन । आजकै दुःख, दर्द, हाँसो, खुशी र उन्माद लेख्ने गर्दछ ।
आजको पुस्ताको लेखकले बाँझो खेतबारीको कथा लेख्ला; लाहुरमा भाँडा माझेको कहानी नजुराएर काफिलाको परिबन्दको वृत्तान्त कहला । सान्नानीको बम्बै–कलकत्ताका कोठीको कहानी नजुराउला । अरबका शेखहरुका खुनी पञ्जाको रक्तरञ्जित कथा, आँसुको मसीले लेख्ला । अतीत मिठो होस् या नमिठो– सबैलाई मिठो लाग्दछ । आमाको काख, बाबाको अँगालो, दिदीको स्नेह, भाइबहिनीको तोतेबोली, गुरुको चड्कन, साथीभाइको ख्यालठट्टाजस्ता अतीतका भोगाइहरु फेरि दोहोरिँदैनन् । त्यसैले यी सबै सम्झनाहरु पुनः सम्झनामा ल्याउँदा पनि बहुतै आनन्ददायक लाग्दछन् । सम्झना, सबै सम्झनामा रहिरहँदैनन् । सनै–सनै अतीतहरु अतीत बन्दै जान्छन् र एक दिन नामेटै भएर हराउँछन् । नामेट हुनुभन्दा पहिले सम्झनाले कहीं न कहीं, कतै न कतै पिरोल्ने गर्दछ ।
हामी सबै पुनः एक पटक फर्केर बालापनमा जाने मौका पाउने हो भने के गर्दा हौं ? यदि मलाई सो अवसर प्राप्त हुँदो हो त सिधै कान्छाबाको मझेरीमा लुकीछिपी पस्ने थिएँ । मोही पार्न ठीक्क पारेको दहीको ठेकीमा हात घुसाउने थिएँ र जमेको तरको चाको कपाकप खाँदै बाहिरिने थिएँ । वाह ! त्यो बिछट्टको स्वादको बखान कसरी गर्नु ? पुराणका कृष्ण (कन्हैया) ले त्यही दहीको तर खाएर त होला, वृन्दावनका सोह्र सय गोपिनीहरुलाई नचाउन सकेको !
कहिले–कसो सम्झनाले पिरोल्छ पनि मान्छेलाई । यसको आफ्नै मनोवैज्ञानिक व्याख्या होला अथवा यो मनोविश्लेषणको कुरा पनि हुन सक्छ । मानिस जहिल्यै अतृप्त हुन्छ, किन ? भोलि टिपौंला भनेर साँचेको फल चराले बिहानै खाइदिन्छ, भोलि खेताला लगाउन ठीक्क पारेको खरबारीमा राति नै डढेलो लाग्न सक्छ । अधकल्चो निद्रामा फुरेको बेजोड कविता भोलिको दिन छँदैछ, बिहानै लेखूँला भनेर विस्मृतिको ख्याल नगर्दा, बिहान उठेर लेख्न बस्दा छेउटुप्पो नै आउँदैन, बिर्सिइएको हुन्छ । भोलि लाउँला, भोलि हेरौंला, भोलि गरौंला, भोलि भनौंला भन्दाभन्दै त्यो ‘भोलि’ कहिल्यै नआउन पनि सक्छ ।
मेरो एक जना ‘लँगौटिया यार’ कसैको प्रेममा भुतुक्कै भएछ । थोरै–धेरै संकेत उताबाट पनि पाएको कुरा गर्दथ्यो । नजिकिन अनेकौं बहाना बनाउँथे दुबै– अनेक कुरा गर्दथे, घरका, वनका, बाका, आमाका, भाइका, बहिनीका, छिमेकीका । मौका मिलेसम्म लामो समय गुजार्थे सँगै बसेर । तर, अन्तिमसम्म पनि एक–अर्काप्रति अगाध प्रेमिल आकर्षण रहँदारहँदै पनि प्रेमको बन्धनस्वरुप एक थुँगा गुलाफको फूल आदान–प्रदान गर्नै सकेनन् । लाजले, सर्मले र समाजिक परिवेशले सिर्जना गरेको संकोचका कारण ।
आज म सोच्छु– पक्कै पनि मेरो ‘लँगौटिया यार’ लाई अतितले बेजोड झस्काउँदो हो । अथवा, सो बेलाकी ती मित्रकी प्रियतमालाई पनि ‘कुटुमा कुटु’ मन अमिलो हुने गरी सम्झना आउँदो हो । खाना खाँदै गरेको श्रीमानको चेहरामा मेरो ‘यार’ को प्रतिबिम्ब खोज्दिहुन् कहिले–कसो । हुर्किरहेका छोरा–छोरीलाई कल्पनाको परिधि नाघेर लोग्नेको चेहराभन्दा पृथक् कल्पना गर्दिहुन् । थक्थकी लाग्दो हो– मनको कुनामा बसिसकेको मान्छेको हातमा जाबो एक थुँगा गुलाफको फूल पनि थमाउन नसकेकामा । लोग्नेको थालमा भात थप्दाथप्दै हात टक्क अडिँदा हुन् कहिलेकाहीं । सो बेला लोग्नेले कटाक्षा गर्दो हो– हैन, कसलाई सम्झँदै छ्यौ हँ, बटुकोमा दालै खन्याउन बिर्सेर ?
एकवर्षे गोठाले जीवनले मलाई कक्षा कोठामा प्रवेश गर्दा ‘मे आई कम इन् सर’ भन्न मात्र बिर्साएन, गुरु भेषबहादुर कुँवरबाट आजसम्म पनि झट्का दिइरहने हजार भोल्टको भकुराइको उपहार समेत दिलायो ।
बिर्सने लाख कोशिस गर्दा पनि कुनै–कुनै कुराहरु बारम्बार सम्झनामा आइरहन्छन् । ‘अब गाई–बाख्रा चराउनी हुम्, स्कुल जान्न’ भनेर एक वर्षसम्म च्वाङखोला, ढाँडा र रोलखोलामा गाईको पुच्छर समाएर गोठालो लागें । दाउरा–घाँस भने खुब काटें । एक पटक दाउरा बोक्न वन जाँदा कुहिएको डोकाको पिँध छिचोलेर बन्चरो झर्यो डोकाबाट । बन्चरोले काटेर पिँडुलामा लामो, ठूलो घाउ भयो । बालाई सधैंभरिको भ्याईनभ्याई । दबाई गराउन अस्पताल जान भ्याएनन् । गुरु टीकारामा पन्थीको घर नजिकैका एक जना सार्कीबाले मलाई डोकामा बोकेर तम्घास जिल्ला अस्पताल पुर्याए । कम्पाउन्डरले घाउमा नदुख्ने सुई लगाएर टाँका लगाइदिए । तर, अस्पताल भर्ना भएर अनुभव सँगाल्ने मेरो निकै पुरानो अभिलाषा चकनाचुर भयो, जब डल्ले सार्कीबाले डोकामै बोकेर बाख्रेछेडाको उकालो चढाउँदै घर पुर्याए । भर्ना भएर अस्पतालको बेडमा सुत्ने, त्यहींकै थालमा खाने, स्लाइन पानीको सुई नाडीको नसामा घुसाउने मेरो कयौं दिनको सपना चकनाचुर भयो । त्यो सम्झनाले आजसम्म पनि मलाई पिरोल्छ । यद्यपि जीवन–मरणको दोसाँधमा गुवाहाटीको खेत्रीबाडी मिसन अस्पतालमा म हप्तादिन बसेको छु । तर पनि बालसुलभ मनोकांक्षा पूरा नभएकामा आज पनि थक्थकी लागिरहने गर्दछ ।
‘अब स्कुल पढ्दिनँ, गाई–बाख्रा चराउनी हुम्’ भन्ने मेरो आत्मघाती निर्णयलाई बा–आमाले किन तत्कालै प्रतिवाद गरेनन् ? खै, किन गरेनन् । बा–आमा जीवित रहेसम्म सोधिनँ । सोधेर पनि हुनेवाला केही थिएन त्यसैले सोधिनँ । तर, मेरो त्यस आत्मघाती निर्णयको अप्रिय घटनाले निम्त्याएको दुष्परिमाणले आजसम्म पनि सताउन छाडेको छैन । भयो के भने, सँगैका साथीहरु एक कक्षा माथि उक्लिसकेपछि अर्को वर्ष मात्र बाले मलाई पुनः स्कुल भर्ना गरिदिए । भर्ना भईओरी कक्षाकोठामा प्रवेश गर्दा ‘मे आई कम इन् सर’ भनेर अनुमति लिनुपर्ने प्रक्रियालाई मेरो एक वर्षको गोठाले बुद्धिले खाइदिएछ । गुरु भेषबहादुर कुँवर कक्षा शिक्षक हुनुहुन्थ्यो, ऊ दिन ढुङ्गाको रेसुङ्गा प्राथमिक विद्यालयको कक्षा तीनमा । उहाँले पढाइरहनु भएको थियो, म कक्षामा प्रवेश गर्दा । म सरासर गएर गुन्द्रीमा बसें ।
बस्, के चाहियो र भेषबहादुर सरलाई ! उहाँको रिसको पाराले आकाश छोएछ । अनेक कथा–कहानी जुराउँदै मलाई भकुर्न थाल्नुभयो । पूरा कथा बिर्सें तर उहाँले सातगेडीको कथा भन्नुभएको थियो मलाई बेस्मारी रामधुलाई गर्दा । भकुर्न पनि यति भकुर्नुभयो कि म झन्डै–झन्डै मुर्छित् अवस्थामै पुगेको थिएँ । कति वर्षको पो थिएँ र सो बेला ! तीन कक्षाको कुरा हो, छ वर्षमा स्कुल भर्ना भएको भए पनि नौ वर्षको हुँदो हुँ । अथवा, कक्षा हापेको हुनाले दस टेकेको हुँदो हुँ । पछि महेन्द्र हाईस्कूलमा आएपछि पदम सर र थुम्काका मास्टर प्रेमबहादुर थापा सरको लौराको चुटाइ बाहेक सम्झनामा अरु चुटाइ छैनन् । पदम सर र थुम्काका मास्टरको चुटाइ सामूहिक हुन्थ्यो । जाडोमा घाम ताप्न चौरमा निस्केको निहुँमा वा क्लासमा हल्ला गरेको निहुँमा । यसैले उहाँहरुको चुटाइ आज पनि मिठासपूर्ण नै लाग्दछ ।
रेसुङ्गा प्राथमिक विद्यालयका धेरै कुरा बिर्सें । ‘होला बरै सान्नानी’ भन्ने झ्याउरे भाकामा पहिलो पटक शुक्रबारे साहित्यिक कार्यक्रममा गीत गाएको सम्झना छ । मेरो साहित्य–लेखनको प्रस्थानविन्दु थियो त्यो । कक्षा पाँचमा पढ्दा सहपाठी जयकालीसँग भनाभन हुँदा स्कुलको अफिस पछाडि रहेको तामाखानीको खाल्डोमा धकेलिदिएको घुर्मैलो सम्झना छ । त्यो खाल्डे धकेलाइको प्रतिफल पनि गतिलै प्राप्त गरेको थिएँ । घटनापछि आधा दिनका लागि हेडसर चिरञ्जीवी मरासिनीले ‘रेस्टिकेट’ को फैसला सुनाएको भने राम्ररी याद छ । यद्यपि गल्ती मेरो मात्र थिएन । स्कुलमा बच्चाबच्चीको बीचमा झगडा त भई नै हाल्छ । झगडा हात हालाहालको स्थितिमा पुग्नु भनेको दुवैको रिसको आवेगको परिमाण थियो शायद । नजिकै खाल्डो थियो, हात हालाहालका क्रममा खाल्डोमा परिन् जयकाली । सजाय भने मैले मात्र पाएँ । तर, यस सम्झनाले मलाई त्यति मर्माहत पार्दैन, जति गुरु भेषबहादुर कुँवरको भकुराइले पार्ने गर्दछ ।
जीवनका यावत् घटनाहरु सम्झनालायक हुँदैनन् र हुनु हुँदैन पनि । तर, गुरु भेषबहादुर कुँवर सरको भकुराइ कहिल्यै बिर्सन नसकूँला किनकि त्यो भकुराइ बडो गज्जबको थियो र अन्तिम पनि । अन्तिम भकुराइ यसकारणले कि त्यस पछिका दिनहरुमा बिर्सनलायक भकुराइको सामना गर्नु परेको छैन ।
आफ्नै परिवेशले मलाई गाई चराउने गोठालाको बुद्घि सिकायो । मभन्दा केही जेठा, समबयका तथा कान्छा केटाकेटीहरु पनि स्कुल नगएको मैले देखेको थिएँ । मेरी दिदी मभन्दा तीन वर्ष जेठी हुन् । माहिली बहिनी तीन वर्ष कान्छी हुन् । उनीहरु पनि त स्कुल गएका थिएनन् । पल्लो टोलका परियार मामाहरुका छोरा–छोरीहरु पनि स्कुल जाँदैनथे । हाम्रै टोलमा पनि सबै केटाकेटी कहाँ स्कुल भर्ना भएका थिए र ! स्कुल जाने भनेको म र गणेशदाइ मात्र न हो । त्यसैले पनि ममा सोचको विकास भयो– नपढे पनि त हुँदो रहेछ ! यिनै परिवेशका कारण ममा स्कुल नजाने ‘चेतना’ को निर्माणमा सहयोग पुग्यो ।
परिस्थिति, परिवेश र वस्तुस्थितिले जब भौतिक रुप लिन्छ, त्यसै अनुरुप मानिसको चेतनाको निर्माण हुन्छ । भयो पनि त्यस्तै । म गोठालो बनें एक वर्षसम्म । एउटा माली गाईको पुच्छर निमोठ्दै साउनेको जंगलसम्म पुगें । दाउरा काटें । घाँस काटें । हल्लिएर एक वर्ष बिताएँ । बन्चरोले पिँडुला कटाएर जीवनभरलाई दागी बनाएँ । अस्पताल भर्ना भएर बिरामीले खाने खानाको स्वाद लिने रहर भने पूरा गर्न सकिनँ । अर्को वर्ष बाले गाई बिक्री गरेर ब्याउनी भैंसी ल्याए, भकारोमा बाँध्न । बाख्राको पनि दिशापासा भयो । मेरो वन जाने मेसो हरायो । लाहुर जाने उमेर भएको थिएन । यिनै परिवोशमा बाले फेरि स्कुल भर्ना गरिदिए, अघिल्लो वर्ष छाडेको कक्षा तीनमै ।
एकवर्षे गोठालो जीवनले जीवनको धार नै बदलिदियो । सँगैका साथीहरु मभन्दा एक कक्षा अगाडि भए । छ हो या सात कक्षामा पढ्दा बुढानीलकण्ठ स्कुलबाट डोर आयो– विद्यार्थी छनोट गर्न । एक वर्ष उमेर पाको भएका कारण छनोट प्रक्रियामा भाग लिन पाइनँ । कक्षा आठ पढ्दापढ्दै गण्डकी बोर्डिङका लागि छनोट भएँ । उहाँ गएर फेरि आठ कक्षामै पढ्नुपर्यो । फेरि एक वर्ष गुमनाम भैयो । यति मात्र भएन, कलेज पढ्दापढ्दै राजनीतिले छोयो, छोएन मात्रै; खर्लप्पै खायो, झोले नै बनायो । लुकीलुकी रात–दिन गाउँवस्ती चहार्ने बनायो । र, अन्त्यमा आसामका जंगलहरुमा भौंतारिने बनायो ।
एकवर्षे गोठाले जीवनले मलाई कक्षा कोठामा प्रवेश गर्दा ‘मे आई कम इन् सर’ भन्न मात्र बिर्साएन, गुरु भेषबहादुर कुँवरबाट आजसम्म पनि झट्का दिइरहने हजार भोल्टको भकुराइको उपहार समेत दिलायो । सोच्छु– कठै ! स्कुल नछाडेको भए हुने । त्यसो हुँदो हो त जयकालीसँग सँगै पढ्नुपर्ने पनि थिएन । सँगै नपढेपछि झगडा हुने कुरै भएन । झगडा नभएपछि रेस्टिकेट हुनु नै पर्ने थिएन । बुढानीलकण्ठको विद्यार्थी छनोटमा महेन्द्र हाईस्कुल आउँदा मेरो उमेर एक वर्ष बढी हुने पनि थिएन । पछि गण्डकी बोर्डिङ जाने नौवत नै आउने थिएन । महेन्द्र हाईस्कुलबाट दुई वर्ष पहिले नै एसएलसी पास हुँदो हुँ । कलेज पढ्न नसके मास्टरी गर्दो हुँ किनकि त्यस बेला प्रवेशिका पास भयो कि मास्टरी गर्न पाइहालिन्थ्यो ।
सम्झना–बिर्सनाका यी अनमोल रत्नहरु संयोजन भएर बसेका छन्, मनको कुनामा । शायद यिनले जीवनपर्यन्त पिछा छाड्ने छैनन् ।