newskoseli.Com

‘सर्वसाधारणको ठाउँ नओगटियोस्’ भन्दै वार्डमा सरे डा. केसी : भने– ‘प्रधानमन्त्री ओलीले बेइमानी गरे’

तीन दिनयता आर्इसीयूमा उपचारत डा. गोविन्द केसी सर्वसाधारणको ठाउँ नओगट्ने भन्दै वार्डमा सरेका छन् ।

वार्डमा सारिएलगत्तै सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. केसीले आफ्नो माग अक्षरशः पूरा नभएसम्म अनसन नतोड्ने बताए । प्रधानमन्त्री केपी ओली र डा. केसी पक्षबीच विगतमा सहमति भएकोमा प्रधानमन्त्रीले त्यसको कार्यान्वयनमा चासो नदिएको भन्दै प्रधानमन्त्री ओलीले बेइमानी गरेको जिकिर गरे ।

द्वन्द्वकालमा मानवताविरुद्ध जघन्य अपराध गर्नेलाई अन्तर्राष्ट्रिय कानुनअनुसार सजाय हुनुपर्ने भन्दै आफूले त्यसका लागि लडिरहने समेत बताउँदै उनले भने– ‘मेरा मागहरु जबसम्म पूरा हुँदैनन् तबसम्म सत्याग्रह जारी नै रहन्छ ।’

सबै क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य शिक्षा प्रदान गर्नका लागि र देशभर स्वास्थ्य सेवा प्रदान गर्नका लागि अस्पताल सञ्चालन गर्नुपर्ने, विपन्न नागरिकले पनि योग्यताको आधारमा डाक्टर, नर्सलगायत स्वास्थ्यसम्बन्धी अध्ययन गर्न पाउनुपर्ने मागका साथ बारम्बार लड्दा र सरकारसँग सहमति हुँदा समेत कार्यान्वयन नभएकाले आफू सोह्रौं अनसन बस्न बाध्य भएको उनले दावी गरे । नेकपाकै सरकारसँग सम्झौता भएका मागहरुलाई लत्याएर संसदको शिक्षा तथा स्वास्थ्य समितिले बहुमतका साथ ‘जनतामारा र विद्यार्थीमारा तथा माफिया पोस्ने’ विधेयक पारित गरेको आरोप उनले लगाए ।

केसीले सरकारप्रति आक्रोश पोख्दै साम्यवादी सरकारले जनतालाई भ्रममा पार्ने कोशिस गरेको आरोप लगाए । उनले भने– ‘हामीसँग भएको सम्झौता अक्षरशः पालना गर, म तुरुन्तै अनशन तोड्छु । ’

नेपालमा सरकारी मेडिकल कलेज जम्मा ३ वटा र निजी मेडिकल कलेज १७ वटा भएको उल्लेख गर्दै संसारमा कहीं पनि यस्तो स्थिति नभएको बताए । डेढ दर्जनजति नयाँ मेडिकल कलेज सञ्चालन हुने अवस्थामा रहेको भन्दै सरकारले गरेको निणर्यले सबै नयाँ मेडिकल कलेज सञ्चालनको बाटो खुल्ने उनले बताए ।

गाउँमा स्वास्थ्य सेवा नपाएर जनता छटपटाइरहेको तर सहरमा भने चिकित्सको संख्या धेरै भए पनि स्वास्थ्य सेवा निकै महँगो भएको उनले बताए । चुनावमा शिक्षा र स्वास्थ्य निःशुल्क हुन्छ भने पनि सत्तामा आएपछि त्यो प्रतिबद्धता बिर्सेको भन्दै ‘लुटको कालो धनलाई सेतो बनाउनका लागि’ जनताको पेटमा लात हानेको भन्दै उनले आक्रोश पोखे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर