newskoseli.Com

राजाकी दिदी (राजकुमारी) को घोषणा : ‘प्रधानमन्त्रीको उम्मेदवार बन्छु’

थाई राजकुमारी उबोलरतनाले मार्चमा हुने आम चुनावमा प्रधानमन्त्री पदका लागि आफूले उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

थाइल्यान्डको आधुनिक इतिहासमा राजपरिवारका कुनै पनि सदस्यले मुख्य राजनीतिक भूमिकामा दाबी गरेको यो नै पहिलो घटना हो ।

थाइल्यान्डका राजा माहा वाजिरालोङकोर्नकी ठूली दिदी ६७ वर्षीया राजकुमारी उबोलरतनाले थाई रक्षा चार्ट पार्टीका तर्फबाट उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

थाई राजतन्त्रलाई परम्परागत रुपमा राजनीतिक प्रतिस्पर्धाभन्दा माथि ‘पवित्र संस्था’ का रुपमा हेर्ने गरिन्छ । थाइल्यान्डको कडा कानुनी व्यवस्थाका कारण राजतन्त्रविरुद्ध आलोचना गर्न पनि पाइँदैन । मुलुकमा राजनीतिक सङ्कट उत्पन्न भएका बखत राजतन्त्रले हस्तक्षेप गर्ने गरेको छ । उबोलरतनाको उम्मेदवारीले मार्च २४ तारिखमा हुने चुनावमा नयाँ तरङ्ग नै ल्याइदिएको छ । खासगरी, पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्राको राजनीतिक प्रभावका कारण राजकुमारीले उम्मेदवारी दिएको बताइन्छ ।

थाइल्यान्डमा थाक्सिन समर्थक ‘राता टिसर्टधारी’ र राजावादी ‘पहेंला टिसर्टधारी’ बीच परम्परागत दुस्मनी रहँदै आएकोमा राजकुमारीको उम्मेदवारीले दुबैलाई एकै ठाउँमा ल्याउने सम्भावना बढेको छ । यी दुई समूहबीचको डरलाग्दो हिंसाले विगत दशकमा थाइल्यान्डको राजनीतिलाई अस्थिर बनाएको थियो । ‘राजकुमारी उबोलरतनाको छनौट सबैभन्दा उपयुक्त रहेकामा बोर्ड पूर्ण रुपमा सहमत छ,’ थाई रक्षा चार्ट पार्टीका नेता प्रिचापोल पोङपानिचले संवाददाताहरुलाई बताए । उनका अनुसार राजकुमारी निकै शिक्षित र सिपालु छिन् ।

यो पार्टी अर्बपति थाई नेता थाक्सिन शिनावात्राको प्रभावमा रहेको मानिन्छ । उनी थाइल्यान्डको राजनीतिमा निकै प्रभावशाली व्यक्तित्व हुन् । उनलाई थाइल्यान्डको सेना र बैंककस्थित माथिल्लो धनाढ्य वर्गले नरुचाए पनि ग्रामीण क्षेत्रका गरिव परिवारले अत्यन्त सम्मान गर्दछन् ।

राजकुमारीको उम्मेदवारी घोषणासँगै थाक्सिनलाई थाइल्यान्डको राजनीतिक नाटकको केन्द्रमा उभ्याइएको छ । सन् २००६ मा सैनिकले गरेको सत्ताविद्रोहबाट उनलाई पदच्युत गरिएको थियो । तर, सन् २०१४ मा उनकी बहिनी यिङ्लुकको सत्तामा पुनरागमन भएको थियो । अन्ततः उनलाई पनि भ्रष्टाचारको आरोपमा जेल सजाय दिएर सत्ताच्युत गरिएको थियो ।

राजकुमारीको कदमले सैनिक नेता प्रयुत चान–ओ–चाको राजनीतिक इच्छामा निकै ठूलो प्रहार गरेको छ । उनी आफूलाई यस पटकको चुनावमार्फत नागरिक नेताका रुपमा स्थापित गर्न इच्छुक थिए । उनी पाँच वर्षदेखि थाइल्यान्डको सत्तामा छन् । यही राजनीतिक उतारचढावबीच प्रयुतले पनि प्रधानमन्त्री पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनी फालाङ प्रचारत सैनिक पार्टीबाट उम्मेदवार बन्ने भएका हुन् ।

‘म शक्तिमा झुन्डिइरहन चाहन्नँ, यो निर्णय लिन मलाई निकै कठिन भइरहेको थियो तर अहिले मुलुकमा गम्भीर अवस्था भएकाले मेरो उम्मेदवारी अपरिहार्य बन्न गयो’– उनले भनेका छन् । प्रयुत मातहतको सैनिकले आफूलाई राजतन्त्रको संरक्षकका रुपमा उभ्याएको थियो । तर, राजनीतिमा भएको उबोलरतनाको आकस्मिक आगमनले प्रयुतमाथि नै सङ्कट निम्त्याएको छ ।

आम सर्वसाधारणसँग घुलमिल हुन अभिरुचि राख्ने उबोलरतनाले सन् १९७२ मा अमेरिकी नागरिक पिटर जेन्सेनसँग विवाह गरेपछि राजपदवी त्यागेकी थिइन् । तर, जेन्सेनसँग उनको सम्बन्ध–विच्छेद भइसकेको छ । त्यसपछि उनी थाइल्यान्ड फर्केकी थिइन् । थाइल्यान्ड फर्किएपछि पनि उनलाई राजपरिवारकै सम्मानित सदस्यका रुपमा लिने गरिएको थियो ।

थाइल्यान्डमा सन् १९३२ मा संवैधानिक राजतन्त्रको व्यवस्था भएयता प्रधानमन्त्रीका रुपमा राजसंस्थाका कुनै पनि व्यक्ति नियुक्त भएका छैनन् । उनलाई रुसमा सम्पन्न सन् २०१८ को विश्वकपको समयमा थाक्सिन र यिङ्लकसँगै देखिएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर