newskoseli.Com

अब इन्टरनेटबाटै सवारी जाँच ! ‘ट्राफिक कम्युनिकेसन एप्स’ सञ्चालनमा

अब तपाईंको गाडी इन्टरनेटबाटै जाँच हुनेछ । लामो दुरीका गाडीमा दुई चालक भए–नभएको, चालकले कति दुरीसम्म गाडी चलाएको, चालक परिवर्तन भए–नभएकोलगायत जाँच इन्टरनेटबाटै हुनेछ ।

तपार्इं गाडी चलाउँदै हुनुहुन्छ अथवा गाडीको मालिक हो भने अब तपाईं ट्राफिक पुलिसको आँखाबाट टाढा रहन सक्नुहुने छैन । ट्राफिक पुलिसले सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ‘ट्राफिक कम्युनिकेसन एप्स’ सञ्चालनमा ल्याएको छ ।

ट्राफिकले आफ्नो क्षमतामा विकास गरी डिजिटाइजेसनको माध्यमद्वारा सवारी साधन र चालकलाई निगरानी गर्नेछ । तपाईंले गाडी कति समय चलाउनुभयो, चालक परिवर्तन गर्नुभयो कि भएन भन्नेलगायतका जानकारीसँगै चालकको तस्बिरसहित सबै कुराको अभिलेख यो एप्सले राख्नेछ ।

नियम पालना गर्नुभएको छैन भने एप्सले नै जानकारी दिनेछ र सोही आधारमा सवारी चालकलाई कारबाही गरिनेछ । यदि तपाईं कारबाहीबाट बच्न चाहनुहुन्छ भने ‘ट्राफिक कम्युनिकेसन एप्स’ को निर्देशन पालना गर्नुपर्ने हुन्छ । ट्राफिक प्रहरीले आइतबारदेखि सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ट्राफिक कम्युनिकेसन एप्स’ सञ्चालनमा ल्याएको हो ।

‘ओराकल’ कम्पनीको ‘जाभा प्रोगामिङ ल्याङग्वेज’ को ‘एन्ड्रोइड भर्सन’ मा विकास गरिएको उक्त एप्स पहिलो चरणमा बाँकेको कोहलपुर, नवलपुरको भूमही, काठमाडौंको नागढुङ्गा र सर्लाहीको कमैयामा सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले जानकारी दिए ।

लामो दुरीका क्षेत्रमा सञ्चालन हुने सवारी साधनमा लागू हुने गरी सञ्चालनमा ल्याइएको उक्त ‘ट्राफिक कम्युनिकेसन एप्स’ को आइतबार जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले कोहलपुरको चप्परगौडीबाट औपचारिक उदघाटन गर्दै सञ्चालनमा ल्याएको हो । एप्स सञ्चालनसँगै यात्रुबाहक सवारी साधनमा दुई चालक राखिने हुँदा दुर्घटनामा कमी आउने उनको विश्वास छ ।

‘लामो दुरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधनले चालक परिवर्तन भए–नभएको जानकारी दिने र दुर्घटना न्यूनीकरणमा समेत उपयोगी हुने विश्वास हामीले गरेका छौं,’ प्रहरी निरीक्षक रोकायले भने– ‘लामो दुरीका सवारी चालक, बस नम्बर तथा प्रस्थान समय इन्टरनेटको सर्भरमा राखिनेछ, यात्राका क्रममा विभिन्न पोस्टमा जाँच गरिनेछ, सो क्रममा उही चालक भेटिएमा कारबाही हुनेछ ।’

‘ट्राफिक कम्युनिकेसन एप्स’ को उदघाटन गर्दै कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले एप्समार्फत सवारी साधन र चालकको निगरानी हुने भएकाले सवारी दुर्घटना न्यूनीकरण हुने विश्वास व्यक्त गरे । यातायात व्यवस्था ऐन, २०४९ ले लामो दुरीका सवारी साधनमा दुई सवारी चालक अनिवार्य राख्नुपर्ने व्यवस्था गरे पनि यातायात व्यवसायीले कार्यान्वयन गर्न भने आनाकानी गरिरहेका थिए ।

एप्स सञ्चालनमा आएसँगै लामो दुरीका सवारी साधनमा दुई चालक अनिवार्य राख्नुपर्ने कानुनी व्यवस्थाको कार्यान्वयन सुनिश्चित हुने विश्वास गरिएको छ । अब सवारी चालकले नियम मिच्न नपाउने भन्दै यसबाट दुर्घटना न्यूनीकरण सहज हुने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख अरुणकुमार पौडेलले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर