newskoseli.Com

ओली–प्रचण्डले जनयुद्ध दिवस मनाउने, देशभर कार्यक्रम गर्न महसचिव पौडेलको निर्देशन

चर्चित ‘भेनेजुयला प्रकरण’ पछि अध्यक्षद्वयबीच नै तीव्र विवाद सिर्जना भएको प्रचारवाजीसँगै तल्ला तहसम्मा आरोप–प्रत्यारोप सुरु भैसकेको सत्ताधारी नेकपाभित्र ‘आश्चर्यलाग्दो मतैक्यता’ देखा परेको छ ।

१ फागुन, २०७५ २४औं जनयुद्ध दिवसको दिन हो । तत्कालीन नेकपा (माओवादी) को आह्वान र नेतृत्वमा १ फागुन, २०५२ मा नेपालमा दीर्घकालीन जनयुद्ध सुरु भएको थियो । मुख्यतः सोही जनयुद्धकै उपलब्धिका रुपमा नेपालमा गणतन्त्र आएको छ र संघीयता, धर्मनिरपेक्षता, समावेशिता, समानुपातिकताजस्ता आंशिक सुधार भएका छन् । जनयुद्धको मुख्य लक्ष्य पूरा भई जनवादी गणतन्त्र नेपालको स्थापना हुन भने अझै पनि बाँकी नै छ ।

ठीक यसै परिवेशका बीच तत्कालीन माओवादीको एउटा पक्ष र तत्कालीन संसदवादी खेमाको एउटा पार्टी नेकपा (एमाले) एकीकृत भएर बनेको नेकपाकै नेतृत्वमा अहिले स्पष्ट बहुमतको सरकार छ । ‘मधेसवादी’ घटकहरुको समर्थनमा यो सरकारले दुईतिहाइ समर्थन हासिल गरेको छ । नेकपामा एकीकृत भएको पूर्वएमालेले जनयुद्धलाई निकै कठोर शब्दमा विरोध र आलोचना गरेको थियो । त्यो पृष्ठभूमिका अधिकांश नेता–कार्यकर्ताहरु अहिले पनि जनयुद्धको ऐतिहासिकता, महत्त्व, गरिमा र उपलब्धिलाई स्वीकार गर्न तयार देखिएका छैनन् ।

तर, यस पृष्ठभूमिका बीच बुधबार (१ फागुन, २०७५ मा) प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सो पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा २४औं जनयुद्ध दिवस मनाउने बताइएकाे छ । त्यसैगरी, देशभर आ–आफ्नो सापेक्षतामा विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाउन नेकपाका महासचिव विष्णु पौडेलले निर्देशन दिएका छन् । पार्टीभित्र विवादको चर्चा भैरहेका बेला पार्टीभित्र एकताको सन्देश दिनेगरी महासचिव पौडेलको निर्देशन आएको सो पार्टीका नेता–कार्यकर्ताले जनाएका छन् ।

आइतबार रुपन्देहीमा आयोजित एक कार्यक्रममा बोल्दै पौडेलले भेनेजुयलाबारे सचिवालयले जारी गरेको विज्ञप्ति नै आधिकारिक रहेकाले विवाद नगर्न अपिल गरे । यस विषयमा ओली–प्रचण्ड एकमत रहेकाले अनावश्यक शंका नगर्न पनि उनले आग्रह गरे ।

सोही कार्यक्रममा पौडेलले फागुन १ गते केन्द्र, प्रदेश र स्थानीय तहमा जनयुद्ध दिवस मनाइने उल्लेख गर्दै त्यसको तयारीमा लाग्न नेता–कार्यकर्ताहरुलाई निर्देशन दिए । महासचिवकै निर्देशनअनुसार संयुक्त अखिल (अखिल र अखिल क्रान्तिकारी) ले जनयुद्ध दिवसको तयारी थालेका छन् ।

फागुन १ गते नै सरकारले ‘प्रधानमन्त्री रोजगार’ कार्यक्रमको घोषणा गर्ने कार्यक्रम तय गरेको छ । यो कार्यक्रम सोही दिन राखिनुलाई जनयुद्धले राजनीतिक क्रान्ति गरेको भन्दै प्रधानमन्त्री रोजगार कार्यक्रमले आर्थिक क्रान्ति गर्ने सन्देश दिन खोजेको अर्थमा सो पार्टीका कार्यकर्ताले विश्लेषण गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर