newskoseli.Com

‘जनयुद्ध सङ्ग्रहालय’ स्थापना हुँदै : ५५०० तस्बिर र २५० श्रब्यदृश्य सङ्कलन भैसके

दसवर्षे सशस्त्र जनयुद्धलाई समेटेर ‘जनयुद्ध सङ्ग्रहालय’ स्थापना गरिने भएको छ ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को आह्वान र नेतृत्वमा भएको सशस्त्र जनयुद्वमा भएका गतिविधिलार्इ समेटेर सांस्कृतिक सङ्ग्रहालय नेपालले जनयुद्ध सङ्ग्रहालय स्थापना गर्ने भएको हो ।

माओवादी जनयुद्वसम्बन्धी अध्ययन र अनुसन्धान गर्न तथा त्यसको शुभारम्भदेखि नेपाल सरकारसँग शान्ति सम्झौतासम्मका घटनाक्रमका ऐतिहासिक तस्बिर, दस्तावेज तथा जानकारी समेटेर सङ्ग्रहालय स्थापना गर्न थालिएको सङ्ग्रहालयका संयोजक क्षितिज अरुण श्रेष्ठले जानकारी दिए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सङ्ग्रहालयको संरक्षक रहेका छन् । सो सशस्त्र जनयुद्व मुलुकको ऐतिहासिक घटनाक्रम भएकाले त्यसबारे पछिल्लो पुस्तालाई जानकारी गराउनका लागि समेत सङ्ग्रहालय आवश्यक भएको संयोजक श्रेष्ठले बताए ।

विश्वमा पनि भएका यस्ता द्वन्द्वको सङ्ग्रहालय बनेका इतिहास रहेकाले यहाँ पनि बनाउन थालिएको जानकारी उनले गराए । ‘यहाँको जनयुद्धको अवतरण विश्वलाई नै चकित पार्ने खालको छ,’ उनले भने– ‘विदेशीलाई पनि यसबारे अध्ययन–अनुसन्धानमा सघाउ पुर्याउन सङ्ग्रहालयको स्थापना गर्न थालिएको हो ।’

सङ्ग्रहालय रोल्पा वा चितवनमा बन्नेछ । ‘सङ्ग्रहालय रोल्पा वा चितवनमा बनाउने कुरा भइरहेको छ,’ उनले भने– ‘जहाँको स्थानीय तहले जग्गा उपलब्ध गराउँछन्, त्यहीं बनाउने हो ।’ सङ्ग्रहालयका लागि ५ हजार ५ सय किसिमका तस्बिर र २ सय ५० थान श्रब्य र श्रब्यदृश्य सङ्कलन भैसकेका छन् । सङ्ग्रहालयका लागि सङ्कलन गरिएका तस्बिर राज्य र तत्कालीन नेकपा (माओवादी) का हत्या–हिंसासम्बन्धी गतिविधि नभएका हुनेछन् ।

सङ्ग्रहालयमा १६ थान सैनिक पोशाक समेत सङ्कलन गरिएको छ । करिव ७ करोड रूपैयाँमा निर्माण गर्न थालिएको सङ्ग्रहालय आगामी वर्ष सञ्चालन गर्ने तयारी गरिएको जानकारी सङ्ग्रहालयकी सचिव आस्था केसीले दिइन् । सङ्ग्रहालय स्थापना गर्ने अभियानमा प्रत्येक वर्ष फागुन १ गते तस्बिर प्रदर्शनी हुँदै आइरहेको छ । सङ्ग्रहालय स्थापनार्थ माओवादी सशस्त्र जनयुद्वको विशेष सम्झनामा ‘माओवादी जनयुद्धको दुई दशक’ (ऐतिहासिक फोटो प्रदर्शनी) समेत आयोजना भैसकेको छ ।

नेपालको राजनीतिका प्रमुख घटनाक्रमका इतिहासको खोजबिन गर्नु र यसका विशिष्ट व्यक्तिका तस्बिर र दस्तावेज पाउनु अति नै गाह्रो भए पनि त्यसको इतिहासबारे भावी पुस्तालाई जानकारी दिन सङ्ग्रहालय स्थापना गर्न लागिएको केसीले बताइन् । सङ्ग्रहालय स्थापनामा सहयोग गर्नका लागि जनयुद्वताकाका तस्बिर र जानकारी समेत उपलब्ध गराउन आग्रह गरिएको छ ।

यसैबीच, जनसांस्कृतिक महासङ्घले बुधबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा समेत सोसँग सम्बन्धित फोटो प्रदर्शनी गरियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर