newskoseli.Com

भारतलाई सहुलियत बन्द गर्ने अमेरिकाको घोषणा : भारत भन्छ– केही फरक पर्दैन !

संयुक्त राज्य अमेरिकाले भारतलाई दिइरहेको व्यापार सहुलियत बन्द गर्ने घोषणा गरेको छ । तर, भारतले अमेरिकी सहुलियत कटौतीबाट दुई देशबीचको व्यापारमा असर नपर्ने स्पष्ट पारेको छ ।

संयुक्त राज्य अमेरिकातर्फ भारतबाट वार्षिक करिव ८० अर्ब डलर बराबरका सामान निर्यात हुने गरेको छ । भारतका वाणिज्य सचिव अनुप वद्धवनका अनुसार अमेरिकी सहुलियत प्रणाली (जीएसपी) अन्तर्गत भारतबाट करिव ६ अर्ब डलर बराबरका सामान मात्र निकासी हुने गरेको छ ।

‘जीएसपी सुविधा कटौती गरे पनि त्यसबाट अमेरिकातर्फको निकासीमा खासै प्रभाव पर्दैन’– वद्धवनले भने । अमेरिकी व्यापार प्रमुखको कार्यालयले सोमबार वक्तव्य जारी गर्दै भारत र टर्कीलाई दिइरहेको जीएसपीको दर्जा तत्कालै खारेज गर्न चाहेको जनाएको छ । परिवर्तित सन्दर्भमा दुवै मुलुकलाई जीएसपीका प्रावधान बमोजिम समेट्न नसकिने उक्त कार्यालयले बताएको छ ।

भारतले धेरै किसिमका व्यापारिक अवरोध सिर्जना गरिरहेकाले त्यसबाट संयुक्त राज्य अमेरिकालाई भारतीय बजारको सहज पहुँचमा कठिनाइ भइरहेको पनि वक्तव्यमा उल्लेख छ । जीएसपी हटाएको सम्बन्धमा अमेरिकी कङ्ग्रेसका सभामुख र सिनेटका अध्यक्षलाई पत्र लेखी राष्ट्रपति ट्रम्पले जानकारी गराइसकेका कारण यो परिवर्तन कम्तिमा ६० दिनपछि मात्र कार्यान्वयनमा आउने छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर