newskoseli.Com

सुधीर बस्नेतको हालत : तिर्नुपर्ने १६ अर्ब, बैंकमा मौज्दात १९ लाख मात्रै !

ओरेन्टल को–अपरेटिभ लिमिटेडका अध्यक्ष सुधीर बस्नेतले १६ अर्ब १ करोड ४५ लाख बराबरको दायित्व भुक्तानी गर्नुपर्ने समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गरेको अध्ययनमा देखिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गठन गरेको समितिले लामो समय लगाएर गरेको अध्ययन अनुसार भुक्तानी गर्नुपर्ने दायित्वको तुलनामा उक्त सहकारीसँग बैंकमा असाध्यै न्यून मात्रै रकम मौज्दात रहेको पाइएको छ ।

समितिका अध्यक्ष युवराज सुवेदीका अनुसार बस्नेत तथा उनका आफन्तको नाममा बैंक तथा वित्तीय संस्थामा १९ लाख ११ हजार रुपैयाँ मात्रै मौज्दात रहेको छ । सहकारी ऐन, २०७४ को दफा ११२ बमोजिम समस्याग्रस्त घोषित सहकारी संस्थाका सदस्य, वचतकर्ता तथा अन्य व्यवसायीले पाउनुपर्ने रकमको दाबी पेस गर्न दिइएको समयसीमाभित्र प्राप्त सूचनाका आधारमा भुक्तानी गर्नुपर्ने रकम र मौज्दात रहेको चल–अचल सम्पत्ति के–कति रहेको छ भन्ने कुरा पत्ता लागेको हो ।

सहकारी संस्थाका बचतकर्ताको निक्षेप मात्रै साँवा ४ अर्ब २१ करोड र ब्याज ४ अर्ब १७ करोड गरी कूल ८ अर्ब ३८ करोड रहेको छ । यस्तै, अपार्टमेन्ट बुकिङ रकम ३ अर्ब १० करोड ४८ लाख साँवा रहेको छ भने १ अर्ब ८२ करोड ब्याज समेत गरी कूल ४ अर्ब ९२ करोड ४८ लाख छ ।

यस्तै, बैंक तथा वित्तीय संस्थाको कर्जातर्फ साँवा १ अर्ब ७ करोड ८४ लाख र ब्याज ९० करोड ३१ लाख रुपैयाँ गरी कूल १ अर्ब ९८ करोड १५ लाख रुपैयाँ रहेको छ । नेपाल सरकारको कर दायित्व ५३ करोड १० लाख र अन्य व्यवसायीलाई तिर्नुपर्ने १९ करोड ७० लाख रहेको छ । कूल साँवा ९ अर्ब १२ करोड १४ लाख र ब्याज ६ अर्ब ८९ करोड ३१ लाख गरी १६ अर्ब १ करोड ४५ लाख बराबर बस्नेतको दायित्व रहेको देखिएको छ ।

सहकारी संस्थाका तत्कालीन अध्यक्ष बस्नेत एवम् सञ्चालकको नाममा एक सञ्चालक रहेको कोहिनुर हिल हाउजिङको नाममा दर्ता स्रेस्ता कायम रहेको ललितपुरको इमाडोलमा नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कर्मचारी सञ्चय कोषबाट धितो बन्धक राखिएको ४० रोपनी २ आना ३ पैसा जग्गा रहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर