newskoseli.Com

राष्ट्रपतिको राजीनामा माग्दै जनता रातभर सडकमै

राष्ट्रपति अब्देलाजिज बौटेफ्लीकाको राजीनामाको माग गर्दै अल्जेरियाका जनताले प्रदर्शन गरेका छन् ।

लामो समयपछि हुन लागेको निर्वाचन फेरि स्थगित गरिएको भन्दै उनीहरुले राष्ट्रपतिको राजीनामाको माग गर्दै सोमबार राति प्रदर्शन गरेका हुन् ।

अफ्रिकी मुलुक अल्जेरियाका राष्ट्रपति अब्देलाजिजले अप्रिल १८ का लागि तय भएको निर्वाचन स्थगित गरेपछि आन्दोलन चर्किएको हो । निर्वाचन स्थगित गरिए पनि नयाँ निर्वाचन हुने मिति घोषणा भने गरिएको छैन । राष्ट्रपति अब्देलाजिजले मन्त्रिपरिषदबाट चाँडै निर्वाचनको नयाँ मिति तय गरिने बताएको अधिकारीहरुले जनाएका छन् ।

उनको उम्मेदवारीलाई लिएर केही हप्तादेखि विरोध हुँदै आएकै बेला उनले फेरि निर्वाचन स्थगित गरेका हुन् । प्रदर्शनकारीहरुले आगामी निर्वाचनमा भाग नलिन पनि उनलाई आग्रह गर्दै आएका छन् । विगत २० वर्षदेखि अल्जेरियाको नेतृत्व गर्दै आएका ८२ वर्षीय वृद्ध राष्ट्रपति अब्देलाजिज अहिले बिरामी पनि छन् । वृद्ध र बिरामी हुनुका साथै लामो समयदेखि शासन गरेकाले उनलाई पाँचौं कार्यकालमा पनि जिम्मेवारीमा नआउन जनताले माग गरेका छन् ।

अल्जेरियाको राजधानी अल्जियर्सलगायत देशका कयौं सहरमा राष्ट्रपति अब्देलाजिजको व्यापक विरोध भइरहेको छ । उनका विरुद्ध लाखौं अल्जेरियाली नागरिकले सडक र्‍याली निकालेका छन् । पाँचौं पटक सरकार चलाउने अब्देलाजिजको घोषणासँगै देशमा विरोध प्रदर्शन सुरु भएको हो । फेरि एक पटक आफूलाई चयन गरेमा चाँडै नै पद त्याग गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

तर, अल्जेरियाली युवामा भने आर्थिक अवसरको कमीका कारण निराशा उत्कर्षमा पुगेको छ । उनीहरुले सक्रिय र स्वस्थ राष्ट्रपति चाहेको भन्दै देशलाई यही अवस्थामा रहिरहन नदिने बताउँदै आएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर