newskoseli.Com

सिभिल ग्रुपका सहकारी सञ्चालकको यो हद ! आफैं अध्यक्ष, आफैं ऋणी…

सिभिल ग्रुपले प्रबर्द्धधन गरेको सिभिल सेभिङ एन्ड को–अपरेटिभले ९१ प्रतिशत कर्जा आफ्नै स्वामित्वका अन्य तीन वटा व्यवसायमा लगानी गरेको पाइएको छ ।

सहकारीको आर्थिक वर्ष २०७४–७५ को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार संस्थाले ८ अर्ब १३ करोड ६७ लाख रुपैयाँ कर्जामध्ये सिभिल होम्स प्रालि, सिभिल अपार्टमेन्ट प्रालि र सिभिल इस्टेट प्रालिमा गरी ७ अर्ब ४३ करोड रुपैयाँ लगानी गरेको छ। यी तीन वटै कम्पनी सिभिल ग्रुपबाट प्रवर्द्धित हुन् ।

सहकारीमा २ हजार ६ सय ९० सदस्य बचतकर्ता छन् । सिभिल सेभिङ एन्ड को–अपरेटिभ सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङले प्रवर्द्धधन गरेका हुन् । पेसाले इन्जिनियर तामाङ पछिल्लो समय रियल इस्टेट व्यवसायमा छन् । उनी बैंकका प्रवर्द्धधक पनि हुन् भने अघिल्लो संसदमा सांसद समेत थिए ।

कुनै बेला कानुन बनाउने निकायमा रहेका तामाङले सिभिल सेभिङ एन्ड को–अपरेटिभमा भने नियामक निकायकै धज्जी उडाएका छन् । सहकारीले कूल पुँजीकोषको १० प्रतिशतभन्दा बढी कर्जा एकै व्यक्तिलाई दिन मिल्दैन । अझ संस्थाको लेखापरीक्षण प्रतिवेदनले पनि यसलाई जोखिमका रूपमा औंल्याएको छ । कानुनले बर्जित गर्दागर्दै सहकारीले परिचालन गरेको कर्जा तामाङले प्रवर्द्धधन गरेका तीन वटा व्यवसायमा मात्र किन केन्द्रित भयो भन्ने प्रश्नमा संस्थाका अध्यक्ष केशवलाल श्रेष्ठले सबै कर्जा एउटै व्यक्तिका नाममा प्रवाह नभएको दाबी गरे ।

श्रेष्ठले सिभिल होम्स प्रालिको कर्जा तामाङ अध्यक्ष भएकै समयमा स्वीकृत भएको जानकारी दिए । प्रालिले नियमित रूपमा ब्याज भुक्तानी गरिरहेकाले सहकारी सञ्चालनमा समस्या नरहेको उनले बताए । तामाङ यसअघि दुई कार्यकाल सहकारीका अध्यक्ष भएका थिए ।

सहकारीको नियमन फितलो हुँदा विगतमा पनि सेयर सदस्य तथा निक्षेपकर्ताको ठूलो पुँजी अपचलन भएको थियो । सात वर्षअघि १ सय ३० सहकारी संस्था समस्यामा परेपछि ती संस्थाका बचतकर्ताको ११ अर्ब रुपैयाँभन्दा बढी बचत डुबेको छ ।

विगतमा सहकारी विभागबाट नियमन हुँदै आएका सहकारी संस्था नयाँ व्यवस्थाअनुसार स्थानीय सरकारले नियमन गर्ने व्यवस्था छ । तर, स्थानीय सरकारमा संस्थागत क्षमताको अभावका कारण संक्रमणकालीन अवधिमा सहकारी नियम हुन नसक्दा सुशासन फितलो हुँदै गएको नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षत्री बताउँछन् ।

‘नियमन कमजोर भएकाले सहकारीका चल्तापुर्जा प्रवर्द्धकले फाइदा उठाउन सहकारीमा लगानी गरेका हुन्,’ उनले भनेको खबर बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर