newskoseli.Com

फेसबुक ‘लाइभ’ गरेर मस्जिदमा हमला, ४९ को मृत्यु

फेसबुकमा ‘लाइभ’ गरेर भएको बन्दुकधारीको आक्रमणमा परी न्युजिल्यान्डमा ४९ जनाको ज्यान गएको छ भने २० जना गम्भीर घाइते भएका छन् ।

क्राइस्ट चर्चस्थित दुई मस्जिदमा बन्दुकधारीले आक्रमण गर्दा उक्त हताहती भएको प्रहरीले जनाएको छ । प्रधानमन्त्री जेसिन्डा आर्डर्नले शुक्रबार ‘कालो दिन’ भएको बताउँदै यस घटनालाई ‘आतङ्ककारी हमला’ मात्रै भनेर नपुग्ने बताएकी छन् । यो घटना न्युजिल्यान्डको इतिहासमै सबैभन्दा घातक हमला मानिएको छ ।

तीस वर्ष पुग्न लागेका एक पुरुषलाई प्रहरीले गिरफ्तार गरी हत्याको आरोपमा शनिबार अदालतमा पेस गर्ने तयारी गरेको छ । अन्य दुई जना पुरुष र एक महिलालाई पनि हिरासतमा लिइएको प्रहरी प्रमुख माइक बुसले बताएका छन् । तीमध्ये एक जना घटनामा असम्बन्धित भएको र अन्य दुईको घटनासँगको सम्बन्धबारे अनुसन्धान भैरहेको बुसले बताए ।

हमलाको प्रत्यक्ष प्रसारण

अल नुर मस्जिदमा बन्दुकधारी आक्रमणकारीले टाउकामा क्यामरा बाँधेर बालबालिका, महिला र पुरुषलाई आन्धधुन्ध गोली हानेको फेसबुकमा प्रत्यक्ष प्रसारण गरेका थिए । त्यहाँको प्रहरीले ह्रदयविदारक उक्त भीडीओ सेयर नगर्न अनुरोध गरेको छ । फेसबुकले आक्रमणकारीको फेसबुक एकाउन्ट बन्द गरिसकेको तर त्यो भीडीयो सेयर भएका ठाँउबाट हटाउने प्रयास रहेको बताएको छ ।

प्रत्यक्षदर्शीहरूले स्थानीय समाचार माध्यमलाई आफू ज्यान जोगाउन भागेको र अल नुर मस्जिदमा मानिसहरू रगताम्मे भएर लडिरहेको देखेको बताएका छन् । मानिसहरूलाई सरकारले अर्को सूचना नआएसम्म मस्जिदमा नजान भनेको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले गिरफ्तार एक जना अस्ट्रेलियन नागरिक भएको र उनी ‘अतिवादी दक्षिणपन्थी घातक आतङ्ककारी’ भएको बताएका छन् । केही गाडीहरूमा विस्फोटक पदार्थ भेटिएको समेत प्रहरीले बताएको बीबीसीले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर