newskoseli.Com

ऊर्जामन्त्री पुनको प्रतिबद्धता : ‘सिक्टा आयोजना पूरा गरेरै छाड्छु’

ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले आफ्नो कार्यकालभित्र सिक्टा सिँचाइ आयोजना पूरा गरेर छाड्ने बताएका छन् । घुलनशील माटोका कारण यस आयोजना अघि बढाउन समस्या भएको उनले बताए ।

नेपाल इन्जिनियरिङ एशोसिएसनले शुक्रबार आयोजना गरेको पूर्वाधार विकास बहसमार्फत् सिक्टा सिँचाइ आयोजनाका समस्या र समाधान विषयक छलफल कार्यक्रममा घुलनशील माटोका कारण यस आयोजनामा असर परेको मन्त्री पुनले बताए । ‘कन्काई सिँचाइ आयोजनादेखि महाकाली सिँचाइ आयोजनामा नयाँ समस्या दखिएकाले इन्जिनियरका लागि नयाँ अनुभव भएको छ,’ मन्त्री पुनले भने– ‘अर्बौं लगानी भएको यो आयोजनालाई पूर्ण गर्ने छु ।’

आयोजनालाई अध्ययनको विषय बनाएर अघि बढ्नुपर्ने बताउँदै निर्माणमा भएका कमी–कमजोरी पहिल्याउनु आवश्यक रहेको मन्त्रीले पुनले बताए । ‘यस आयोजनामा परेका ४२ वटा ठेक्कामध्ये १५ वटा पूर्ण भइसकेका छन्,’ उनले थपे– ‘ठेक्का लिन हतार गर्ने तर त्यस कामलाई पूर्णता नदिने समस्या र परिपाटी नेपालमा धेरै देखिएको छ ।’

भेरी डाइभर्सन आयोजना वैशाखसम्म पूरा गरी ८ देखि १० क्युब म्याक्स पानी सुख्खा मौसममा भित्र्याउने दावी समेत मन्त्री पुनले गरे । सिक्टा सिँचाइ आयोजनाका निर्देशक इन्जिनियर कृष्ण नेपालले यस आयोजना चाँडै पूरा भएमा वर्षेनि ३ लाख जनताले रोजगारी पाउने जानकारी दिए । ‘ठेक्का व्यवस्थापनमा समस्या, निकुञ्ज क्षेत्र नजिक बाढी व्यवस्थापन हुन नसक्नु र घुलनशील माटोको समस्या समाधान गर्नुपर्ने छ’– नेपालले भने ।

सिँचाइ विभागका पूर्वनिर्देशक शिवकुमार शर्माले ४५ किमिको आयोजनामध्ये ६ किमिमा घुलनशील माटोले समस्या पारेको बताए । ‘आ.व. २०३८–०३९ मा सुरु भएको यो आयोजना हालसम्म पूर्ण हुन सकेको छैन,’ शर्माले भने– ‘इन्जिनियरमार्फत् ऐन–कानुनको व्यवस्था गरी समस्या समाधान गर्नुपर्ने देखिन्छ ।’

निर्माण व्यवसायी महासङ्घका सल्लाहकार जयराम लामिछानेले पूर्वाधार विकास राष्ट्र निर्माणको बलियो आधार भएकाले छिट्टै समाधान गर्न लाग्नुपर्ने बताए । ‘यस आयोजनामा १५ अर्बभन्दा बढी लगानी भइरहेको छ,’ लामिछानेले भने– ‘यस कामलाई निरन्तरता दिन हाल कारबाहीमा परेका व्यवसायीको अवस्था बुझेर प्रचलित कानुनमा संशोधन गर्नुपर्ने देखिन्छ ।’

इन्जिनियरिङ एशोसिएसनका परामर्शदाता ठाकुरप्रसाद शर्माले कामदार, ठेकेदार र परामर्शदाताको मिलेमतोका कारण परियोजना अघि बढ्न नसकेको कुरा बिल्कुलै गतल रहेको दावी गरे । ‘इन्जिनियरले खतराको मूल्याङ्कन कसरी गर्ने भन्नेमा बढी ध्यान दिनुपर्छ,’ शर्माले भने– ‘यो परियोजना किन र कसरी सुरु भयो, यसमा के–के समस्या छन् भनी अध्ययन गरेमा समस्या भेटिन्छ ।’ रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर