newskoseli.Com

क्याम्पसहरुलाई ‘सुध्रन’ ९० दिनको ‘अल्टिमेटम’ !

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कोइरालाले आफ्ना १० वटा आङ्गिक क्याम्पसका प्रमुखहरुलाई सुधार गर्न ९० दिनको समयसीमा (अल्टिमेटम) दिएका छन् ।

‘नब्बे दिनभित्र राम्रो योजना बनाउनुभयो भने तपाईंहरु पास, नत्र फेल,’ प्रा.डा. कोइरालाले भने– ‘प्रधानमन्त्री केपी ओलीले सरकारका मन्त्रीहरुको कार्ययोजनाको मूल्याङ्कन गरे झैं मैले पनि १० क्याम्पस प्रमुखको कार्ययोजना ९० दिनसम्म मूल्याङ्कन गर्ने छु ।’

अब शैक्षिक व्यवस्थापन, प्रशासनिक चुस्तदुरुस्तता, आर्थिक व्यवस्थापन जस्ता कुरा जसले सुधार गर्न सक्दैन उसलाई ‘काँधमा हाल्न नसकिने’ उनले बताए । २०५४ मा स्थापना भएको दैलेखको नारायण क्याम्पस मध्यपश्चिम विश्वविद्यालयको मातहतमा सञ्चालन हुने गरी सरकारी क्याम्पसको मान्यता पाएको सन्दर्भमा औपचारिक उदघाटन गर्न दैलेख आएका उपकुलपति कोइरालाले भने– ‘क्याम्पसको भौतिक पूर्वाधार राम्रो छ, स्थानीय सरकारले गर्ने काम सबै भएको छ, सञ्चालक समितिले गर्ने काम सबै गरेको छ तर प्राध्यापक र शिक्षकले गर्ने काम कुनै पनि भएका छैनन् ।’

२०५४ मा स्थापना भएको क्याम्पसमा अहिलेसम्म पढेका ५ हजार विद्यार्थीमध्ये जम्मा १ हजार ५ सय जना मात्र उत्तीर्ण हुनु लाजमर्दो कुरा हो । दैलेखको नारायण क्याम्पसमा अहिले पनि मानविकी पढ्ने विद्यार्थी ४५ जना मात्रै छन् भने सबैभन्दा धेरै शिक्षकले यसैमा जागिर खाइरहेका छन् ।

तत्कालीन मध्यपश्चिमका कोहलपुर, बर्दिया, रोल्पा र कर्णाली प्रदेशका दैलेख, सुर्खेत, मुगु, कालिकोट, जाजरकोट, रुकुम गरी ७ वटा स्थानमा रहेका विभिन्न क्याम्पसलाई सरकारको मातहतमा रहने गरी आङ्गिक क्याम्पस घोषणा गरिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर