newskoseli.Com

‘कमरेडी’ भ्रम !

एक साथ–
विद्रोहमा,
सडकमा,
र, सत्तामा
‘कमरेड’ हरूको कब्जा छ !

कमरेडहरू
विद्रोह सुरु गर्छन्, ‘कमरेड’ का विरुद्ध
‘कमरेडहरू’
प्रतिबन्ध लगाउँछन्, कमरेडकै विरुद्ध
‘कमरेडहरू’
वक्तव्य निकाल्छन् कमरेडहरूकै विरुद्ध
‘कमरेड’ लाई भोट हाल्ने
र, कमरेडलाई ‘सेल्टर’ दिनेहरू
हैरान–हैरान छन्
उनीहरू बारम्बार सोध्ने गर्छन्–
को नक्कली र को सक्कली कमरेड हो ?

कमरेडले ‘कमरेड’ लाई गद्दार भने
‘कमरेड’ ले कमरेडलाई लुटेरा भने
कसले सही भन्यो,
कसले गलत भन्यो ?
सिङ्गै लोक भ्रममा छ
हरेक थोक भ्रममा छ !

‘कमरेड’ ले
गोली ठोक्ने आदेश दिए कमरेडलाई
कमरेडले
‘जवाफ दिने’ जवाफ दिए ‘कमरेड’ लाई
जेल हाल्ने पनि ‘कमरेड’
जेल बस्ने पनि कमरेड
गोली हान्ने पनि ‘कमरेड’
गोली थाप्ने पनि कमरेड
सत्ता थाम्ने पनि ‘कमरेड’
सत्ता ढाल्ने पनि कमरेड

एउटै झन्डा,
एउटै नाम
एउटै मुहान
तर,
जीवन–मरणको मैदानमा
आमने–सामने छन् कमरेडहरू !

परिस्थिति जतिसुकै कठोर होस्
हामीले चिन्नै पर्नेछ–
को असली र को नक्कली कमरेड हो ?

१० चैत, २०७५, भक्तपुर अस्पताल

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर