
सिभिल बैंक लिमिटेडले जाजरकोटको शिवालय गाँउपालिकामा आफ्नो शाखा स्थापना गरेको छ ।
कर्णाली प्रदेशका प्रदेशसभा सदस्य करवीर शाहीले शुक्रबार सो शाखाको उदघाटन गरेका छन् । उदघाटन समारोहमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेशसभा सदस्य करवीर शाही, बैंकका प्रमुख माइक्रो बैकिङ प्रमुख युवराज गुरागाईं, जाजरकोट जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल, शिवालय गाँउपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाही, शिवालय गाँउपालिकाकी उपाध्यक्ष कुमारी थापा, शिवालय गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्मा, सो क्षेत्रका राजनीतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, सर्वसाधारणको उपस्थिति थियो ।
उदघाटनपछि समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि शाहीले अहिले पनि नेपालको कूल ४० प्रतिशत जनताले मात्र बैकिङ सेवाको उपयोग गरेको बताए । सो ४० प्रतिशतभित्रका पनि ४२ प्रतिशतले मात्र ऋण सुविधाको उपभोग गर्ने गरेको भन्दै बैंकको उपस्थितिविना संघीय नेपालको समृद्धि हुन नसक्ने उनले बताए । ग्रामीण भेगमा बैंकको शाखा बिस्तार हुँदा वित्तीय साक्षरताको अभिवृद्धि हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमा आर्थिक समृद्धि आउने उनले बताए ।
स्थानीय तहमा बैंकको आवश्कता महसुस गरेर सिभिल बैंकले आफ्नो गाउँपालिकामा शाखा स्थापना गरेकामा शिवालय गाँउपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले खुशी व्यक्त गरे । बैंकका माईक्रो बैकिङ प्रमुख युवराज गुरागाईंले ग्रामीण भेगको आर्थिक विकासका लागि बैंक अपरिहार्य रहेको बताए ।
स्थानीयस्तरमा वित्तीय पहुँच पुर्याउने नेपाल राष्ट्र बैंकको नीतिलाई आत्मसात गर्दै जाजरकोटको यस गाँउपालिकामा समेत शाखा सञ्चालनमा ल्याई सिभिल बैंकले जिल्लावासीलाई सहयोग गर्न पाएकामा उनले खुसी व्यक्त गरे । सिभिल बैंकका तत्कालीन तथा दीर्घकालीन नीति र योजनाहरुबारे समेत उनले प्रष्ट्याए ।
सिभिल बैंकका हालसम्म करिव ३ लाख ग्राहक छन् भने यस बैंकले करिव ४४ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी करिव ४४ अर्ब नै कर्जा लगानी गरेको छ । यस शाखासहित देशभर गरी सिभिल बैंकका कूल ७४ वटा शाखा रहेकोे बैंकले जनाएको छ ।