
चालू आर्थिक वर्षको सुरुका ८ महिनामा मात्रै वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका कामदारकोे शव ढुवानी गर्न सरकारले करिव १ करोड २१ लाख रुपियाँ खर्चेको छ ।
वैदेशिक रोजगार प्रर्द्धन बोर्डका अनुसार ५ सय १९ मृतक कामदारको शव ढुवानी गर्न उक्त रकम खर्च भएको हो । साउनदेखि फागुनको दोस्रो सातासम्मको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मृतकको घरसम्म शव लैजाँदा उक्त रकम खर्च भएको बोर्डले जनाएको छ । यस अवधिमा वैदेशिक रोजगारीमा गएका मृतक कामदारमध्ये ५ सय १० पुरुष र ९ महिला रहेका छन् ।
यो अवधिमा ज्यान जाने कामदारको संख्या भने ५ सय ५३ रहेको छ । विदेशमा कागजी प्रक्रिया पुगेका मृतक कामदारको शव १ हप्ताभित्र आइपुग्ने तर कागजात नपुगेका मृतक कामदारको शव आइपुग्न बढीमा एक महिना लाग्ने गरेको वैदेशिक रोजगार प्रर्द्धन बोर्डका सूचना अधिकारी दिनबन्धु सुवेदीले बताएको खबर सुम्निमा काफ्लेको बाइलाइनमा सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।